नेपाल र फ्रान्सबीच ‘लगानी प्रविधि’ सम्झौताको तयारी

नेपाल र फ्रान्सबीच ‘लगानी प्रविधि’ सम्झौताको तयारी


–नवराज चालिसे, फ्रान्स
प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवद्र्धनसम्बन्धी सम्झौता हुने भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको वार्षिकोत्सवमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली स्वीजरल्याण्डको जेनेभापछि फ्रान्समा आयोजना हुने दुई देशको विटुवि मिटिङमा सहभागी हुने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री ओलीको फ्रान्स भ्रमणका लागि आवश्यक तयारी पूरा भएको फ्रान्सस्थित नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए । राजदूत अधिकारीले भ्रमणका क्रममा नेपाल र फ्रान्सबीचपर्यटन, प्रविधि र दुई पक्षीयनिजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने कार्यक्रममा सम्झौता गरिने तयारी भएको बताए । वि टु वि मिटिङको क्रममा युरोप भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध उद्योगी व्यवसायीहरुको टोलीसमेत राजदूत अधिकारीलाई भेटघाट गरी नेपाल र फ्रान्सबीच हुन सक्ने दुई पक्षीय लगानी, प्रविधि हस्तान्तरण, केवलकार, पर्यटनको पूर्वाधार, काइनाइट स्टोन, जडिबुटी प्रशोधन र व्यावसायिक कृषिमा लगानी भित्र्याउन सकिने सम्भावना रहेको नेपाली उद्यमीहरुले जानकारी गराएका छन् ।

महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा रहेको नेपाली उद्योगी व्यवसायीको टोलीले नेपाल र फ्रान्सबीच हुने दुई पक्षीय व्यापार सम्झौताबाट नेपालको निजी क्षेत्रले पनि लगानीको विस्तार गर्न सक्ने बताएको छ । उपाध्यक्ष प्रधानले नेपालमा व्यवसायिक कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेकाले फ्रान्सको निजी क्षेत्रले पनि नेपालबाट फाइदा लिन सक्ने बताए ।

रसुवामा केवलकार सञ्चालनका लागि फ्रान्सका व्यवसायीलाई लगानी गर्न पहल गरिदिन राजदूतसँग उद्योगीले आगह समेत गरे । रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसङ नुर्बु शेर्पाले रसुवामा केवलकार सञ्चालनका लागि निकै सम्भावना रहेको बताए । उनले गोसाइँकुण्ड लगायतमा केवलकार सञ्चालन गर्न सकिए विदेशी पर्यटकको चाप बढ्ने दाबी गरे । उनले केवलकार सञ्चालनका लागि पहल गर्न राजदूतलाई ध्यानाकर्षणपत्र समेत बुझाए । केवलकारका लागि युरोपका स्वीजरल्याण्ड, जर्मनी र फान्स प्रविधिसहित अनुभवमा अगाडि छन् ।

छलफलमा उपाध्यक्ष प्रधानसहित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का अध्यक्ष नरेन्द्र खड्का, महासंघका केन्द्रीय सदस्य मनिषलाल प्रधान, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष लिलम बस्नेत, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केवशप्रसाद भण्डारी, गैंडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमित भट्टचन, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाही, प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपति, मलंगवा उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकरप्रसाद साह, रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पशुपति खड्का, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ता, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीलगायत सहभागी थिए । उनीहरुले ठूला परियोजनाका लागि वैदेशिक लगानी नभित्र्याएसम्म मुलुकको समृद्धि नहुने बताए । ठूला जलविद्युत, केवलकारलगायतका ठूलो लगानी आवश्यक पर्ने क्षेत्रमा लगानी भित्र्याउन राजदूतावासमार्फत पहल गर्नुपर्नेमा जोड दिए ।

टोलीले बेल्जियमस्थित गैरआवासीय नेपाली संघ (एनआरएन)का प्रतिनिधिसँग पनि छलफल गरेको छ । युरोप भ्रमणमा रहेको टोलीले यहाँका उद्योगी व्यवसायी, एनआरएन, नेपालका लागि राजदूत लगायतसँग छलफलसँगै कृषि, पर्यटन क्षेत्रको अध्ययन अवलोकन भ्रमणसमेत गरिरहेको छ स्वीजरल्याण्ड, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, अष्ट्रिया, जर्मनी र इटालीको अध्ययन अवलोकन भ्रमणका क्रममा टोली युरोप आएको हो ।