मधेशमा ‘स्पेस’ बनाउँदै चीन

मधेशमा ‘स्पेस’ बनाउँदै चीन


  • निमिष झा

राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ देखि १८ गतेसम्म उत्तरी छिमेकी चीनको ८ दिने भ्रमण पूरा गरेकी छिन् । चिनियाँ राष्ट्रपति सी जिङपिङको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी थिइन् ।

गणतन्त्र स्थापनापछि चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई बेइजिङमा रेड कार्पेट बिच्छ्याएको हो । चीनमा अप्रिल २५ देखि २७ सम्म आयोजना भएको दोस्रो अन्तर्राष्ट्रिय साझेदारीका लागि बेल्ट एण्ड रोड फोरम अवसर पारेर राष्ट्रपति भण्डारीको राजकीय भ्रमण भएको हो ।

राष्ट्रपतिको चीन भ्रमण सम्पन्न भएपछि त्यसलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । कतिपयले राष्ट्रपतिको चीन भ्रमण सफल र सार्थक भएको बताएका छन् भने केहीले एउटा औपचारिकता मात्र भएको टिप्पणी गरेका छन् ।

यद्यपी राष्ट्रपतिको चीन भ्रमणको प्रसंग उल्लेख गरिए पनि चीनले मधेशलाई हेर्ने दृष्टिकोणको बारे यहाँ चर्चा गरिएको छ । वस्तुतः चीनले मधेशप्रति कस्तो धारणा राख्छ र उसले कसरी मधेशलाई बुझेको छ भन्ने बारे व्याख्या र विश्लेषणा कमै पाइन्छ । यस्तै मधेशले पनि चीनलाई कसरी चिनेको छ भन्ने बारे कमै चर्चा हुने गरेको छ । तर पछिल्लो केही वर्षदेखि मधेशप्रति चीनको चासो ह्वातै बढेको पनि पाइन्छ भने मधेशमा उसको गतिविधि पनि बढेको छ । यसैगरी मधेश दल र नेताहरू, जो पहिला भारतलाई मात्र हेर्ने गर्थे, अहिले चीनतिर पनि हेर्ने गरेका छन् । यसको गतिलो उदाहरण २०७४ चैत ११ गते तत्कालिन संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रेणु यादवको नेतृत्वको २० सदस्यीय टोलीले गरेको चीन भ्रमण हो ।

मधेशका दलबाट एकै पटक यतिको संख्यामा चीन भ्रमणमा जाने सम्भवतः यो पहिलोपटक हो । त्यसपछि पनि भएका विभिन्न चिनियाँ भ्रमणमा फोरम नेपालका प्रतिनिधिहरू सहभागी हुँदै आएका थिए । तर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कुनै पनि नेता अहिलेसम्म चीन भ्रमणमा सहभागी भएका छैनन् ।

राजपा नेपालका नेताहरूलाई चीन भ्रमणमा जानका लागि निमन्त्रणा नआएको पनि होइन । तर उनीहरू चीनतिर जान रूचि देखाएका छैनन् । तर पछिल्लो समय राजपा नेपालका नेताहरूले पनि चीनसँग राम्रो सम्बन्ध बनाएउन थालेका छन् । चिनियाँ अधिकारीसँग उनीहरूको उठबस राम्रो हुँदै गएको छ । कतिसम्म भने मधेशको विकासका लागि चिनियाँ प्रोजेक्ट र अनुदान ल्याउन पनि थालिसकेका छन् ।

विगत २० वर्षदेखि चीनमा बस्दै आएका धनुषाका डा. राजीव झा चीनसँग राजपालाई सम्बन्ध स्थापित गराउन प्रयास गरिरहेका छन् । उनी यो कार्यमा धेरै हदसम्म सफल पनि भएका छन् । ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर’का निर्देशकसमेत रहेका डा. झा राजपा नेपालका नेताहरूसँग निरन्तर भेटेर चीन–मधेश सम्बन्धको विषयमा ब्रिफिङ गरिरहेका छन् ।

सोही सिलसिलामा डा. झाले गत वर्ष माघ १९ गते राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई चिनियाँ अधिकारीलाई भेटाएका थिए ।

मधेशी दलहरूसँग चीनले सम्बन्ध बढाउँदै लैजानु भनेको मधेशी दलहरूप्रति चीनको हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थालेको संकेतको रूपमा बुझिएको छ । विगतमा चीनले मधेशी दलहरूलाई उनीहरूको भारतप्रतिको राजनीतिक निकटताका कारण शंकाको दृष्टिकोणले हेर्ने गथ्र्यो ।

नयाँ संविधानप्रति असन्तुष्टि राख्दै मधेशी दलहरू आन्दोलनमा रहँदा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका सहायक मन्त्री डोउ यिनयोङ नेतृत्वको पाँच सदस्यीय टोली काठमाडौं आएको थियो । विभिन्न राजनीतिक शक्तिका अलावा उनीहरू मधेशी नेताहरूसँग संघीयताबारे गहिरो चासो राखेका थिए ।

मधेशी दलहरू मधेशप्रति चीनको दृष्टिकोण बदल्ने कोशिसमा छन् । चीनले मधेशका मागप्रति सकारात्मक दृष्टिकोण राखोस् भन्ने उनीहरूको चाहना देखिन्छ ।

भू–राजनीतिक उतारचढावका कारण पछिल्ला केही वर्ष यता मधेशमा उत्तरी छिमेकी चीनको चासो बढ्दै गएको छ । चीनबाट हरेक वर्ष उच्च राजनीतिक तहकोे नेपाल भ्रमण हुने गरेको छ । दुई वर्षयता त्यस्ता भ्रमण टोलीले मधेशकेन्द्रित दलका नेताहरूसँग पनि भेटघाट र छलफल गर्न थालेका छन् । किनभने पछिल्लो समयमा मधेशी दलहरू पनि महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा देखिएकाले चीनले उनीहरूसँग सम्बन्ध बढाउन खोजेको देखिन्छ ।

पहिलो र दोस्रो मधेश आन्दोलनपछि मधेशको राजनीतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान पाएको हो । मधेशी दलहरूलाई सुरूदेखि नै भारतपरस्त भएको आरोप लाग्दै आएको छ । तर, मधेशका आन्दोलनले उठाएका मुद्दाहरूमा दक्षिणी छिमेकी भारत मात्र होइन, पश्चिमा मुलुक र चीनको पनि चासो ह्वात्तै बढेको देखिन्छ ।

त्यसको उदाहरण हो, २०६५ फाल्गुणमा फोरम नेपालको वीरगन्ज महाधिवेशन । पहिलो सविधानसभा निर्वाचनबाट चौथो राष्ट्रिय शक्तिको रूपमा उदाएपछि फोरम नेपालको राजनीतिक उचाइ ह्वात्तै बढेको थियो । उक्त महाधिवेशनमा सीपीसीको दक्षिण एसिया तथा एसिया–प्यासिफिक मामिला प्रमुख आई पिङले नै सहभागिता जनाएका थिए, जसले राजनीतिक बहसको रूप पाएको थियो ।

त्यतिबेला चिनियाँ पक्षले मधेशको राजनीतिबारे खासै चासो र सरोकार राखेको थिएन । सीपीसी नेता आईले महाधिवेशनको सफलताको शुभकामना मात्र दिएका थिए । यद्यपि, उक्त सहभागितालाई राजनीतिक वृतमा गम्भीरतापूर्वक लिइएको थियो । र, त्यतिबेला देखि नै मधेश र चीनबीच चर्चा हुन थालेको हो ।

पछिल्लो समयमा चीनको प्राज्ञिक वृत्तले पनि मधेशबारे बाक्लै अध्ययन र बहस थालेको छ । पहिलो मधेश आन्दोलनलगत्तै चिनियाँ प्राध्यापक वाङ होङवेईले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले नेपालको तराईलाई अस्वाभाविक रूपमा अस्थिर बनाउन खोजेको कडा टिप्पणी गरेका थिए । चीनको नेपाल नीतिमा प्रभाव पार्ने हैसियत भएका वाङले दिएको एउटा अन्तरवार्तामा तराईमा अन्तर्राष्ट्रिय चलखेल बढ्दै गए चीन चुप लागेर नबस्नेसम्म बताएका थिए । उनको यस्तो टिप्पणीको नेपाल भित्र आलोचना भएपनि यसले मधेशप्रति चीनको झुकावको रूपमा अर्थ्याउने थालिएको थियो ।

चीनले अघिसारेको महत्वाकांक्षी परियोजना ‘वान बेल्ट, वान रोड’ (ओबिओआर) ले मधेशलाई पनि समेट्नुपर्ने चीनको धारणा छ । नेपालको उत्तरी सीमासहित विभिन्न मुलुकसँग चीनको सिधा पहुँच हुने यो परियोजनालाई चीनले हालैका दिनमा ‘द बेल्ट एन्ड रोड’को नाम दिँदै आएको छ । भारतले यो परियोजनालाई महत्व नदिए पनि नेपालले भने कार्यान्वयनका लागि हस्ताक्षरसमेत गरिसकेको छ ।

मधेशका अर्थविद्हरू पनि ओबिओआरको विस्तार मधेशसम्म हुनुपर्ने धारणा राख्छन् । यसले न्यून आय भएको तथा सम्भावना भएर पनि सँधै ओझेलमा परेको मधेश क्षेत्रको विकासमा सकारात्मक योगदान पुऱ्याउने उनीहरूको तर्क छ ।

चीनको ओबिओआर परियोजनाले मधेशको अर्थतन्त्रलाई सकारात्मक वृद्धितर्फ डोऱ्याउन सहयोग गर्न सक्छ । नेपालमा चिनियाँ व्यापार बढ्दै गएको छ, यो परियोजनाबाट चिनियाँ लगानी मधेशमा भित्रिए मधेशको अर्थतन्त्र र आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पार्न सक्छ । अर्थतन्त्रको विविधीकरणका आधारमा पनि ओबिओआरका परियोजनाहरूलाई मधेशसँग जोड्नुपर्ने तर्क मधेशका बुद्धिजीविहरूको छ । तर, यसको माग राजनीतिक क्षेत्रबाट पनि उठ्नुपर्ने आवश्यक्ता छ ।

(मधेश दर्पण फिचर सेवा)