बिहीबारको आँधीबाट भारतको उत्तर प्रदेशमा १९ को मृत्यु

बिहीबारको आँधीबाट भारतको उत्तर प्रदेशमा १९ को मृत्यु


भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् ।

उत्तर प्रदेशका राहत उद्धार आयुक्त जीएस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताए । उनले आँधी प्रभावित जिल्लामा राहत र उद्धारको कार्य जारी रहेको पनि जानकारी दिए ।

आँधीबाट प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार चट्याङका साथै रूख र पर्खालहरू ढलेर मानिसको मृत्यु भएको हो । स्थानीय प्रशासनले मृतकका परिवारलाई जनही भारतीय रुपैयाँ चार लनख दिने घोषणा गरेको छ ।

आँधीबाट ठूलो संख्यामा घरपालुवा पशुपक्षी पनि मरेका छन् । आँधी प्रभावित क्षेत्रमा भएको जनधनको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।