बेरोजगारी समस्या : ९२ हजार युवा कोरियाको सपना बुन्दै

बेरोजगारी समस्या : ९२ हजार युवा कोरियाको सपना बुन्दै


दशौं चरणको कोरियन भाषा परीक्षा आज शनिबार र भोलि आइतबार संचालन हुँदै छ । यसपटक ९२ हजार युवाले कोरियन भाषाको परीक्षा दिँदैछन् । यीमध्ये १० हजारले मात्रै कोरिया जाने सीमा अटाउन सक्छन् ।

सरकार स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गरेका छौं भन्दै भाषण दिइरहँदा ४० ननाघेका युवा भने कोरियाको सपना बोकेर भौतारिरहेका छन् । हरेक साल कोरियन भाषा परीक्षामा सामेल हुनेको संख्या पनि उत्तिकै बढेको छ । तर, कामदारको कोटा भने खासै नबढेको सरकारी अधिकारीहरु बताउँछन् ।

९२ हजार ३ सय ५६ युवा परीक्षामा सहभागि हुँदै
कोरिया जानका लागि मुलुकभरीका ९२ हजार ३ सय ५६ युवा परीक्षामा सहभागि हुँदैछन् । यो संख्या २००८ पछिकै सबैभन्दा बढी भएको सरकारी अधिकारीको भनाई छ । परीक्षार्थीले काठमाडौं र पोखराबाट भाषा परीक्षा दिने छन् । आगामी वर्ष अर्थात् सन् २०२० का लागि सञ्चालन भएको परीक्षाबाट कोरियाले १० हजार ५० युवालाई मात्रै छनोट गर्नेछ । यस मध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० छानिने छन् भने कृषि क्षेत्रमा ३ हजार युवाको नाम प्रकाशित हुनेछ ।

काठमाडौंमा २८ र पोखरामा ४ केन्द्र
भाषा परीक्षाका लागि काठमाडौंमा २८ र पोखरामा ४ केन्द्र तोकिएको छ । आर्थिक कमाइको उत्कृष्ट गन्तव्य रहेको कोरियामा ५५ हजार बढी नेपाली युवाहरू रोजगारीमा रहेका छन् । दुई देशका सरकारबीच सम्झौता भई सरकारी तबरमा २००८ देखि नेपालले दक्षिण कोरियामा कामदार पठाउँदै आएको छ ।