यो राष्ट्रपतिलाई भेट्न पनि भेट्दिनँ : डा. अमरेश कुमार सिंह

यो राष्ट्रपतिलाई भेट्न पनि भेट्दिनँ : डा. अमरेश कुमार सिंह


नेपाली काङ्ग्रेसका युवा नेता एवम् सांसद डा. अमरेश कुमार सिंहले वर्तमान राष्ट्रपतिको हातबाट कुनै मान, पदवी, पदक, पुरस्कार र कदरपत्र नलिने बताउनुभएको छ ।

आज (जेठ १६ गते) राष्ट्रपतिबाट भएको पदक वितरण समारोहमा सहभागी हुन इन्कार गर्नुभएका सांसद सिंहले घटना र विचारसँग कुरा गर्दै भन्नुभयो– ‘विद्या भण्डारीजी देशको राष्ट्रप्रमुख जस्तो हुनुहुन्न, नेकपाको राष्ट्रपति जस्तो हुनुहुन्छ । राष्ट्रपति कार्यालय नेकपाको जस्तै कुरा भएको छ । उहाँको कार्यशैली र ब्यवहारका कारण कारण जनगणतन्त्र बदनाम भएको छ । विद्या भण्डारीजीको ब्यवहार यस्तै रह्यो भने गणतन्त्र टिक्न पनि मुस्किल हुन्छ । उहाँकै संरक्षणमा सेनाभित्र भ्रष्टाचार भएको समाचार पनि सार्वजनिक भइरहेका छन् । यस्ता मानिससँग पदक नलिने मात्र होइन, भेट्न पनि भेट्दिनँ ।’

■ अलिक बढि नै पूर्वाग्रह भयो कि जस्तो देखियो नि !
– गणतन्त्रको माया हामीलाई पनि छ, हामी यसको बदनाम हुने काम कसैबाट र कतैबाट पनि नहोस् भन्ने चाहन्छौँ। उहाँप्रति पूर्वाग्रह रहनुपर्ने कुनै कारण छैन । हाम्रो छिमेकमा पनि राष्ट्रपति छन्, तिनका शैली र व्यवहार हेरौँ । डा. राजेन्द्रप्रसाद, राधाकृष्णन, एपीजे अब्दुल कलामहरू जनप्रिय भएका तिनको आफ्नै ब्यवहारले हो । हाम्रो राष्ट्रपति त शयर गर्नुपर्दा जनताको हिँड्ने बाटो बन्द गर्ने, राजा–महाराजाले भन्दा बढि शान–सौकत देखाउने जुन ब्यवहार गर्दै हुनुहुन्छ यो पूरै गलत छ । उहाँको ब्यवहारले राष्ट्रपति संस्थाकै अपमान र उपेक्षा गरेको छ ।

■ तपाईंले पदक लिन अस्वीकार गरेर झन् राष्ट्रपति संस्थाको उपेक्षा गर्नु भएन र ?
– हामी त उहाँका शैली र ब्यवहार सच्चियोस् भन्ने चाहन्छौँ । विभिन्न मान–पदवी दिँदा राष्ट्रमा कुनै योगदान नपुऱ्याएको छोरीलाई पदक दिने, आफन्त, कार्यकर्ता र आसेपासे बाहेक अरुलाई हेर्नै नखोज्ने, यस्तो पनि राष्ट्रप्रमुखको ब्यवहार हुन्छ ? उहाँ राष्ट्रपति संस्थाको उपेक्षा गर्दै हुनुहुन्छ, आफ्नो बदनाम आफै गर्दै हुनुहुन्छ ।

ज्ञातव्य छ, डा. सिंहले केही दिनअघि नै राष्ट्रपतिबाट संविधानसभा सदस्यहरूलाई दिइने पदक अस्वीकार गर्ने घोषणा गर्नुभएको थियो ।