अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित

अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित


म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मंगलबार सम्मान गरियो । चौधौँ छुवाछुतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जिल्लास्थित संयुक्त राजनीतिक दलित संघर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सो सम्मान गरेको हो ।

उक्त समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, समितिका संयोजक बलबहादुर विश्वकर्मालगायतले अन्तरजातीय विवाह गरेका दम्पतीलाई अभिनन्दन गरेका थिए ।

जातीय विभेद हटाउन अन्तरजातीय विवाहले सकरात्मक भूमिका निर्वाह गर्ने भएकाले उनीहरूको हौसलाका लागि सम्मान गरिएको संघर्ष समितिका संयोजक विश्वकर्माले जानकारी दिए । जिसस प्रमुख केसीले छुवाछुतलाई कानुनी रूपमा हटाइए पनि व्यावहारिक कार्यान्वयनका भने लागि सरोकारवालाले समाजमा जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा पूर्वसभासद एवं नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोविन्द पौडेल, प्रजिअ अधिकारी, नेपाली कांग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्कीलगायतले जातीय विभेद सामाजिक अपराध हुने भएकाले दोषीमाथि कानुनबमोजिम कारबाही हुनेमा जोड दिएका थिए ।