राष्ट्रपति कसको ?

राष्ट्रपति कसको ?


■ बबिता बस्नेत

व्यावसायिक जीवनका धेरै वर्ष बितेर गए । काम गर्दै जाँदा धेरै कुरा देखियो, भोगियो । एकल महिलाको छहारीको रूपमा तीन सयजनासम्म बस्न सक्ने भवनको उद्घाटन मेरो लागि लिली थापा र उनको समूहले गरेको आँखैअगाडिको उपलब्धि थियो जुन यही ०७६ जेठ ११ गते राजधानीको बुढानीलकण्ठमा गरिएको थियो । नक्सालको सानो कोठामा करिब आफ्नै उमेरका विधवा महिला जम्मा भएर दुःखसुख साट्दाको एकदिने साक्षी बन्दा त्यतिबेला म निकै ‘डिस्टर्व’ भएकी थिएँ । भवन त भौतिक सफलता मात्रै हो, यसबीचमा एकल महिलाका सम्बन्धमा हेर्ने दृष्टिकोणदेखि गर्ने व्यवहारसम्ममा ठूलो परिवर्तन आएको छ, जुन वास्तविक सफलता हो । कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने निम्ता पाउँदा झनै खुसी लाग्यो । देशको सर्वोच्च पदमा पुगे पनि एकल हुनुको खालीपनबाट गुज्रिने लाखौँ महिलामा उहाँ पनि पर्नुहुन्छ । जिन्दगीमा पद, प्रतिष्ठा, नाम, मान–सम्मान र आफ्नोपनको अनुभूति फरक कुरा हुन् ।

बिहान ११ बजे राष्ट्रपति आउने तालिकाअनुरूप ९ः३० मा अतिथिहरू बोलाइएको थियो । विभिन्न जिल्लाबाट एकल महिला आएका थिए । अतिथिमा विभिन्न सङ्घसंस्था, राजदूतावास, सुरक्षा क्षेत्र, मिडियालगायतका प्रतिनिधि थिए । अतिथिहरू कुर्सीमा बसेर करिब एक घन्टादेखि राष्ट्रपति आगमनको प्रतीक्षा गरिरहेका थिए । त्यसैबीच गेटजस्तो मानिस छिर्ने ढोका लिएर नेपाली सेनाका अधिकारी आएको देखियो । उनीहरूले ढोका सेट गरुञ्जेलसम्म राष्ट्रपतिका लागि स्वागतद्वार पनि सेनाले नै लिएर आउँदो रहेछ हगि भन्दै हामी कुरा गरिरहेका थियौँ । एकछिनपछि त बसेका अतिथिलाई धमाधम उठाएर बाहिर जान भनियो । बाहिर गएर उक्त ढोका हुँदै फेरि भित्र पस्नुपर्ने, त्यो त सुरक्षाजाँच द्वार पो रहेछ ।

देशको सर्वोच्च पदमा पुगे पनि एकल हुनुको खालीपनबाट गुज्रिने लाखौँ महिलामा उहाँ पनि पर्नुहुन्छ । जिन्दगीमा पद, प्रतिष्ठा, नाम, मान–सम्मान र आफ्नोपनको अनुभूति फरक कुरा हुन् ।

बसिसकेका मानिसलाई उठाउँदा वातावरण कस्तो भयो होला, अन्दाज गर्न सकिन्छ । कसैले सुरक्षाकर्मीमध्येकै एकलाई भने– अहिले तपाईंहरूको व्यवहारका कारण यहाँ आएका अतिथि सबै फर्किए भने के हुन्छ ? सुरक्षाकर्मीसँग ‘तपाईंका राष्ट्रपति’ भनेर त धेरैले भने । यो पङ्क्तिकारले पनि तपाईंहरूको यस्तो व्यवहारले राष्ट्रपतिप्रतिको नागरिकको आदर बढ्ला कि घट्ला ? भनी प्रश्न गरेँ । त्यसअघि विभिन्न जिल्लाका एकल महिलाको सीपलाई बजारीकरण गर्नका लागि राखिएका स्टलमा महिलालाई ‘तपाईंहरू गइहाल्नुहुन्छ कि बाहिर निकालुँ’ भन्ने शैलीमा बाहिर पठाएर सुरक्षा जाँच गरिएको थियो । बाहिर र भित्र दुवै स्थानको दृश्य हेर्ने र परिस्थिति भोग्ने जोकोहीलाई राष्ट्रपति आउने कार्यक्रममा त के जानु है…बेकार… ह्युमिलिएसन खप्न…भन्ने लाग्नु स्वाभाविक थियो ।

‘यसअघि रामवरण यादव राष्ट्रपति हुँदा पनि कति कार्यक्रमहरूमा गइयो, खै यस्तो गरेको त थाहा छैन’ भन्नेहरूको सङ्ख्या ठूलो थियो । पूर्वमन्त्री कल्पना धमला भित्र पस्न मेसिने ढोकामा लाइन लाग्दै गर्दा कसैले भनेको सुनियो, ‘तपाईंहरूलाई नै चाहिएको थियो यस्तो व्यवस्था, ल अब गणतन्त्रको उपभोग गर्नुस् ।’ कतिले चाहिँ राष्ट्रपति हाम्रो पनि हो भनेको त तपाईंहरूको मात्रै रहेछ पनि भनेको सुनियो । सुरक्षाकर्मीको यसो गर्नुस् र त्यसो नगर्नुस्बाट बनेको चिडचिडाहटपूर्ण माहोलबारे बेखबर राष्ट्रपति विद्यादेवी भण्डारी शान्त मुद्रामा आउनु भो । अलिकति अगाडिसम्म आतङ्कित वातावरण फरक बन्यो । उहाँ ड्यासमा बसिरहँदा लाग्यो– खासमा हामीले वर्षौंदेखि खोजिरहेको त यही नै त हो, मुलुकको सर्वोच्च स्थानमा महिला राष्ट्रप्रमुख । विगतमा पनि यस्ता घटना कति भए होलान्, उहाँलाई के थाहा भयो होला र ? जस्तो लाग्यो ।

सुरक्षाकर्मीको यसो गर्नुस् र त्यसो नगर्नुस्बाट बनेको चिडचिडाहटपूर्ण माहोलबारे बेखबर राष्ट्रपति विद्यादेवी भण्डारी शान्त मुद्रामा आउनु भो । अलिकति अगाडिसम्म आतङ्कित वातावरण फरक बन्यो ।

खासमा राष्ट्रपतिमाथि अहिलेसम्म जे–जे आरोप लागेका छन्, ती राष्ट्रपति स्वयम्का कारणले हुन् भन्ने कुरा कतैबाट पनि पुष्टि हुन सकेको छैन । हेलिकोप्टर खरिददेखि सडक जाम हुँदै एयरपोर्टमा प्लेन उड्न नदिने र आकाशमा प्लेन होल्ड गर्नेसम्मका कार्य उहाँलाई थाहा दिएर गरिन्छन् जस्तो लाग्दैन । सुरक्षाका नाममा गरिने व्यवहारले सुरक्षाकर्मीको होइन राष्ट्रपतिको सम्मानमा आँच आइरहेको छ । जुन विषयमा राष्ट्रपति स्वयम्ले सुरक्षा संयन्त्रसँग बसेर यसप्रकारको समस्याको समाधान खोज्नु उपयुक्त हुन्छ ।

बूढानीलकण्ठ घटना सानो उदाहरण मात्रै हो । खेलकुद उद्घाटनका लागि राष्ट्रपति नेपालगन्ज जाँदै गर्दा यो पङ्क्तिकार संयोगले सोही समयमा कर्णाली चिसापानी जाँदै थिएँ । राष्ट्रपति नेपालगन्ज जाने रे, प्लेन कति बेला उड्ने हो भनेर एयरपोर्टमा एकप्रकारको आतङ्क नै थियो । सोचेँ, राष्ट्रपति आउने भनेर त मानिसको मनमा खुसी र हर्षोल्लास पो हुनुपथ्र्यो । नरमाइलो लाग्यो, कतिलाई त भनेँ पनि घटनै नभई किन अन्दाज गर्नुहुन्छ ? तर, परिणाम अन्दाज गर्नेहरूले भनेजस्तै भयो, यात्रुलाई दुई घन्टासम्म प्लेनभित्र राखियो । एयरपोर्टमै बस्न पाएको भए, हावा त खान पाइन्थ्यो । यस्ता कुराहरू राष्ट्रपतिसमक्ष पुऱ्याउने कसले ? हामीकहाँ सहीलाई सही गलतलाई गलत भन्ने मानिसको कमी छ । राष्ट्रपतिका वरिपरि भएकाहरूले सबै ठीक छ हजुर, राम्रो, गज्जब भइरा छ भन्दा हुन्, पहिला राजालाई निकटवर्तीहरूले ब्रिफ गरेजस्तै ।

सुरक्षा संयन्त्रले राष्ट्रपतिलाई नागरिक या जनताको राष्ट्रपति नभई खोपीको देवताझैँ बनाइदिँदा राष्ट्रपतिप्रति सर्वसाधारणको धारणा फरक बन्दै गएको छ । सुरक्षा संयन्त्रले राजा र राष्ट्रपतिबीचको फरक नबुझिदिँदाको असर सुरक्षा संयन्त्रलाई होइन राष्ट्रपतिमाथि परिरहेको छ ।

जामहरू पहिला पनि हुन्थे । पूर्वराष्ट्रपति रामवरण यादव चीन भ्रमणमा जाँदै गर्दा जस्तो लाग्छ, जाममा अति भएपछि उहाँका तत्कालीन मिडिया सल्लाहकार राजेन्द्र दाहाललाई एसएमएस लेखेर फ्रस्ट्रेसन मेटेको सम्झना छ । त्यतिबेलाका राष्ट्रपतिका सल्लाहकारहरू उहाँको छविलाई लिएर सचेत थिए भन्ने लाग्छ । राष्ट्रपतिका बारेमा केही कुरा सार्वजनिक रूपमा आए तत्काल सच्याउने कोसिस गरिन्थ्यो भन्ने कुरा सुन्नमा आएको हो । अहिले त केही भन्नुपर्ने भए कसलाई भन्ने हो जानकारी पनि छैन ।

गत शनिबारसम्म ‘के हाम्रो देशमा भीभीआईपीलाई यति ठूलो सुरक्षा खतरा छ त ?’ भनी मनमा उठेको प्रश्नलाई भोलिपल्टै आइतबारका बम विस्फोटका घटनाहरूले ‘खतरा त छ’ भन्ने जवाफ दिएको छ । भीभीआईपी जाने ठाउँमा सुरक्षाका लागि मेसिनेढोका राख्नुपरे अतिथि आउँदै गर्दा सुरुमै राखे खासै वास्ता हुँदैन जति बसिसकेपछि उठाउँदा हुन्छ । सुरक्षा संयन्त्रले राष्ट्रपतिलाई नागरिक या जनताको राष्ट्रपति नभई खोपीको देवताझैँ बनाइदिँदा राष्ट्रपतिप्रति सर्वसाधारणको धारणा फरक बन्दै गएको छ । सुरक्षा संयन्त्रले राजा र राष्ट्रपतिबीचको फरक नबुझिदिँदाको असर सुरक्षा संयन्त्रलाई होइन राष्ट्रपतिमाथि परिरहेको छ ।

राष्ट्रपति सुरक्षा क्षेत्रको मात्र होइन, जनताको हो, आएको पनि जनताबाटै हो र भोलि जाने पनि जनतामाझ नै हो । त्यसैले सुरक्षा संयन्त्रको व्यवहारका कारण राष्ट्रपति पद या राष्ट्रपतिका रूपमा विद्या भण्डारीमाथि नागरिकले हेर्ने दृष्टिकोणमा दूरी बढ्दै जानुअघि राष्ट्रपतिले सुरक्षा संयन्त्रलाई गम्भीर सरोकारसहित निर्देशन दिनु आवश्यक देखिन्छ ।