नयाँ झलनाथ बन्न देउवा अग्रसर

नयाँ झलनाथ बन्न देउवा अग्रसर


विघटित प्रजातान्त्रिक काङ्ग्रेसका सभापति एवम् नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवा झलनाथ खनालझैं प्रचण्डको विशेष र्समर्थन र सहयोगमा प्रधानमन्त्री बन्न अग्रसर हुनुभएको छ । गिरिजाप्रसाद कोइरालाको देहावसानपश्चात् माओवादी अध्यक्ष प्रचण्डले सभापति सुशील कोइराला र उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेललाई पनि आफ्नो पक्षमा उपयोग गर्न सकिने या नसकिने भन्दै नाडी छाम्ने प्रयास गर्नुभएको, तर कोइराला र पौडेललाई भन्दा देउवालाई उपयोग गर्न सकिने देखिएपछि विगत करिब डेढ वर्षदेखि प्रचण्डले देउवासँगको ‘मित्रता’लाई विशेष महत्त्व दिँदै आउनुभएको महसुस गरिएको छ । एक नवउदीयमान ‘व्यापारी’लाई मध्यस्थ बनाएर दुई नेताबीच सुरु भएको सर्म्पर्क र संवादले उहाँहरूलाई डेढ वर्षभित्र निकै नजिक तुल्याएको छ । प्रचण्डसँगको निकटतापश्चात् देउवा काङ्ग्रेस र काङ्ग्रेसीहरूलाई पराया ठान्ने तहमा पुग्नुभएको छ । जसरी केही कालयता झलनाथ खनालका निम्ति आफ्नो पार्टी एमालेभन्दा पनि प्रचण्ड निकटका हितैषी बनेका छन्, ठीक त्यसैगरी काङ्ग्रेसमा पनि देउवाले पार्टीका सहयात्रीहरूभन्दा प्रचण्डलाई निकट ठान्न थाल्नुभएको छ । नेता रामचन्द्र पौडेलका विरुद्ध काङ्ग्रेस संसदीय दलमा बहुमत जुटाउन नसकेका कारण देउवाले प्रचण्डसँगको विशेष गठबन्धनको लाभ उठाउन सक्नुभएको छैन । यद्यपि देउवा थाकिसक्नुभएको भने छैन, एकातिर सभापति सुशील कोइरालासँग पटकपटक भेट गरी रामचन्द्र पौडेललाई दलको नेताबाट राजीनामा गराइदिनुपर्‍यो भनेर दबाब दिँदै हुनुहुन्छ भने अर्कोतिर बहुमत सभासद्हरूको दस्तखत जुटाएर पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने अभियान पनि उहाँले जारी राख्नुभएको छ । नेपाली काङ्ग्रेसको संस्थापन पक्ष दलको नेता परिवर्तन गर्ने पक्षमा देखिँदैन र त्यस्तो आवश्यकता ठानेको पनि छैन । तर, नेकपा एमाले र नेकपा माओवादीले केन्द्रीय समितिको बैठकबाट निर्णय नै गराएर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने औपचारिक पत्र पठायो भने काङ्ग्रेसले त्यसको स्वागत गर्दै देउवालाई अगाडि सार्ने सम्भावना भने प्रबल छ । प्रचण्ड या झलनाथ खनालका वचन या पत्रका आधारमा कुनै निर्णय लिन काङ्ग्रेस मञ्जुर हुनसक्ने सम्भावना देखिएको छैन ।
गत वर्षदेखि प्रचण्ड, झलनाथ खनाल र शेरबहादुर देउवाबीच अघोषित रूपमा विशेष गठबन्धन कायम भएको छ । एमालेभित्र केपी ओली र माधव नेपाललगायतका नेताहरूको न्यानो माया प्राप्त गर्न नसकेर एक्लिनुभएका झलनाथ खनाल र काङ्ग्रेसमा मूलप्रवाहभन्दा बाहिरपट्ट िपर्नुभएका शेरबहादुर देउवा प्रचण्डका निम्ति रावणका भाइ विभीषणजत्तिकै भएका छन् । काङ्ग्रेस र एमालेलाई भित्रैबाट ध्वस्त पार्न देउवा र खनालको साथ महत्त्वपूर्ण हुनसक्ने ठानेर नै प्रचण्डले दुई नेताहरूसँग ‘रणनीतिक मित्रता’ कायम गर्नुभएको ठानिन्छ । खनालले त विभीषण बनेर आफ्नै पार्टी एमालेलाई सङ्कटग्रस्त अवस्थामा पुर्‍याइसक्नुभएको छ, अब देउवा पनि झलनाथको नयाँ अवतार बनेर काङ्ग्रेसलाई पनि भित्रैबाट सिध्याउने खेलमा सरिक हुनुभएको छ । प्रचण्ड, झलनाथ र देउवाबीच गठबन्धन बन्नुका पछाडि केही विषयहरूमा समान धारणा बनेका कारणले पनि हो भन्ने देखिन्छ । तीनैजना नेताहरू राष्ट्रपति डा. रामवरण यादवका प्रति समान धारणा राख्छन्, सकियो र मौका मिल्यो भने राष्ट्रपति बदल्नर्ुपर्छ भन्ने तीनैजनाको सोच छ । अर्कोतर्फ तीनैजना छिमेकी मित्रराष्ट्र भारतका प्रति ज्यादा नकारात्मक छन् । झलनाथ खनाल मित्रराष्ट्र आफ्नो हितैषी हुनसक्छ भन्ने विश्वास राख्नुहुन्न, शेरबहादुर देउवा पार्टीको गत महाधिवेशनमा आफ्नो पराजयको कारण भारतलाई देख्नुहुन्छ र प्रचण्डले त आफूलाई प्रधानमन्त्री बन्न नदिएको भारतले नै हो भन्ने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ । यसरी तीनैजना नेताहरूले आफूहरूबीचको एकतालाई मौका पर्दा भारतविरोधी गठबन्धनका रूपमा परिभाषित गर्ने गर्नुभएको छ । लोकतान्त्रिक मूल्य-मान्यता र अन्य विभिन्न कारणवश सुशील कोइराला, रामचन्द्र पौडेल, केपी शर्मा ओली, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईबीच जुन प्रकारको सौहार्दता र सहजतापूर्ण सम्बन्ध विकास भएको देखिन्छ, ठीक त्यही प्रकारको सम्बन्ध प्रचण्ड, खनाल र देउवाबीच स्थापित हुन पुगेको छ । ज्ञातव्य छ, प्रचण्ड आफ्नो पार्टीमा अर्को शक्तिकेन्द्रको प्रादुर्भाव हुन दिन चाहनुहुन्न । डा. बाबुरामलाई प्रधानमन्त्री बनाइँदा पार्टीमा आफ्नो बचेखुचेको साख पनि गुम्ने त्रास सायद प्रचण्डमा छ । प्रचण्डको यही मनोविज्ञान बुझेर पनि देउवा ‘आकाशको फल बुढानीलकण्ठमै खस्ने’ आशामा हुनुहुन्छ । तर, प्रचण्डले चाहेका कुरा मात्र माओवादी पार्टीले स्वीकार गर्ने अध्याय समाप्त भइसकेको वास्तविकता बुझन देउवाले सक्नुभएको छैन । यसरी नेपाली राजनीतिमा स्पष्ट रूपले दुईवटा खेमा बन्न पुगेको छ । मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादको सिद्धान्त र कार्यक्रमसँग विमति जनाउँदै नयाँ जनवादी क्रान्तिका पक्षमा आफूलाई उभ्याउनुहुने झलनाथ खनाल प्रचण्डतिर लहस्सिनुलाई अस्वाभाविक मानिएको पनि छैन । लामो समय काङ्ग्रेस र प्रजातान्त्रिक आन्दोलनमा आबद्ध देउवासमेत गैरप्रजातान्त्रिक गठबन्धनमा सामेल हुन पुग्नुलाई चाहिँ आर्श्चर्यजनक र अस्वाभाविक ठानिएको छ । जसले अस्वाभाविक ठानेका भए पनि नयाँ झलनाथ बन्न शेरबहादुर देउवा तयार हुनुभएको छ । पहिले प्रधानमन्त्रीबाट हटाइँदा तात्कालिक राजा ज्ञानेन्द्रसँग क्रूद्ध बनेका देउवाले २०६१ सालमा पुन: प्रधानमन्त्री बनाइदिएपछि खुसीले गद्गद् हुँदै गोरखाका राजाले आफूलाई न्याय दिएको अभिव्यक्ति दिनुभएको थियो । त्यस कार्यकालमा उहाँको ध्यान राजदरबारलाई खुसी तुल्याउनुमा मात्र केन्द्रित थियो । अहिले प्रचण्डले प्रधानमन्त्री बनाइदिए भने देउवाले विगतमा राजाको सेवा गरेभन्दा बढी राम्रोसँग प्रचण्डको सेवा पुर्‍याउने निश्चित छ । आफ्नो सपनालाई विपनामा परिणत गर्न देउवा कुन हदसम्म उत्ताउलो भएर प्रस्तुत हुनुहुने हो सोको जानकारी पाउन भने थप केही समय प्रतीक्षा गर्नुपर्नेछ ।