राष्ट्रिय गौरवका आयोजनाको भौतिक र वित्तिय प्रगति निराशजनक

राष्ट्रिय गौरवका आयोजनाको भौतिक र वित्तिय प्रगति निराशजनक


–छविलाल बगाले
सरकारको उच्च प्राथमिकतामा परेका ठूला आयोजनाहरुको भौतिक र वित्तिय प्रगति निराशजनक छ । सरकारले हरेक बर्ष आयोजनालाई बजेट विनियोजन गर्दै आएपनि विनियोजित बजेट खर्च हुन सकेको छैन् । चालू आर्थिक वर्ष २०७५/७६ मा १८ ठूला आयोजनाका लागि सरकारले रू. ८७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको थियो । यसमध्ये जेठ अन्तिम सातासम्म आइपुग्दा ६० प्रतिशतमात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाको भनाई छ । उनले मेलम्ची र पोखरा क्षेत्रिय विमानस्थलको वित्तिय प्रगति कमजोर भएको बताए । ‘केही आयोजनाको वित्तिय प्रगति राम्रो भएपनि अधिकांशको प्रगति सन्तोषजनक छैन ।’

प्रगति कमजोर देख्दादेख्दै बजेट विनियोजन
सरकारले आगामी आर्थिक बर्षमा राष्ट्रिय गौरवका आयोजनाका लागि मात्रै १ खर्बभन्दा बढि बजेट छुट्याएको छ । चालु आर्थिक बर्षमा गौरवका आयोजनाको भौतिक र वित्तिय प्रगति कमजोर देख्दादेख्दै सरकारले ठूलो बजेट विनियोजन गर्नु गलत भएको पूर्बाधारविद् सूर्यराज आचार्यको टिप्पणीे छ । ‘सरकारलाई काम गर्न र विनियोजन भएको बजेट खर्च गर्न कसैले रोकेको छैन ।’ पूर्बाधारविद् आचार्यले भने, ‘चालु आर्थिक बर्षमा बजेट फ्रिज भएको देख्दादेख्दै फेरी बजेट थप्नु सरकारको काम नगर्ने चेष्टा हो ।’

आयोजनाको व्यवस्थापनभन्दा अनियमितताको व्यवस्थापनमा लाग्दा आयोजना ढिलाई
चालु आर्थिक बर्षमा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको वित्तिय प्रगति क्रमशः ७ र १२ प्रतिशत मात्रै छ । आयोजना समयमा सम्पन्न नहुनुमा आयोजना प्रमुख परिवर्तन भइरहनु र आयोजनाको व्यवस्थापनमा भन्दा पनि अनियमितताको व्यवस्थापनमा लाग्नु नै प्रमुख कारण भएको पूर्बाधारविद् आचार्यको तर्क छ । ‘हरेक ६/६ महिनामा आयोजना प्रमुख परिवर्तन हुनु र प्रमुख भएपछि मन्त्रीदेखि उच्च नेतालाई मोटो रकम बुझाउनुले पनि आयोजना निर्माणमा ढिलाई भएको हो ।’


‘दुहुनो गाई’ बन्दै राष्ट्रिय गौरवका आयोजना
आयोजनाहरुलाई राष्ट्रिय गौरवको संज्ञा दिएपनि यसलाई धेरैले ‘दुहुनो गाई’ का नामले चिन्ने गरेका हरेक बर्ष गौरवका आयोजना भन्दै सरकार बजेट विनियोजन गर्ने तर काम नगर्ने परिपाटीले एकातिर आयोजनाको लागत बढ्दै गएको छ भने अर्कोतिर सरकारकै असक्षमतामाथि प्रश्न उठ्दै गएको छ । आयोजना निर्माणका क्रममा हुने ठूलो चलखेल र राजनैतिक दलका कार्यकर्ताको भर्ती केन्द्रका रुपमा विकास हुँदा आयोजनाको लागत र समय दुवै बढेको छ । सुस्त गतिमा राष्ट्रिय गौरवका ठूला विकास आयोजनाहरूमा सरकारले अर्बौं रुपैयाँ लगानी गरिसकेको छ । तर, ती आयोजनाका लागि विनियोजित रकम पनि सही ढंगले खर्च हुन नसकेको पाइएको छ ।

आगामी आर्थिक बर्षका लागि १ खर्ब ३ अर्ब बजेट
सरकारले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउन मात्रै आगामी आर्थिक वर्षका लागि रू. १ खर्ब ३ अर्ब ८५ करोड रकम छुट्याएको छ । यो रकम चालु आर्थिक बर्षको भन्दा धेरै हो । अर्थ मन्त्रालयका अनुसार १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजनाका लागि सरकारले आगामी आवका लागि रू. १३ अर्ब ५७ करोड छुट्याएको छ । यस्तै, बबई सिँचाइ आयोजनामा आगामी आवका लागि रू. १ अर्ब ४९ करोड ८६ लाख, रानी जमरा कुलरिया सिँचाइ आयोजनाका लागि आगामी आवमा रू. २ अर्ब ४२ करोड, भेरी बबई डाइभर्सन आयोजनालाई रू. ४ अर्ब २० करोड विनियोजन गरेको छ ।

उता, बहुचर्चित मेलम्ची खानेपानी आयोजनालाई रू. ७ अर्ब ३८ करोड, माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई रू. १ अर्ब ८५ करोड, पशुपति क्षेत्र विकास कोषका लागि रू. ३५ करोड, लुम्बिनी विकास कोषमा रू. १ अर्ब, दक्षिण एशिया पर्यटन पूर्वाधार विकासतर्फ ३ अर्ब ३३ करोड, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका लागि रू. ८ अर्ब, निजगढ अन्तरराष्ट्रिय विमानस्थललाई रु.१ अर्ब ५० करोड विनियोजन गरेको छ । यस्तै, पुष्पलाल राजमार्ग सम्पन्न गर्न रू. १२ अर्ब १९ करोड, काठमाडौं–तराई मधेश फास्ट ट्रयाकका लागि रू. १५ अर्ब, उत्तर–दक्षिण राजमार्गका लागि रू. ५ अर्ब, रेल, मोनोरेल र मेट्रो रेलका लागि रू. ७ अर्ब ६९ करोड विनियोजन गरेको छ ।