युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘गलबन्दी’

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘गलबन्दी’


प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ७ दिनपछि अर्थात यो समाचार तयार पार्दासम्ममा गीतले ५१ लाख ८० हजार बढी दर्शक ‘भ्युअर्स’ पाएको हो ।

सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोकगीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं. एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए ।

गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ ।

‘परम्परागत रोधीको झझल्को आउने गरी गीत बनेको छ’, सपुतले भने, ‘राम्रो प्रतिक्रिया आएको छ, उत्साहित छु ।’ मौलिक शब्द, सङ्गीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाएका छन् ।

म्युजिक भिडियोको कथा, सोच र निर्माणपक्षसमेतले गीतलाई न्याय गरेको छ । लोक दोहोरीमा विशुद्ध मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ । ‘एकदमै रमाइलोका लागि बनाइएको गीत हो’, सपुतले भने, ‘भिडियोमा नयाँपन दिने प्रयास गरेको छु ।’

कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट सम्वाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । सपुत चञ्चले युवक र अधिकारी लज्जालु युवतीका रुपमा म्युजिक भिडियोमा देखिएका छन् ।

गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसावले पनि सपुत सफल देखिनुभएको छ । भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय बनावटी लाग्दैन । भाका नेपाल प्रालिद्वारा निर्मित गीतको म्युजिक भिडियोमा सपुतका आमाबुबा, भाइ र आफन्जनको समेत अभिनय देख्न पाइन्छ । यसअघि ‘दोहोरी ब्याटल’ गाएर विवादित बनेका सपुतले सामाजिक विषयवस्तुलाई सिर्जनामार्फत मुखरित गर्दै आएका छन् ।

गत वर्ष सार्वजनिक ‘बोल माया’ विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत हो । विषयवस्तुको छनौट र प्रस्तुतीकरणमा ध्यान दिनसके सफल भइने पाठ आफूले सिकेको सपुतको भनाइ थियो । पछिल्लो समय लोकदोहोरी गीतले युट्युबमा राम्रो दर्शक पाउन थालेका छन् । गत असोजमा सार्वजनिक भएको लोकदोहोरी ‘सालको पातको टपरी’ चार करोड भन्दा बढी पटक हेरिएको छ । उक्त गीत नै युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो नेपाली लोकदोहोरी बन्न सफल भएको छ ।

म्युजिक भिडियो हेर्ने, लाइक, कमेन्ट, शेयर र ‘सब्सक्राइब’ गर्नेको संख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ । सोही आधारमा कलाकारले पैसा पाउँछन् । पैसा आउनका लागि तोकिएको संख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ ।

शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । श्रव्य क्यासेट, सिडी, सिआरविटी हुँदै सङ्गीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो ।