गोसाइँकुण्ड : जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले





–छविलाल बगाले
गोसाइँकुण्ड चर्चित धार्मिक पर्यटकिय गन्तव्यको नाम हो । धार्मिक पर्यटनको बेजोड गन्तब्य पनि मानिन्छ गोसाइँकुण्ड क्षेत्र । ४३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्डले धार्मिक मात्रै होइन अन्य आत्तरिक तथा बाह्य पर्यटकहरुको मन लोभ्याउने स्थानको रुपमा प्रख्यात छ । प्रकृतिको यही अनुपम उपहारले नेपालको नाममा थप सुवास मात्र छरेको छैन, हरेक मानिसले एक पटक पुग्नै पर्ने परिचयको प्रख्याती पनि पाएको छ पर्यटकिय क्षेत्र गोसाइँकुण्डले ।


धर्मशास्त्र अनुसार समुन्द्र मन्थन गरेर निस्किएको कालकुठ बिष पिएपछि भगवान महादेव त्यसको पिँडा सहन नसकेर भौतारिएका थिए । उनले आफ्नो त्रिशुलले पहाडमा हानेर पानी निकाले, त्यो पानी कुण्डमा परिणत भयो । र त्यहि कुण्डमा डुबेर महादेवले कालकुट बिष सहन गरे भन्ने पौराणिक भनाई पनि छ ।


नेचुरल स्टुडियो अर्थात प्राकृतिक रंगमञ्चको उपमा
यसै भएर पनि होला गोसाइँकुण्ड क्षेत्रमा बर्षेनी हजारौं हिन्दु धर्मावलम्बीहरु पुग्ने गर्दछन् । चलचित्र निर्माणकर्ताहरुका लागि नेचुरल स्टुडियो अर्थात प्राकृतिक रंगमञ्चको उपमा पाएको यही गोसाइँकुण्ड क्षेत्रमा पुग्ने जो कसैको मन पनि लोभिन्छ ।


एकपटक घुम्नेहरु बारम्बार घुम्न रुचाउने गोसाइँकुण्डको विशेषता धेरै छन् । न हेरेर कहिले मन अघाउँछ, न त कोही घुमेर नै थाक्छ । जनैं पुर्णिमामा लाग्ने मेला गोसाइँकुण्डमा धार्मिक पर्यटक भित्रिने राम्रो मौसम पनि हो । त्यस बाहेक गोसाइँकुण्डको प्राकृतिक सुन्दरताले पनि स्वदेशी तथा विदेशी पर्यटकको मन लोभ्याउने गरेको छ ।


४३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड र त्यस आसपासमा रहेका भौरव कुण्ड, सरस्वती कुण्ड, सुर्य कुण्ड, बर्द कुण्ड लगायतका धेरै कुण्डहरुले धार्मिक आस्थाका साथमा पर्यटकिय महत्व बोकेका छन् ।


१२ घण्टाको निरन्तर यात्रापछि गोसाइँकुण्ड
रसुवा सदरमुकाम धुञ्चेबाट फटाफट हिड्ने हो भने करिब १२ घण्टाको निरन्तर यात्रापछि गोसाइँकुण्ड पुग्न सकिन्छ । सामान्यतया, धुञ्चेबाट हिड्नेहरु चन्दनबारी, चोलाङपाटी वा लौरी बिनायकमा बास बसेर भोलीपल्ट मात्रै कुण्ड पुग्न सक्छन् । नाकै ठोक्किने भीर र त्रिशुली नदिको जोखिमसँगै पौठेजोरी मोल्दै गोसाइँकुण्ड पुगेपछि भने जो कसैले पनि सबै तनाव बिर्सने आन्तरिक तथा बाह्य पर्यटकहरुको अनुभव छ ।


भर्खरै मात्रै गोसाइँकुण्ड पुगेर फर्किएकी संचारकर्मी समेत रहेकी पूर्णिमा श्रेष्ठले बाटोमा हरियो वन, वारी पारीका झरना र छङछङ बगेको त्रिशुली नदिको आवाज र बनस्पतिहरुको सुगन्धले यात्रालाई मज्जा र आनन्द बनाउने बताउँछिन् । ‘देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरी बिना र बुद्ध मन्दिर जस्ता स्टेशनमा थकान मार्दा छुट्टै आनन्द आउँछ ।’ उनले भनिन्, ‘पहिले आफ्नै देशभित्रका धार्मिक तथा ऐतिहासिक स्थलहरुको भ्रमण गर्न आवश्यक छ ।’


गोसाइँकुण्डमा पुगेपछि सारा तनावमुक्त
गोसाइँकुण्ड जानेहरु बाटो निकै जोखिम रहेको पनि बताउँछन् । तर पुर्णिमा भने बाटो असजिलो भएपनि गोसाइँकुण्डमा पुगेपछि सारा तनाव मुक्त हुने बताउँछिन् । ‘जति उकालो चढ्दै गयो, त्यति थकान महशुस हुन्छ तर मन भने थकान भन्दा धेरै गुणाले चङगा झै फुरुङग बन्छ ।’ उनी भन्छिन्, ‘चाँदीजस्ता हिमाललाई साक्षी राखेर बिचमा बसेको गोसाइँकुण्ड विश्वभरका प्रकृति प्रेमीहरुको रोजाईको गन्तव्य बन्दै गएको छ ।’ गणेश हिमालको हिमश्रृंखलाले यहाँ पुग्नेहरुलाई सबै थकान भुलाइदिने उनको तर्क छ । उनि भन्छिन्, ‘कुण्डमा स्नान गरेपछि मेटिने थकान र आनन्दले मानिसलाई जिउँदै स्वर्ग पुगेको अनुभूति आभाष गराउँछ ।’


प्राकृतिक छटाले भरिपुर्ण हिमालको काखमा अवस्थित गोसाइँकुण्डमा अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृखलाहरुले लाखौं स्वदेशी तथा बिदेशी पर्यटकहरुको मन जित्दै आएको छ । गोसाइँकुण्डले राज्यलाई विश्वसामु चिनाएको तर राज्यले विकास गर्न आनाकानी गरिरहेको छ । राज्यले करोडौं खर्च गरेर अर्बौं लैजान सक्ने संभावना गोसाइँकुण्डमा छ तर त्यसको विकासमा भने चासो देखाइएको छैन् ।

प्रतिक्रिया