किन भयो नेकपामा हलचल !?

किन भयो नेकपामा हलचल !?


■ विनोद नेपाल

अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता गर्ने निर्णयका क्रममा भएको भनिएको सहमति कार्यान्वयनको कुरा उठाएपछि अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा त्यसले हलचल ल्याएको छ । सह–अध्यक्षको रुपमा रहेका उनले आफूले प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटाको पूर्ण जिम्मेवारी पाउनुपर्ने संकेत गर्दै दिएको एक अभिव्यक्ति सार्वजनिक भएसँगै यसले तरङ्ग ल्याएको हो ।

दाहाल आफू कुनै न कुनै रूपमा चर्चामा आउन चाहने नेता हुन् । कुनै सन्दर्भमा आफ्नो चर्चा चलेन भने उनले एउटा न एउटा विषय निकालेर आफूलाई चर्चामा ल्याइहाल्छन् । यो देखिँदै आएको वास्तविकता हो । अरु नभए पार्टी एकीकृत भएको धेरैलाई मन नपरेको र पार्टीमा विभाजन ल्याउने षडयन्त्र भइरहेको भनिदिएर पनि उनी चर्चामा आउँछन् । अहिले चाहिँ उनले ‘पार्टी एकताका बेला भएको सहमति पालना नगरे कोही पनि नटिक्ने’ अभिव्यक्ति दिएपछि उनले भनेको सहमतिसंगै उनी समेत चर्चामा आएका हुन् ।

संयोग कस्तो प¥यो भने, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकाल प्रारम्भ गर्नु अघि पद तथा गोपनियताको शपथ कार्यक्रममा निम्त्याएपछि सोमा उपस्थिति जनाउन नयां दिल्ली पुगेका समयमा यो विषय एकाएक चर्चामा आयो । यसपछि ओलीले सो विषयमा प्रश्न गर्नेहरूलाई दिल्लीमै ‘त्यति टाढा किन ? चार–पांच दिनमै हुने’ जवाफ दिएका थिए ।

यस विषयले नेकपाभित्र ठूलै तरंग ल्याएको छ । तत्कालीन माओवादी केन्द्र भन्दा तत्कालीन एमालेमा यसले धेरै चर्चा पाएको छ । कतिपयले सम्झौताका बारेमा, सम्झौताको आधिकारिकताका बारेमा प्रश्न उठाएका छन् भने कतिपय नेताले आआफ्ना प्रतिक्रिया दिएका छन् । उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले पार्टीभित्र बहुकेन्द्र सिर्जना गर्न नहुने र जो अध्यक्ष हुन्छ उनी नै प्रधानमन्त्री हुनुपर्ने धारणा राखेका छन् भने नेता वामदेव गौतमले एक व्यक्ति एक पद अनुसार कामको बांडफाट र जिम्मेवारी प्रदान गरिनुपर्ने धारणा राखेका छन् । उनले एउटै व्यक्तिमा अधिकार केन्द्रित गर्नु जोखिमपूर्ण हुने धारणा पनि राखेका छन् । पोखरेलले त ‘गलत समयमा यस्तो आवाज उठाएको’ भन्दै दाहालप्रति आक्रोश समेत पोखेका छन् ।

पार्टीभित्रै सरकारका कामकाजप्रति तीव्र असन्तुष्टि र गुनासो छ । शक्तिशाली विभागका लागि होड छ । पार्टीका बैठकहरू समयमा नबसेकोमा पनि सबैमा एकखालको आक्रोश देखिन्छ ।

यी बाहेक पनि अध्यक्षद्वय मध्ये नेकपाभित्र कोही–कसैको र कोही–कसैको पक्षमा उभिएका छन् । प्रधानमन्त्री र अध्यक्ष एउटै व्यक्ति हुँदा दोहरो जिम्मेवारी निर्वाह गर्नुपर्दा एकातिर सरकारको काममा प्रभावकारिता देखिन नसकेको र अर्कोतिर पार्टी पनि राम्ररी सञ्चालन हुन नसकेको जिम्मेवारी बाँडफाँडको पक्षमा रहेका वामदेव गौतम लगायत नेताको धारणा छ । नेता घनश्याम भुसाल, जसले पार्टीको शक्तिशाली सरकारले जनताका पक्षमा काम गर्न नसकेको र जनताको नजिक हुनुपर्ने सरकार र पार्टी नेतृत्वलाई दलाल, माफिया र तस्करले घेरिरहेको बताउंदै आएका छन्, उनले दुई नेताबीच भएको भनिएको सहमतिको आधिकारिकता बारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेका छन् ।

शीर्ष नेताहरूबीच बेलाबेला भेटघाट भइरहे पनि यस्ता विषयमा छलफल नहुँदा विभिन्न आशङ्का उत्पन्न भएका छन् भने सञ्चारमाध्यमहरूले आशङ्का गर्ने ठाउँ पनि पाएका छन् । तर यसरी गरिएका अनुमान र उत्पन्न आशंकालाई नेकपाका नेताहरूले आफूहरूबीच फाटो ल्याउने र पार्टीलाई कमजोर बनाउने षडयन्त्र भन्दै टिप्पणी गर्ने गरेका छन् । महासचिव विष्णु पौडेल, जो बालुवाटार जग्गा प्रकरणमा मुछिएका विवादित पात्र समेत हुन्, उनले खेल्नका लागि विषय खोजेकाहरूले बढी हल्ला गरेको बताएका छन् । तर नेताहरूबीच ध्रुवीकरण बढेको छ । पार्टीभित्रै सरकारका कामकाजप्रति तीव्र असन्तुष्टि र गुनासो छ । शक्तिशाली विभागका लागि होड छ । पार्टीका बैठकहरू समयमा नबसेकोमा पनि सबैमा एकखालको आक्रोश देखिन्छ । वल्लतल्ल २१ गते बसेको सचिवालय बैठकले पनि केन्द्रीय समितिको कार्यविभाजन २२ गते टुङ्ग्याउने निर्णय गऱ्यो ।

जगजाहेर छ तत्कालीन नेकपा (एमाले) र माओवादी (केन्द्र)आआफ्नै आवश्यकता र बाध्यताले एकीकृत हुन पुगेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा होचिएको कद तथा संविधान जारी हुने समयसम्म आइपुग्दा र तत्पश्चात पनि एकपछि अर्को नेता र गुट गर्दै चोइटिँदै जान थालेपछि सानो समूहमा मात्र परिणत हुने अवस्थामा पुगेका कमरेड दाहाललाई तत्कालीन परिस्थितिमा आफ्नो अस्तित्वकै लागि पनि ‘कम्युनिष्ट’ नामधारी दलसँग र त्यसमा पनि ठूलोसंग एकीकृत हुनुको विकल्प थिएन भने कमरेड ओली चाहिं आफ्नो महत्वाकांक्षाका लागि एकीकृत हुनु आवश्यक थियो ।

नेकपामा शक्तिको लागि उठेको विवादले एकप्रकारको हलचल ल्याएको छ । यसबाट कुनै न कुनै रूपमा कामकाज प्रभावित भएका छन् । यस्तो परिस्थितिमा गलत तत्वले खेल्ने मौका पनि पाउन सक्छ ।

नेपाली कांग्रेसले कम्युनिष्ट विभाजनको फाइदा उठाउँदै आएको ठहर गर्दै आएका र वास्तवमा यथार्थ समेत त्यस्तै देखिएको अवस्थामा, आफ्नो स्वार्थ र महत्वाकांक्षा पूरा गर्नका लागि पनि यी दुईवटा दल, (दल मिल्न त अझै बाँकी नै छ) नेता, मिलेका थिए जो त्यसअघि एकअर्काको अस्तित्व नै समाप्त गर्ने चेतावनी दिंदै आएका थिए । यो मेल एकाएक कसरी सम्भव भयो र यो चमत्कारका लागि कुन तत्वले काम गऱ्यो ? भन्ने खुल्दुली र जिज्ञांसा त धेरैमा छँदैछ तर पनि दुवै नेताको स्वार्थ मिल्नु सबैभन्दा ठूलो कारण हो । संघीय र प्रदेशसभाका निर्वाचनको परिणाम आफ्ना पक्षमा गएपछि यस एकतालाई ‘मुलुकको आवश्यकता’ भनियो । तर सत्ता भनेको चिज नै यस्तो हो नपाउनेले ताकिरहन्छ, पाउनेले आफू कहिल्यै बाहिर जानु नपरोस् भन्ने ठानिरहन्छ । त्यसमा पनि आसेपासेले सहयोग गरिदिएपछि त झ्न के चाहियो र ?

अन्त्यमा, कुनै पार्टीभित्रको आन्तरिक कुरा आमजनता वा अन्य कसैको सरोकारको विषय होइन । सहमति भएका थिए वा थिएनन्, भएका भए के–के कुरा उल्लेख थियो र कसरी भएको थियो, त्यो इमान हुने आफैले बुझ्ने, थाहा पाउने कुरा हो । अझ गोप्य सहमतिका हकमा त झन् अरु कसैले त्यसका बारेमा बोल्ने कुरै आउँदैन ।

नेकपामा शक्तिको लागि उठेको विवादले एकप्रकारको हलचल ल्याएको छ । यसबाट कुनै न कुनै रूपमा कामकाज प्रभावित भएका छन् । यस्तो परिस्थितिमा गलत तत्वले खेल्ने मौका पनि पाउन सक्छ । हाम्रो सरोकार भनेको एउटा पार्टी भित्रको आन्तरिक कलहले गर्दा राज्यका कामकाज प्रभावित नहोउन्, अस्थिरता र अन्योलको वातावरण नबनोस् तथा देश र जनताका पक्षमा हुनुपर्ने कामहरू प्रभावित नहोउन् भन्ने सम्म हो । यस सन्दर्भमा उत्पन्न विवादको शीघ्र निप्टारा लगाउने र दलविशेषको आन्तरिक विवादले मुलुकलाई नै प्रभावित हुन नदिने जिम्मेवारी पनि नेकपा र त्यसको नेतृत्वको नै हो ।