कार बम विस्फोटमा आठ प्रहरीको मृत्यु

कार बम विस्फोटमा आठ प्रहरीको मृत्यु


प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठजना प्रहरीको मृत्यु भएको छ ।

देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरू सातजना घाइते भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार शनिबार बेलुका ९ः५० बजे विस्फोट भएको थियो । उनीहरूले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरूले जनाएका छन् ।

विस्फोट गराइएको इस्फान्डीस्थित प्रहरी कार्यालय प्रान्तीय राजधानी घाज्नीदेखि झन्डै ६ किलोमिटर टाढा पर्छ ।

घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रान्तीय प्रहरी प्रवक्ता अदाम खान सिरातले जानकारी दिए । ‘दुर्भाग्यवश आठजना प्रहरी अधिकारी मारिएका छन् र अरू सातजना घाइते भएका छन् । विस्फोटनमा प्रयोग गरिएको सवारीसाधन र लक्षित प्रहरी कार्यालयमा पनि क्षति भएको छ,’ खानले बताए ।