आइएसलक्षित अमेरिकी नेतृत्वको हवाई आक्रमणमा तेह्र सय नागरिकको मृत्यु

आइएसलक्षित अमेरिकी नेतृत्वको हवाई आक्रमणमा तेह्र सय नागरिकको मृत्यु


अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) लडाकूहरुलाई लक्षित गरेको हवाई आक्रमणका क्रममा अहिलेसम्म एक हजार तीन सय आमनागरिक मारिएका छन् ।

गठबन्धनले शुक्रबार दिएको जानकारी अनुसार गत सन् २०१४ देखि अहिलेसम्म इराक र सिरियामा आइएस लडाकूविरुद्ध भएको लडाईका क्रममा उनीहरु मारिएका हुन् ।

सन् २०१४ को अगस्टदेखि सन् २०१९ को अप्रिलसम्म गठबन्धनले ३४ हजार ५०२ ओटा आक्रमण गरेको गठबन्धनद्वारा जारी वक्तव्यलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

त्यस अवधिमा भूलबस एक हजार ३०२ जना आम नागरिक गठबन्धनको तर्फबाट मारिएको गठबन्धनले स्पष्ट पारेको छ ।

तर एउटा गैरसरकारी संस्थाले भने आफ्नो अनुगमनले अमेरिकी गठबन्धन सेनाद्वारा मारिनेको सङ्ख्या त्यो भन्दा धेरै भएको दाबी गरेको छ ।

गठबन्धनको हवाई आक्रमणमा परी संसार भरी गरेर ७ हजार ९०० भन्दा बढी आम नागरिक मारिएको सो संस्थाले जनाएको छ ।

बेलायतमा कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले आफ्नो अनुगमनबाट सिरियामा मात्रै तीन हजार ८०० आम नागरिक गठबन्धनको आक्रमणमा परी मृत्यु भएको दाबी गरेको छ ।