बम विस्फोटनमा चारको मृत्यु, २० घाइते

बम विस्फोटनमा चारको मृत्यु, २० घाइते


इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली विस्फोटनमा कम्तीमा चारजनाको ज्यान जानुका साथै अरू २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किर्कुकको मुख्य सडकमा ६ वटा बम विस्फोट गराइएको थियो । किर्कुक राजधानी बग्दादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको छ । किर्कुकका प्रान्तीय प्रहरी प्रवक्ता अम्मार अल जुबोरीले उक्त विस्फोटका कारण एकजना प्रहरीको पनि मृत्यु भएको जानकारी दिए ।

सुरक्षाकर्मीले किर्कुक विस्फोटबारे अनुसन्धान थालेको छ । सडकमा बम राख्दै गरेको देखिएका दुईवटा शंकास्पद कारको खोजी भइरहेको उनले बताए ।

मिश्रित जातीय बसोवास रहेको किर्कुकको केही भाग अर्धस्वशासित कुर्दिस्तान पनि रहेको छ ।
उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन, तर इस्लामिक स्टेट्सले किर्कुकमा सुरक्षाफौजमाथि लक्षित गरी निरन्तर आक्रमण गर्ने गरेका छन् । यही समूहले मानिसहरूको भिडभाड हुने स्थान, बजार, कफी पसल तथा मस्जिदलाई पनि लक्षित गर्ने गरेका छन् ।

सन् २०१७ मा इराकी सुरक्षाफौजले आईएसलाई पराजित गरेयता ठूला आक्रमणका घटनामा नाटकीय रूपमा कमी आएको छ । तर, आईएसका लडाकुहरू अझै पनि शहरी इलाकामा लुकेर बसेका र बेलाबखत आक्रमण गर्ने गरेको देखिएको छ ।