गायिका आनी छोइङ परिन् गम्भीर शङ्काको घेरामा

गायिका आनी छोइङ परिन् गम्भीर शङ्काको घेरामा


चर्चित गायिका आनी छोइङ डोल्मा विवादमा परेकी छिन् । उनले हङकङबाट १५ करोड ‘शंकास्पद’ रकम नेपाल भित्र्याएको भन्दै मेगा बैंक नेपालले रोक्का गरिदिएको छ । बैंकले आनीको खातामा जम्मा भएको रकमको स्रोत नखुलेपछि रोक्का गरेको हो ।

आनीलाई यतिका रकम हङकङस्थित ‘एसेट म्यानेजमेन्ट कम्पनी’मा कार्यरत एक ब्यक्तिले पठाएको खुलेको छ । एकै किस्तामा ठूलो रकम आउनु शंकास्पद भएकोले मेगाले नेपाल राष्ट्र बैंकको वित्तिय एकाइलाई जानकारी गराएको छ । तर यस विषयमा सम्पत्ति शुद्धिकरण विभागले छानवीन गरिरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

एक बर्षअघिको यो घटना अहिलेसम्म गुपचुप थियो । एक बर्षपछि एकाएक समाचार बाहिर आउनुले पनि आनीको शंकास्पद भनिएको १५ करोड रकमबारे धेरै प्रश्न उब्जिएको छ । स्रोतका अनुसार आनीको यो रकममा राजनैतिक नेतृत्वदेखि राष्ट्र बैंककै कर्मचारीसम्मले रकमको स्रोत खुल्नुपर्ने बताएका छन् ।

ज्ञातव्य छ, एक बर्ष अघि गायिका आनीले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममार्फत तुईन व्यवस्थापन गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । मेगा बैंकमा रोक्का अवस्थामा रहेको आनीको रकम छुटाउन यसअघि विदेशी विनिमय विभागका उच्च अधिकारीहरु नै लागिपरेको बुझिएको छ । तर अहिलेसम्म पनि उनिहरु सफल भएका छैनन् । राजनैतिक दलका उच्च नेतादेखि उच्च तहका कर्मचारीहरुले भित्रभित्रै सेटिङ मिलाएर रकम फुकुवा गर्न खोजे पनि राष्ट्र बैंकको एकाइले अनुसन्धानका लागि गरेको सिफारिसमा शुद्धिकरण विभागले काम थालेपछि आनीको शंकास्पद मानिएको १५ करोड रकमको नालीबेली बाहिरीएको हो ।

यता, गायिका आनीले भने आफूले बिशुद्ध सामाजिक सेवाका लागि रकम ल्याएको बताउँदै आएकी छिन् । आनीले होटल र अन्य सामाजिक क्षेत्रमा लगानी गर्नका लागि छुट्टै ४० करोड रुपैयाँ नेपाल ल्याउन राष्ट्र बैंक र उद्योग विभागबाट स्वीकृति लिइसकेको केन्द्रीय बैंक स्रोतले जानकारी दिएको छ । मेगा बैंकले रकम रोक्का गर्नुअघि आनीलाई उत्कृष्ट ग्राहक भन्दै सम्मान समेत गरेको थियो । आनीले रकम फुकुवाका लागि मेगा र केन्द्रीय बैंकमा आवश्यक कागजात बुझाए पनि अनुसन्धान र छानविनकै क्रममा रहेकोले तत्काल रकम फुकुवा नहुने बुझिएको छ । आनीको रकम शंकास्पाद भेटिए कारबाही हुने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।