सुडानमा १०८ सर्वसाधारणको मृत्युपछि प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

सुडानमा १०८ सर्वसाधारणको मृत्युपछि प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार


सुडानमा प्रदर्शनकारीका नेताले सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेको छ । सुडानको राजधानी खार्तुमस्थित जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा एक सय आठजनाको मृत्यु भएपछि नेताहरूले वार्तालाई अस्वीकार गरेका हुन् ।

बुधबारसम्ममा सैनिक मुख्यालयबाहिर चलाएको गोली लागी मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको चिकित्सकहरूले बताएका थिए । परिषद्ले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भंग गरी नौ महिनाभित्र आमनिर्वाचन गर्ने घोषणा पनि गरेको छ ।

सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुपरिवेक्षणमा निर्वाचन गराइने बताए । सैनिक कारबाहीपछि चुनावको घोषणा गरिए पनि राजधानी खार्तुममा प्रदर्शन नरोकिएको र यसमा परी एक सय आठ व्यक्तिको मृत्यु हुनुको साथै पाँच सयभन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ ।

विगत ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्युत गरेको सेनाले सैनिक परिषद् गठन गरी तीन वर्षभित्र नागरिकलाई सत्ता सुम्पन सहमति जनाएको थियो, तर नागरिकस्तरबाट प्रदर्शन नरोकिएपछि सेनाले एकाएक हस्तक्षेप गरेको हो । सैनिक शासनविरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालयबाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौँदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए ।

धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा सेनाले सोमबार गोली चलाएको हो । आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्या सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ ।

संयुक्तराज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न आग्रह गरेका छन् । यी दुवै मुलुकले नागरिकलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दबाब दिइरहेका छन् । सुडानको प्रभावशाली नागरिक संस्था चिकित्सकको केन्द्रीय टोलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएको छ ।

रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य संघसंस्थाले पनि खार्तुममा ठूलो संख्यामा प्रदर्शनकारी मारिएको र आपतकालीन सहयोगको आवश्यकता परेको बताएका छन् । सुडानी प्रोफेसनल एसोसिएसन (एसपीए)ले सेनाले ‘नागरिकको आमहत्या’ गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्ण रूपमा असफल तुल्याउन ‘नागरिक अवज्ञा’ आन्दोलन गर्न आह्वान गरेको छ । एसपीएले सैनिक सत्तासँग तत्काल वार्ता सम्भव नरहेको बताएको छ ।

सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्युत गरेर सत्ता आफैँले लिएको थियो । सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न सर्तसहितको सहमति भए पनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीले प्रदर्शन गरिरहेका हुन् ।