वायु प्रदूषणबाट वार्षिक ७० लाखको मृत्यु

वायु प्रदूषणबाट वार्षिक ७० लाखको मृत्यु


वायु प्रदूषणका कारण प्रत्येक वर्ष विश्वमा करिब ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरणसम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदूषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताएका छन् ।

विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रूपमा लिइदिन विश्वका सरकारसमक्ष आग्रह गरेका छन् ।

‘वायु प्रदूषण शान्त, अदृश्य तथा भयानक घातक समस्या हो जसले विश्वभर हरेक वर्ष झन्डै ७० लाख मानिसको ज्यान लिइरहेको छ । यसबाट महिला, बालबालिका र गरिब समुदायका मानिसलाई सबैभन्दा बढी असर परिरहेको छ,’ बोइडले भने ।

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा बोइडले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘चीनसमेतका धेरै मुलुकमा व्यापक रूपमा वायु प्रदूषण न्यून गरिएका सफलताका कथाहरू छन् । यी उदाहरणले वायु प्रदूषण रोकथाम गर्न सकिने समस्या हो भन्ने पुष्टि भइसकेको छ ।’

बोइडले अहिले हरेक पाँच सेकेन्डमा एक व्यक्तिको अकालमै वायु प्रदूषणका कारण मृत्यु भइरहेको बताउँदै विश्वको झन्डै ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा श्वासप्रश्वास गरिरहेको उल्लेख गरे । मृत्यु हुने झन्डै ७० लाखमध्ये ६ लाख बालबालिका रहेका छन् ।

स्वच्छ हावा सुनिश्चित गर्न नसक्नुको अर्थ मानिसको जीवन, स्वास्थ्य र भलाइप्रतिको अधिकार उल्लंघन मात्र नभई स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको हनन पनि हो– बोइडले भने ।