अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजार आप्रवासी पक्राउ

अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजार आप्रवासी पक्राउ


अमेरिकी सीमा सुरक्षा अधिकारीहरूले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न चाहने ८४ हजार ५४२ जना, बालबालिका ११ हजार ५०७ जना र एकल वयस्क व्यक्ति ३६ हजार ८३८ जना रहेका छन् ।

यो संख्या अप्रिलको तुलनामा ३४ प्रतिशत बढी हो । अप्रिलमा ९९ हजार ३०४ जना पक्राउ परेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी प्रवेशमाथि कडाइ गरे पनि त्यो क्रम रोकिएको छैन । राष्ट्रपति ट्रम्पले मेक्सिकाली सरकारमाथि पनि अवैध आप्रवासीलाई नियन्त्रण गर्न दबाब दिइरहेका छन् । अध्ययनहरूले अधिकांश आप्रवासी मेक्सिकोसमेत मध्यअमेरिकी राष्ट्रबाट आउने गरेको देखिएको छ ।

मेक्सिको सरकारमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पले आगामी जुन १० देखि लागू हुनेगरी अमेरिका प्रवेश गर्ने मेक्सिकाली सामानमा ५ प्रतिशत करवृद्धि गर्ने चेतावनी दिइसकेका छन् ।

अमेरिकी दबाबपछि मेक्सिकाली विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकी उपराष्ट्रपति माइक पेन्ससमेतका उच्च पदाधिकारीसँग भेटवार्ता गरेका छन् । मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि प्रयास जारी राखेको र हजारौँ मध्यअमेरिकीलाई उनीहरूकै देश फर्काएको जनाएको छ ।