सिड्नीमा नेपाली विद्यार्थीलाई साईकल बाँड्दै बाबा

सिड्नीमा नेपाली विद्यार्थीलाई साईकल बाँड्दै बाबा


  • राजन घिमिरे, अस्ट्रेलिया

उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको मुख्य आकर्षणको गन्तब्य भएको छ अस्ट्रेलिया । संख्यात्मक रूपमा विद्यार्थीको चाप बढ्दै गर्दा काम पाउन भने गाह्रो हुने गरेको विद्यार्थीको गुनासो छ । अस्ट्रेलिया अवसरको खानी भएको तर विद्यार्थीलाई सही मार्ग–निर्देशन नहुँदा क्षमतावान विद्यार्थी पनि खालीहात बस्नुपर्ने बाध्यता रहेको छ । नेपालबाट आउँदा विद्यार्थीले अस्ट्रेलियामा पाइने कामका बारेमा पूर्वतयारी नगरिनुले पनि काम पाउन निकै कठिन हुने गरेको छ ।

विद्यार्थीको मुख्य समस्या र कामको अभावलाई मध्यनजर गर्दै बाबा एजुकेसन कन्सलटेन्सी र आरकेएस अस्ट्रेलियाले २० ओटा साइकल निःशुल्क वितरण गर्ने भएको छ । दश महिला र दश पुरुष गरी जम्मा २० जना विद्यार्थीलाई साइकल दिन लागिएको हो । अबर्न स्ट्रीट ग्याङले आयोजना गर्न लागेको यो कार्यक्रम सम्भवतः अस्ट्रेलियामै पहिलोपटक हुँदैछ ।

काम नपाएका कारण कैयन विद्यार्थीले दयनीय अवस्था भोगेका र पीडा भोगिरहेका तिनै विद्यार्थीहरूलाई केही हदसम्म भए पनि राहत पुग्ने बुझाइले यस्तो कार्यक्रम आयोजना गर्न लागेको बताउँछन् अबर्न स्ट्रीट ग्याङका प्रेसिडेन्ट रोशन खतिवडा । उनी भन्छन्– ‘साइकलबाटै उबर इट्स गरेर विद्यार्थीले आफ्नो जीविकोपार्जन गर्न सक्ने छन्, जसले गर्दा अन्य विद्यार्थीलाई पनि राम्रो प्रेरणा प्रदान हुन सक्छ ।’

यो कार्यक्रममा सहभागिताका लागि केही हप्ताअगाडि एप्लिकेसन फर्म खोलिएको थियो । करिव सय जना विद्यार्थीको फर्म आएको थियो र तीमध्येबाट छनौट गरी अति आवश्यकता भएका विद्यार्थीलाई प्राथमिकता दिई २० जनाको नाम निकालिने छ र उनीहरुको पुलिस चेक गरी उबर इट्समा रजिस्टर गरिने छ । साइकल २० जनालाई मात्र दिन सम्भव भए पनि अन्य कामविहीन विद्यार्थी उपस्थित भएर उबर इट्समा रजिस्टर हुन रोशनले आग्रह गरेका छन् । साथै विद्यार्थीलाई साइकल चलाउनका लागि आवश्यक पर्ने ट्राफिक रुल्स पनि कार्यक्रममा सिकाइने छ । बताइएअनुसार कार्यक्रममा केही सांगीतिक प्रस्तुतिहरू पनि रहने छन् । कार्यक्रममा सिड्नीको रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा यही जुन २६ बुधबारका दिन आयोजना हुँदैछ ।

सिड्नीमा आयोजना हुने कार्यक्रममा मनोरञ्जनात्मक या च्यारिटी होस् अथवा समुदायको लागि या विद्यार्थीको सहयोगका लागि होस् आधिकांश कार्यक्रमहरूको मुख्य प्रायोजक रहने गरेको छ बाबा एजुकेसन कन्सल्ट्यान्सी र आरकेएस अस्ट्रेलिया । येही संस्थाले नै अग्रपङ्क्तिमा रहेर हरेक नेपालीको दुःख–सुखमा साथ–सहयोग गर्ने गरेको छ । विद्यार्थीलाई सेवा दिएर कमाएको पैसा विद्यार्थीकै लागि खर्च गर्न पाउनु आफ्नो लागि अवसर भएको बताउँछन् बाबा एजुकेसन कन्सल्ट्यान्सी र आरकेएस अस्ट्रेलियाका सञ्चालक रविन्द्रकुमार शर्मा ।