नेपाल जोगाउने अभियान !





■ दीपेन्द्र पाण्डे

संविधान छ । समृद्धिको तीव्र चाहना छ । कुनै न कुनै रूपमा र नाममा लोकतन्त्र जम्दै छ । रम्दै छ । मुलुकले करिब ७० वर्षदेखि उन्नति, प्रगति, विकास, स्थिरता, एकता, सहकार्य, सहमतिको गीत गाएको गायै छ । सत्ता, शक्ति र राजनीतिको लुकामारी निरन्तर चलिरहेको छ । कहिले राजनीति हाबी भएको छ । कहिले सत्ता र शक्ति । जो हाबी भए पनि देश र जनताको नाम लिन कसैले छुटाएका छैनन् । चाहे त्यो एकदलीय पञ्चायतको शासन होस् कि प्रजातन्त्रदेखि लोकतन्त्रसम्मको शासन होस् ।

पञ्चायतदेखि लोकतन्त्रसम्म जनतालाई केन्द्र भागमा राखेर गरिएको राजनीतिको बाबजुद जनतालाई जनता बन्न दिइएन । जनता र नेता मिलेर गरिएका तमाम राजनीतिक सङ्घर्ष र आन्दोलनबाट प्राप्त अमृत केवल नेताको भागमा पारियो । गरिबी, अन्याय, अत्याचार, महँगी, सपना, अस्थिरता, भ्रष्टाचार, डर, आतङ्क, हिंसालगायत सबै किसिमका कालकुट विष जनताको हिस्सामा पार्दै लम्केको लोकतन्त्रमा सिंहदरबार ‘असनको साँढे’ बनेर निस्कियो ।

केवल राजनीतिक रोटी सेक्ने र व्यक्तिगत चुलो बाल्ने राजनीति ‘बन्सो’ जस्तो मौलाएको समयमा मुलुकले प्राप्त गरेका उपलब्धिले मुलुकमा शान्ति, स्थिरता र समृद्धि ल्याउने हल्ला रणनीतिक ढङ्गले फैलाइयो । ‘ताईको माछा भुङ्ग्रोमा’ भनेजस्तो अवस्थामा जनतालाई पुऱ्याउने कुर्सीप्रेमी नेतृत्वको थोरै अध्ययन र अनुसन्धान गर्ने हो भने उनीहरूको अन्नदाता, बुद्धिदाता र विधाता स्वदेशी देखापर्दैन । नितान्त व्यक्तिगत स्वार्थमा पुर्खाको बिरासत बिर्सेर मुलुकको राजनीतिक पहिचान धरापमा पार्दै सार्वभौम सत्ताको विभाजन गर्न राजी राजनीतिक नेतृत्वको कारण मुलुक गतिहीन अवस्थामा पुगेको छ । सिद्धान्तवादी कार्यकर्ता जिन्दगीभर अभावमा पिल्सिने, सर्वसाधारण मानिसको भूमिका मतदाताभन्दा माथि नहुने, समानुपातिक सिटधनी, नेताको श्रीमती, आसेपासे, भरौटे र सेटिङवाजको अधीनमा पुगेको छ । आरक्षण र सामानुपातिक निर्वाचन प्रणालीले राजनीतिक पार्टी र नेतृत्वलाई भ्रष्ट र दूषित पारिरहेको छ । समाजभित्र रहेका कमी–कमजोरीलाई मुद्दा बनाउँदै नियोजित हिंसा लाद्ने, जनतालाई आतङ्कित बनाउन मद्दत गर्ने शक्तिले शान्तिको नाममा भिराएका अनुपयुक्त उपलब्धिको कारण मुलुकको पहिचान र अस्तित्व नै खतरामा पार्ने कुटिल खेल ‘विषवृक्ष’ हुनु अगावै सङ्घीयता खारेजी र भ्रष्टाचार अन्त्यको महाअभियानलाई सर्वसाधारण जनतासम्म लिएर जाने स्वदेशी अभियान जनताको नजरमा बाध्यात्मक हुन पुगेको छ ।

ग्रिक शब्द ‘डेमोस’बाट उत्पत्ति भएको अङ्ग्रेजी शब्द डेमोक्रेसीको अर्थ ‘जनताको शासन’ हो । अब्राहम लिङ्कनले ‘जनताद्वारा जनतालाई जनताले’ भन्ने विश्वविख्यात भनाइले पनि प्रजातन्त्रको व्याख्या गर्छ । प्रजातन्त्रबाट लोकतन्त्रसम्मको रोमाञ्चक यात्रा पार गरेका मुलुकवासीलाई बुझाइएको लोकतन्त्र भनेको सबैभन्दा कमजोर व्यक्तिलाई त्यत्तिकै अवसर मिल्छ जति ताकतवर व्यक्तिलाई … ‘हाम्रो राजनीतिक नेतृत्वले विगतमा प्रचार गरेको लोकतान्त्रिक परिभाषा उनीहरूको तत्कालीन अवस्था हेर्दै बनाएको पुष्टि भएको छ । जब उनीहरू अत्यन्त कमजोर थिए । परिभाषा यस्तो बनाए । ताकतवरको जत्तिकै अवसर मिल्छ । अवसरपश्चात् उनीहरू यति ताकतवर बने कि अब पुरानै परिभाषामा फर्किन हतारिँदै छन् ।

०४६ को राजनीतिक परिवर्तनपश्चात् सामान्य आर्थिक हैसियत भएकाहरू सिंहदरबार पुग्न सफल भए । झोले, चप्पलेहरू प्रजातन्त्रदेखि लोकतन्त्रसम्म आइपुग्दा नवसामन्त बनेर उदाए । जापानका एक व्यापारीले ‘मेरो साँवाको बारेमा कुनै सवाल नगरियोस्, अन्य तरक्कीको सबै हिसाब बुझाउन तयार छु’ भनेजस्तै अवस्था हाम्रो राजनीतिजीवीहरूको छ ।

०४६ को राजनीतिक परिवर्तनपश्चात् सामान्य आर्थिक हैसियत भएका किसान, मजदुर, शिक्षक, कमैया, महिलासमेत सिंहदरबार पुग्न सफल भए । तिनै झोले, चप्पलेहरू प्रजातन्त्रदेखि लोकतन्त्रसम्म आइपुग्दा नवसामन्त बनेर उदाए । जापानका एक व्यापारीले ‘मेरो साँवाको बारेमा कुनै सवाल नगरियोस्, अन्य तरक्कीको सबै हिसाब बुझाउन तयार छु’ भनेजस्तै अवस्था हाम्रो राजनीतिजीवीहरूको छ । धनी र गरिबको बीच अत्यन्त ठूलो खाडल रहेको भारतीय लोकतन्त्रमा एसोसिएसन फर डेमोक्रेटिक रिफर्मको रिपोर्टअनुसार सन् २०१४ को भारतीय लोकसभाका कुल ५४३ सांसदमध्ये ४५० सांसद, अर्थात् लगभग ८३ प्रतिशत सांसद करोडपति थिए । दक्षिणको लोकतन्त्रलाई व्यङ्ग्य गर्दै राजनीतिमा जमेका विगतका झोले–चपप्लेहरू भ्रष्टाचारको जगमा करोडपति बन्दै लोकतन्त्रको जरा, हाँगाबिँगा मक्काउन सफल भएका छन् । विचार र सिद्धान्तमा खिया लाग्दा दलाल, बिचौलिया र धनाढ्यहरू मित्र, आफन्त र सहयोगी मान्ने पछिल्लो स्थिति लोकतन्त्रको निम्ति अभिसाप बन्दै छ ।

राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गर्दै स्थान जमाएको लोकतन्त्रमा सत्य, न्याय, विचार, सिद्धान्त, विधि, प्रक्रिया, नियमजस्ता कुरा आउटडेटेड भइसकेको छ । मन्त्री, प्रधानमन्त्री बन्नको निम्ति नागरिक समाज नजन्मिएको, तर राजनीतिको आवरणमा मुलुक र जनतामाथि सङ्कट निम्त्याउनेहरूको निम्ति कडा प्रहार गर्न तयार स्वतस्फूर्त अभियान राजनीतिक नेतृत्वको अपारदर्शी, अनुत्तरदायी क्रियाकलाप र सत्ताकेन्द्रित राजनीतिको कारण हो भन्नु सटिक हुनेछ । विगतदेखि वर्तमानसम्म भएका तमाम नकारात्मक कुराप्रति खबरदारी गर्नुको मतलब लोकतन्त्रलाई बिदा गर्न नभई लोकतन्त्रलाई साँचो अर्थमा मजबुत गर्नु हो भन्ने बुझ्नु सान्दर्भिक हुनेछ । नागरिक समाज आफैँ राजनीति गर्दैन, तर राजनीतिले थुपारेको कुँडाकर्कट हटाउन दबाब दिन भने अवश्य सक्छ । सरकार र मिडियाकर्मीको सोचमा पारदर्शिता एक अनिवार्य विषय हुनुपर्ने हो, तर लोकतन्त्रमा बनेको सरकार आफ्नो पक्षमा समाचार कुरेर बस्दै छ । दुनियाँमा अभ्यासरत लोकतन्त्रमा सरकारको सही मूल्याङ्कन तब गर्न सकिन्छ जब मिडिया स्वतन्त्र रहन्छ । यदि मिडिया स्वतन्त्र छैन भने तपाईं कुन आधारमा मूल्याङ्कन गर्नुहुन्छ । बिनासूचना र सवालको लोकतन्त्रमा नागरिकको अस्तित्व रहन सक्दैन ।

विश्व राजनीतिमा नौटङ्कीवाजहरूको बोलवाला छ । राजनीतिक नेतृत्वको लोभ र असक्षमताको कारण लोकतन्त्र रक्षात्मक बन्न विवश छ । मुलुकसामु उपलब्ध तथ्य–तथ्याङ्कहरूले राजनीतिजीवीहरूको तर्कलाई स्वीकार गर्ने इजाजत दिँदैन । मुलुकको दीर्घकालीन स्वास्थ्यमा गम्भीर धक्का पुऱ्याउने राजनीतिप्रति जनताको भरोसा उडेको छ । नाथुराम गोड्से खास विचारधाराबाट अत्यन्त प्रभावित थिए । गोड्से देशको पूजा गर्दथे । उनी माटोलाई आमा मान्दथे । आमाको विभाजन बिल्कुल स्वीकार थिएन । गोड्सेलाई लाग्थ्यो– भारत विभाजनको कारण गान्धी हुन् । उनले पेस्तोल किने । गुरुलाई सम्झे । गान्धीलाई गोली ठोके । मृत्युपछि गान्धीको फोटोले प्रधानमन्त्री कार्यालयदेखि भारतीय मुद्रासम्म स्थान जमायो । तर, उनकै हत्या गर्ने नाथुराम गोड्सेलाई राष्ट्रवादी र देशभक्त देख्नेहरू भारतीय लोकतन्त्रमा जमेका छन् । सुसंस्कृत राजनीतिले हत्या र हिंसालाई स्वीकार गर्दैन । तर, विचारधाराको राजनीतिले हिंसा र हत्यालाई जायज मानेको मानै छ । नेपाली राजनीति ‘गोड्सेपथ’भन्दा धेरै टाढा रहेको फेला पर्दैन ।

लोकतन्त्र र मुलुक जोगाउन कम्तीमा ‘नेपाली’ बन्नुपर्ने आवाज मुखरित भएको छ । पश्चिम, उत्तर वा दक्षिणले मुलुक बनाइदिन्छ भन्ने भ्रमबाट मुक्त तमाम राष्ट्रप्रेमी नेपालीले नेपालीपन र माटोको वकालत गर्नैपर्छ ।

असङ्ख्य सपना देखाउँदै सम्पन्न गरिएका राजनीतिक आन्दोलनपछि मुलुकवासी अनेक नाममा ठगिएका छन् । राज्य हुने क्रममा इतिहासमा गरिएका अनेकौँ सुकर्मबाट निर्माण गरिएका भाषा, धर्म, संस्था, परम्परा र संस्कृतिलाई फगत कुर्सीको निम्ति त्याग्ने दुर्भाग्यपूर्ण राजनीति मुलुकमा हावी हुन पुग्दा राज्यका स्रोत र साधन लुट्नेहरूको निम्ति मात्र लोकतन्त्र आएको छ । कर्मचारीको तलब र साधारणतर्फको खर्च तुरुन्तै सकिने मुलुकलाई दीर्घकालसम्म सकारात्मक प्रभाव पार्ने पुँजीगत खर्च जेठ र असार महिनामा सक्ने दीर्घरोग गणतान्त्रिक लोकतन्त्रमा पनि बिदा हुन मान्दैन ।

मुलुकमा नयाँ उद्योग नखुल्ने र खुलेका जतिले राज्यलाई कर तिर्नभन्दा राजनीतिलाई तिर्न रुचाउने, एनसेल काण्ड अदालतदेखि सडकसम्मले बुझ्न भ्याइसकेको छ । मुलुकको अर्थतन्त्रको सट्टा शीर्ष राजनीतिक नेतृत्वको खल्ती भरिदिने कर्मचारी र व्यापारीको मोहजालमा रुमल्लिएको लोकतन्त्रले वर्गीय राजनीति बिर्सँदै नयाँ वर्ग जन्माउन सफलता पाएको छ । न्यायिक निकाय, संवैधानिक निकाय र राज्यका महत्वपूर्ण व्यक्ति र संस्थालाई निकम्मा बनाउने ‘ब्रिफकेस राजनीति’ गणतन्त्रात्मक लोकतन्त्रमा अभिन्न अङ्ग बनाउन सफल अदृश्य शक्तिको कारण लोकतन्त्रको उचाइ घटेको राजनीतिक नेतृत्व बुझ्न चाहँदैन ।

जनताको राजनीतिप्रतिको भरोसा उडेको, मुलुकभित्रका सम्पूर्ण संस्थाहरू निकम्मा बनाइसकिएको, भ्रष्टाचारको कारण मुलुकको आर्थिक अवस्था चकनाचुर पारिएको अवस्थामा उत्तर–दक्षिणको राजनीतिक संवेदनालाई बेवास्ता गर्दै खुला रूपमा बढाइएका मदरसा र चर्चहरूको कारण ९४ प्रतिशत ॐकार परिवारलाई उत्तेजित पार्ने काम गरिँदै छ । पर्दापछाडि बस्दै रणनीतिक गडबडी मच्चाउने र शान्तिको नाममा अनेकौँ सम्झौता गर्न बाध्य पार्ने राजनीति थप हाबी हुन नदिने सोचका साथ जनताको अभियान मातृभूमिको लागि नेपाली खुला रूपले मैदानमा आएको छ ।

रणनीतिक ढङ्गले जनतालाई कम्युनिस्ट, काङ्ग्रेस, पञ्च, मधेसी, जनजातिलगायत अनेक नाममा विभाजन गर्न सफल अदृश्य शक्तिको कारण मुलुकमा सबै भेटिने, तर जनता नभेटिने विचित्रको अवस्था निर्माणपछि ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना बाँडिएको छ । यस्तो अवस्थामा लोकतन्त्र र मुलुक जोगाउन कम्तीमा ‘नेपाली’ बन्नुपर्ने आवाज मुखरित भएको छ । पश्चिम, उत्तर वा दक्षिणले मुलुक बनाइदिन्छ भन्ने भ्रमबाट मुक्त तमाम राष्ट्रप्रेमी नेपालीले नेपालीपन र माटोको वकालत गर्नैपर्छ । यही उद्घोषको साथ नेपाली माटोमा जन्मिएको मातृभूमिको लागि नेपाली अभियान सच्चा राष्ट्रभक्तहरूको मनमन्दिरमा बस्न सक्नुपर्छ ।

प्रतिक्रिया