काङ्ग्रेसको सिद्धान्तलाई कम्युनिष्टले ‘सेल’ गरेको आरोप

काङ्ग्रेसको सिद्धान्तलाई कम्युनिष्टले ‘सेल’ गरेको आरोप


नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीलाई बलियो बनाउनका लागि आफैँबाट सुधार गर्नु आवश्यक रहेको धारणा प्रकट गरेका छन् । काङ्ग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत शनिबार चितवनमा आयोजित सो कार्यक्रम समापन तथा अग्रजहरुको सम्मान गर्दै महामन्त्री खड्काले सार्वजनिक स्थानमा बसेर कुनै नेतालाई गाली गर्दैमा पार्टी बलियो नबन्ने तर्क गरे ।

जागरण अभियान जनताको विचारलाई एक ठाउँमा उभ्याएर पार्टीको भावी कार्यदिशा निर्माणका लागि महत्वपूर्ण बन्ने उनको भनाइ थियो । अभियानमार्फत जनताको भावना बुझ्ने काम भएको दाबी पनि उनले गरे ।

पार्टीभित्र निर्णय गर्दा वा काम गर्दा भएका गल्तीलाई सच्याउँदै आम कार्यकर्तामाझ माफी मागेर अघि बढ्ने समय आएको उल्लेख गर्दै उनले अर्को एक फरक प्रसङ्गमा काङ्ग्रेसको सिद्धान्तलाई कम्युनिष्टले बेचेको आरोप पनि लगाए ।

सो अवसरमा काङ्ग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरीले कार्यकर्तामा एकता आवश्यक रहेको सुझाव पेश गरे भने महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइरालालगायतले पनि एक भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।