भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीले लिए अवकास

भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीले लिए अवकास


भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीले सक्रिय व्यवसायिक जीवनबाट अवकासको घोषणा गरेका छन् । घ्यू उत्पादनबाट व्यवसायिक जीवन शुरू गरी विश्वप्रख्यात सूचना प्रविधिसम्बन्धी कम्पनीको सफल व्यवसाय विप्रो कम्पनीका अध्यक्ष रहँदै आएका प्रेमजीले बिहीबार अवकासको घोषणा गरेका हुन् ।

‘मैले विप्रोसँग प्रत्यक्ष तथा परोक्ष सरोकार राख्ने पूर्व तथा वर्तमान सम्पूर्ण कर्मचारी, शुभचिन्तक तथा उनीहरूका परिवारप्रति धन्यवाद दिन चाहन्छु । उहाँहरूको सहयोग र प्रेरणाले नै कम्पनीलाई आजको सफलताको अवस्थामा पु¥याउन सम्भव मिलेको हो,’ ७३ बर्षीय सफल व्यवसायी प्रेमजीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यो मेरो लागि लामो सन्तुष्टिको यात्रा भएको छ । भविष्यमा मैले बाँकी जीवनलाई परोपकारका गतिविधिमा लगाउनेछु’, उनले भनेका छन् ।

प्रेमजीले विप्रोलाई सन् १९६० को दशकको अन्त्यदेखि नेतृत्व प्रदान गरेका थिए । उनको नेतृत्वमा विप्रोले एक सफल सूचना प्रविधि क्षेत्रमा विश्वभर ख्याति प्राप्त गर्न सफल भएको छ । हाल विप्रोले विश्वका ५० मुलुकभन्दा बढीमा वार्षिक आठ अर्ब ५० करोड अमेरिकी डलर बराबरकोे कारोबार गर्दै आएको छ ।

प्रेमजीले विप्रोको कार्यकारी अध्यक्षबाट आगामी जुलाई ३० देखि अवकास लिने र उनको उत्तराधिकारीका रूपमा छोरा रिषाद प्रेमजीले कम्पनीलाई नेतृत्व प्रदान गर्ने एएफपीले जनाएको छ । बताइएअनुसार कम्पनीको गैरकार्यकारी निर्देशक तथा संस्थापक अध्यक्षका रूपमा भने प्रेमजीको संलग्नता रहनेछ ।

गत मार्चमा प्रेमजीले विप्रोमा रहेको आफ्नो सेयरको ३४ प्रतिशत सेयरलाई आफ्नो नाममा रहेको एक प्रतिष्ठानमार्फत परोपकारी गतिविधिका लागि योगदान गर्ने बताएका थिए । विप्रोका अध्यक्षबाट प्रेमजीले राजीनामा गर्ने समाचारसँगै यस कम्पनीको शेयरमा बिहीबार एक प्रतिशतले गिरावट आएको छ ।