तातोपानीवासीमा ४ वर्षपछि फर्कियो खुशी

तातोपानीवासीमा ४ वर्षपछि फर्कियो खुशी


४ वर्षपछि तातोपानी नाका संचालनमा आएको छ । यो सँगै यस क्षेत्रका स्थानीयमा खुसीयाली भित्रिएको हो ।

२०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा ठूलो पहिरो खसेपछि बन्द भएको तातोपानी नाकालाई विनाशकारी गोरखा भूकम्पले उठ्नै नसक्ने गरी ढलाईदियो । त्यसपछि ठप्प रहेको तातोपानी नाका बिहीबारदेखि पुनः संचालनमा आएको छ ।

नाका सञ्चालनमा आएलगत्तै तातोपानीदेखि बाह्रविसे क्षेत्रसम्मका स्थानीय मात्रैै होइन यही नाकाबाट व्यापार व्यवसाय गर्नेहरु समेत खुसी भएका छन् । चीन सरकार र नेपाल सरकारबीच भएको पटक पटकको वार्ता पश्चात दुवै मुलुक नाका संचालनमा ल्याउन सहमत भएका हुन् ।

वार्षिक २० अर्ब रुपैयाँको आयात र पौने ३ अर्ब रुपैयाँ बराबरको निर्यात भइरहेको तातोपानी नाका बन्द हुँदा नेपालले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको थियो । बिहीबारदेखि साङ्केतिक रुपमा नाका संचालनमा आएपनि पूर्वाधार अभावका कारण अबको एक महिनापछि मात्रै पूर्ण रुपमा संचालनमा आउने बुझिएको छ ।

चीनकै सहयोगमा नेपाल–चीन सिमानामा मितरी पुल, सडक मर्मत र लार्चामा चीनकै आर्थिक सहयोगमा सुख्खा बन्दरगाहको निर्माण भएको छ ।

काठमाडौंबाट तातोपानी १ सय १४ किलोमिटर र रसुवागढी १ सय ९६ किलोमिटर पर्छ । रसुवागढीभन्दा दुरीको हिसाबमा पनि तातोपानी ७० किलोमिटर नजिक छ ।