नेकपाको भद्दा समितिले पार्टी विध्वंस हुन्छ : पूर्वप्रधानमन्त्री खनाल

नेकपाको भद्दा समितिले पार्टी विध्वंस हुन्छ : पूर्वप्रधानमन्त्री खनाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिद्धान्त, इतिहास र परिस्थितिको गहन अध्ययन गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । विनाअध्ययन र समय परिस्थितिलाई नबुझी अगाडि बढ्दा काममा प्रभावकारिता नहुने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री खनालले पार्टीको सिद्धान्त, इतिहास र देशको वर्तमान परिस्थितिको गहन अध्ययन गर्न आवश्यक रहेको बताए ।

खोटाङको दिक्तेलमा आज आयोजित नगर समितिको शपथ ग्रहण कार्यक्रममा नेता खनालले मुलुकको आमूल परिवर्तन गर्ने अभिभारा नेकपाका नेता तथा कार्यकर्ताको काँधमा रहेको बताए । ‘हामीले देशमा ठूलो उपलब्धि हासिल गरेका छौँ’, उनले भने, ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आमूल परिवर्तन गर्ने काममा लागू गर्नुपर्ने हुन्छ । यसका निम्ति पार्टीको सिद्धान्त, इतिहास र वर्तमान परिस्थितिको गहन अध्ययन गर्नुपर्छ ।’ उनले हरेक तहमा गठन भएको पार्टी समितिले सरकारलाई मार्ग्निर्देश गर्न सक्नुपर्ने बताए ।

वरिष्ठ नेता खनालले पार्टी एकताको बाँकी काम अन्तिम चरणमा पुगेकाले सबै काम चाँडै सम्पन्न हुनेमा विश्वस्त पारे । ‘अहिले निर्माण भएका समिति भद्दा बनेको छ । यसमा मेरो टिप्पणी छ’, उनले भने, ‘भद्दा समितिले पार्टी विध्वंस हुन्छ । राष्ट्रिय महाधिवेशनपश्चात् साइजमा आउने छौँ ।’

नेता खनालले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी तथा किरात ऐतिहासिकस्थल मझुवागढी तथा कालिका भगवती मन्दिरको अवलोकन भ्रमण गरेका पूर्वप्रधानमन्त्री खनालले आजै अपराह्न नेकपाको हलेसी नगर समितिलाई समेत शपथ ग्रहण गराएका थिए ।