दलहरूको विचार र व्यवहार रात र दिनजस्तै !

दलहरूको विचार र व्यवहार रात र दिनजस्तै !


■ यादव शर्मा

नेपालमा हाल क्रियाशील प्रमुख राजनीतिक दलहरूमा विचार र व्यवहारबीच जुन अन्तर देखिन्छ, यस्तो सम्भवतः विश्वको कुनै मुलुकमा पनि भेटिने छैन । नेपाली जनताले कम्युनिस्ट भन्नाले जे बुझेका थिए, व्यवहारमा उनीहरू ठीक विपरीत देखिए, अर्थात् कम्युनिस्टहरू कम्युनिस्टजस्ता रहेनन् । त्यस्तै, काङ्ग्रेसलाई जसरी बुझिन्थ्यो, जस्तो बुझिन्थ्यो, काङ्ग्रेस पनि काङ्ग्रेसजस्तो रहेन ।

राजाको अनुकम्पाबाट आफ्नो हैसियत उचाल्न सफल ‘पञ्चहरू’समेत गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको पक्षमा उभिन एक रात नपर्खने देशमा कम्तीमा काङ्ग्रेस र कम्युनिस्टबाट आफ्नो सिद्धान्त र विचारअनुरूपकै व्यवहार हुने अपेक्षा गरिन्थ्यो । तर, विचार र व्यवहारबीचको अन्तर दर्शाउने सवालमा उनीहरूसमेत भिन्न देखिएनन् ।

नेपाली काङ्ग्रेसलाई राष्ट्रियता र प्रजातन्त्र पक्षधर, देशको मौलिक धर्म–संस्कृतिको पहरेदार राजनीतिक समूहका रूपमा बुझिन्थ्यो । राजादेखि रङ्कसम्म सबै अटाउने र सबैलाई समेटेर अघि बढ्न सक्ने राजनीतिक दलका रूपमा काङ्ग्रेसाई आममानिसले बुझेका हुन् । तर, जनसाधारणले बुझेजस्तो काङ्ग्रेस अब रहेन । कम्युनिस्ट र काङ्ग्रेसको भिन्नता केलाउँदा समूहको नाम, तिनका नेता र नेतापत्नीका नामबाहेक सोच, व्यवहार तथा सिद्धान्तमा कुनै अन्तर भेटिँदैन । काङ्ग्रेसले क्रान्तिकारी भूमिका निर्वाह गर्न खोज्दा ‘सन्तले सिपाहीको पोसाक लगाएजस्तो’ देखिन पुगेको छ । सिपाहीको पोसाकमा देखापरेका सन्तलाई न योद्धा मान्न सकिन्छ, न तिनलाई सन्तकै रूपमा बुझिन्छ ।

हुँडारको छाला ओढ्दैमा कोही हुँडार बन्न सक्दैन भन्ने तथ्य काङ्ग्रेसको कम्युनिष्टीकरणले सिद्ध गरेको छ । राजनीतिमा ‘पर्सेप्सन’को अधिक महत्व रहन्छ, काङ्ग्रेसले क्रान्तिकारीका रूपमा प्रस्तुत गरेर आफू बदलिएको सन्देश दिन खोजेको भए पनि काङ्ग्रेसप्रति आममानिसको ‘पर्सेप्सन’ नबदलिएकोले त्यसबाट उत्पन्न हुने असहजता काङ्ग्रेसले यतिबेला झेलिरहेको छ । धर्म, परम्परा, संस्कृति र सभ्यताको संरक्षण गर्न सक्ने तत्वगुण भएको काङ्ग्रेस कथित क्रान्तिकारिताको व्यर्थ आवरणबाट मुक्त हुन सकेन भने काङ्ग्रेसको ठाउँ अरू कसैले लिनेमा शङ्का गरिरहनुपर्ने हुँदैन, ढिलोचाँडोको कुरा मात्र हो ।

सत्तामा पुगेपछि पनि ‘अर्को चरणको क्रान्ति जारी छ’ भन्दै जनसाधारणलाई भुलभुलैयामा राखिरहने प्रयास संसारभरिका कम्युनिस्टहरूबाट हुँदै आएको र नेपालका कम्युनिस्टले पनि समाजवादी क्रान्ति सम्पन्न गर्न बाँकी रहेको बताउन थालेका छन् । बोल्सेभिक क्रान्तिपछि लेनिन र स्टालिनले यस्तै भनेका थिए, माओ र होले क्रान्ति बाँकी छ भन्दाभन्दै प्राण त्यागेका र फिडेल क्यास्त्रोले पनि क्रान्ति जारी छ भन्दै चार दशकभन्दा बढी समय सत्तामस्तीमा बिताएका हुन् ।

विचार र व्यवहारबीचको अन्तरबारे सर्सर्ती अध्ययन गर्दा कम्युनिस्टले बाँकी सबै राजनीतिक समूहलाई माथ गरेका छन् । कम्युनिस्टको विचार–दर्शन राज्यहरूको उन्मूलन गरी संसारलाई देशमुक्त बनाउने उद्देश्यसँग सम्बन्धित छ । तर, उनीहरू नै राज्यसत्ता हात पार्नका लागि जुनसुकै हथकण्डा अपनाउन तयार हुन्छन् र, हात लागेको सत्ता कदापि परित्याग गर्न तयार हुँदैनन् । सम्पूर्ण सत्ताको स्थायी मालिक बन्न उनीहरू सधैँ प्रयासरत रहन्छन् ।

सत्तामा पुगेपछि पनि ‘अर्को चरणको क्रान्ति जारी छ’ भन्दै जनसाधारणलाई भुलभुलैयामा राखिरहने प्रयास संसारभरिका कम्युनिस्टहरूबाट हुँदै आएको र नेपालका कम्युनिस्टले पनि समाजवादी क्रान्ति सम्पन्न गर्न बाँकी रहेको बताउन थालेका छन् । बोल्सेभिक क्रान्तिपछि लेनिन र स्टालिनले यस्तै भनेका थिए, माओ र होले क्रान्ति बाँकी छ भन्दाभन्दै प्राण त्यागेका र फिडेल क्यास्त्रोले पनि क्रान्ति जारी छ भन्दै चार दशकभन्दा बढी समय सत्तामस्तीमा बिताएका हुन् ।

विचार र व्यवहारबीच कम्युनिस्टको अर्को भिन्नता मानिसलाई हेर्ने–बुझ्ने दृष्टिकोणको हो । सबै मानिस समान हुन्, मानिसको कुनै जात, वर्ण हुँदैन र सबैलाई समान बनाइनुपर्छ भन्ने विचार कम्युनिस्टबाट प्रकट हुने गर्दछ । तर, नेपालमा जातीय र क्षेत्रीय भावना भड्काउने, जातीय आधारमा आरक्षणको नीति लिने र देशलाई जातीय भावनाबाट कहिल्यै मुक्त हुन नदिने नीति पनि कम्युनिस्टहरूले नै प्रवेश गराएका हुन् । एकातिर जातीयताप्रति विमति जनाउने र अर्कोतिर जातीय भावनाको वृषवृक्ष खडा गर्ने विरोधाभाषपूर्ण व्यवहार कम्युनिस्टबाट प्रस्तुत भएको छ ।

विचार र व्यवहारबीच कम्युनिस्टहरूको अर्को रोचक अन्तर सङ्घीयताको मामिलामा देखिन्छ । सैद्धान्तिक रूपले कम्युनिस्टहरू केन्द्रीकृत प्रणालीमा विश्वास गर्छन् । जनवादी केन्द्रीयताको सिद्धान्तबाट दीक्षित कम्युनिस्टले सिद्धान्तअनुरूपको व्यवहार गर्ने हो भने विकेन्द्रीकरणको समर्थन उनीहरूबाट हुन सक्दैन । सार्वभौमिक सत्ताको विभाजन गरी सङ्घीय प्रणालीको अवलम्बन कम्युनिस्टबाट हुने त कल्पनासम्म गरिँदैन । बरु देश विभाजन गर्न तयार हुन्छन्, तर केन्द्रीकृतबाहेकको प्रणाली अवलम्बन गर्न कम्युनिस्टहरू सिद्धान्ततः तयार हुँदैनन् । चीन, भियतनाम, उत्तरकोरियालगायत कुनै मुलुक सङ्घीय अवधारणामा छैनन् । विघटित सोभियत सङ्घको कथा बेग्लै छ । तर, नेपालका कम्युनिस्ट यस मामिलामा पनि अपवाद बनेका छन् । पार्टी दस्तावेजमा केन्द्रीकृत प्रणालीप्रति प्रतिबद्धता जनाउँदै व्यवहारमा सङ्घीयताको अभ्यास गरेर कम्युनिस्टहरूले नयाँ कीर्तिमान राखेका छन् ।

कम्युनिस्टहरू निजी सम्पत्ति उन्मूलनको कुरा गर्छन्, तर तिनका नेता र आसपासकाहरूको जीवनशैली हेर्दा कुनै पनि राजा–महाराजा र धनाढ्यहरूको भन्दा कमजोर देखिँदैन । वर्ग उन्मूलनको नारा लगाउँदै कम्युनिस्टहरू आफैँ नवधनाढ्य वर्गमा रूपान्तरित हुन्छन् भन्ने कुराको दृष्टान्त नेपालका कम्युनिस्टले पनि स्थापित गरेका छन् ।

कम्युनिस्टहरू निजी सम्पत्ति उन्मूलनको कुरा गर्छन्, तर तिनका नेता र आसपासकाहरूको जीवनशैली हेर्दा कुनै पनि राजा–महाराजा र धनाढ्यहरूको भन्दा कमजोर देखिँदैन । वर्ग उन्मूलनको नारा लगाउँदै कम्युनिस्टहरू आफैँ नवधनाढ्य वर्गमा रूपान्तरित हुन्छन् भन्ने कुराको दृष्टान्त नेपालका कम्युनिस्टले पनि स्थापित गरेका छन् । समानताको नाममा अर्काको सम्पत्ति खोस्ने र आफूहरू नयाँ ‘कुलीन वर्ग’ बनेर प्रकट हुने अभ्यास विगत १२ वर्षदेखि नेपालमा भइरहेको छ ।

कम्युनिस्टहरू धर्मनिरपेक्षताको वकालत गर्छन्, तर चर्च उद्घाटनदेखि इसाईहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजनामा समेत आफ्नो सहभागिता जनाउँछन् । उनीहरूको विचारमा धर्मनिरपेक्षता भनेको बौद्ध, किराँत र वैदिक सनातन हिन्दूधर्मलाई विस्थापित गरी इसाईकरण गर्नु रहेछ भन्ने उनीहरूको व्यवहारले देखाएको छ ।

यसरी नेपालका प्रमुख राजनीतिक दलहरूको दर्शन एउटा, सिद्धान्त, विचार र नीति अर्कै, अनि व्यवहारचाहिँ ठीक विपरीत रहँदै आएको छ । विचार र व्यवहारमा यति ठूलो अन्तर देखिने दलको नेतृत्वबाट यो मुलुकलाई समृद्ध बनाइने जुन ‘प्रतिबद्धता’ जाहेर भएको छ, परिणाम ठीक विपरीत आउनेमा शङ्का नगर्नु उचित हुनेछ । दलका नेताहरू जे भन्छन् व्यवहार र परिणाम ठीक विपरीत आउने गर्दछ भन्ने तथ्यबोध अब पनि हुन सकेन भने हामी सधैँ धोखाका निम्ति योग्य ठहरिनेछौँ । दलहरूको व्यवहार र विचारका बीचमा रात र दिनजस्तै भिन्नता देखिँदा पनि मौन रहने हामीले वास्तवमा कतै गुनासो प्रकट गर्ने अधिकार छ भन्ने अधिकार पनि गुमाएका छौँ ।