उत्तर कोरियामा खडेरी र भोक

उत्तर कोरियामा खडेरी र भोक


■ मनोज रिजाल, न्युयोर्क

गत मे ३, २०१९ मा संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामा खाद्य सुरक्षासम्बन्धी एक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गऱ्यो, जसमा बाँकी विश्वबाट अलग्गिएको यस एकदलीय साम्यवादी मुलुकमा खाद्य सङ्कट चरम अवस्थामा रहेको र एक करोडभन्दा बढी उत्तर कोरियाली जनता खाद्यान्नको नितान्त अभावबाट गुज्रिरहेको तथ्य बाहिर ल्यायो ।
उक्त प्रतिवेदन सार्वजनिक भएको ठीक एक दिनपछि उत्तर कोरियाली सत्ताले जनताका भोका पेटका आवाज नसुनीकन रुसको ‘इस्कन्दर’ मिसाइलसँग ठ्याक्कै मिल्ने असाध्यै महँगो मिसाइल परीक्षण गऱ्यो ।

उत्तर कोरियाले जुन पैसा ‘इस्कन्दर’को प्रतिरूप मिसाइलको विकास गर्न खर्च ग¥यो, अथवा जुन अथाह पैसा मिसाइल प्रविधि खरिद गर्न र विकसित गर्न नियमित रूपमा खर्च गर्छ, त्यो पैसा वास्तवमा यसका भोका जनतालाई भरपेट खाना खुवाउन सक्ने अवस्थाको विकास गर्नमा खर्च गर्न सक्थ्यो ।

अझै पनि यसका आधाभन्दा बढी जनसङ्ख्याले राम्ररी खाना खान पाउँदैनन् र भोकै रहन्छन् । उत्तर कोरियाली जनता वास्तवमा राष्ट्रिय सुरक्षा र आत्मरक्षाका नाममा दशकौँदेखि भोकभोकै रहन बाध्य पारिएका छन् ।

सन् १९४० को दशकमा उत्तर र दक्षिण कोरियाको विकासको स्तर उस्तै नै थियो । एउटै भाषा बोल्ने यी दुई देशको विकासको स्तरमा अहिले आकास–जमिनको फरक छ । सन् १९४० को दशकमा चीन र ताइवानको विकासको स्तर पनि उत्तर कोरियाकै जति थियो । त्यस समय जापान अलिकति बढी विकसित थियो, तर अहिले दक्षिण कोरिया, चीन र जापानको विकासको स्तर लगभग उस्तै नै छ ।

दक्षिण कोरिया, जापान र ताइवानमा भोक र खाद्यान्नको अभाव एक इतिहास बनिसकेको छ भने चीनले भोक र गरिबीलाई द्रुततर आर्थिक विकास र सम्पन्नताको माध्यमबाट एक न्यूनतम र बेअसर बिन्दुमा झारिसकेको छ ।

यस सन्दर्भमा आफ्ना एसियाली छिमेकीहरूको तुलनामा कुन धरातलमा उभिएको छ त उत्तर कोरिया भन्ने प्रश्न जाग्नु स्वाभाविक भएर आउँछ । अहिलेको वर्तमान समयमा उत्तर कोरियाप्रति व्यक्ति आय, आर्थिक वृद्धि, अर्थतन्त्रको आकार र जनताको जीवनस्तर आदि हरेक दृष्टिकोणबाट अति कम विकसित राष्ट्रहरूको श्रेणीमा पर्छ ।

जनतामाथि प्रतिबन्ध नै प्रतिबन्ध थोपरिएको यस देशबाट बेलाबेलामा जनताका कारुणिक जीवन र समस्यामा आधारित समाचारहरू बाह्य जगत्मा चुहिने गर्छन् । जसअनुसार जनता आफ्नो गाउँ वा बस्तीबाट अन्यत्र कुनै सानो कामका लागि जानुप¥यो भने पनि अधिकारीहरूको अग्रिम अनुमति नलिईकन त्यसो गर्न सक्दैनन् । जनताले आफूलाई इच्छा लागेको अन्नपात उमार्न र खान पाउँदैनन् । न त राज्यले भरपेट खान नै दिन्छ । यस्तो निस्सासिने अवस्थामा जनतासँग भोकभोकै मर्नुसिवाय अरू विकल्पसमेत रहँदैन ।

कहिलेकाहीँ उनीहरू ठुल्ठूला चउर वा कमसेकम केही मात्रामा भए पनि हरियो–परियो भएको ठाउँ खोज्दै नजिकैका सहरमा आइपुग्छन्, जहाँ उनीहरू चउरबाट घाँस उखेल्दै गरेको दृश्य देख्न सकिन्छ । त्यो घाँस गाईवस्तुको निम्ति नभईकन उनीहरू आफैँले खानको निम्ति उखेलिरहेका हुन्छन् ।

उत्तर कोरियाले दक्षिण कोरियालाई आफ्नो सबैभन्दा ठूलो दुश्मन ठान्छ । तर, त्यही दक्षिण कोरियाले उत्तर कोरियाली जनताको भोकभोकै बस्नुपर्ने अवस्था र दुःख देख्न नसकेर ८ मिलियन अमेरिकी डलरबराबरको आपत्कालीन सहयोग उत्तर कोरियामा छिट्टै नै पठाउने चाँजोपाँजो मिलाउँदै छ । उक्त खाद्यान्नसहितको सहयोग संयुक्त राष्ट्र सङ्घमार्फत परिचालित गरिनेछ र सर्वप्रथम बालबालिका र गर्भवती महिलाले प्राप्त गर्ने गरी वितरण गरिनेछ ।

संयुक्त राष्ट्रसङ्घको भूमिकाको सन्दर्भमा, यस विश्व निकायले उत्तर कोरियाको खाद्यान्न सङ्कटबारे आफ्ना सदस्यराष्ट्रहरूलाई अवगत गराउने कार्य अघि बढाएको छ र सहयोगको लागि ध्यानाकर्षणसमेत गराएको छ ।

‘उत्तर कोरियाको खाद्यान्न सङ्कटबारे भन्नुपर्दा यस देशमा पोषक खाद्यान्न वस्तुको विविधताको अभाव प्रस्ट देखिन्छ र यो नै चिन्ताको मुख्य विषय हो । यो समस्या बालबालिका, गर्भवती महिला वा स्तनपान गराउने आमाहरूमा विकराल रूपमा देखापरेको छ । यही समूह नै कुपोषणको अत्यधिक सिकारसमेत हुने गर्छ,’ संयुक्त राष्ट्र सङ्घले आफ्नो एक वक्तव्यमा भनेको छ ।

सारा संसार उत्तर कोरियाको यस मानवीय सङ्कटप्रति चिन्तित रहेको अवस्थामा उत्तर कोरियाको शासक वर्गमा भने आफ्नै जनताले भोग्नु परिरहेको यस भयावह सङ्कटको अलिकति पनि असर परेको देखिँदैन ।

उत्तर कोरियाली सत्ता संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय समुदायसँगको आफ्नो आणविक कार्यक्रम बन्द गराउनेसम्बन्धी संवादमा ‘आपसी विश्वास निर्माण’ (कन्फिडेन्स बिल्डिङ) गर्नुपर्ने तथ्यमा जोड दिन्छ, तर यस देशले लगभग नियमितजस्तो रूपमा गर्ने मिसाइल परीक्षणले आपसी विश्वास निर्माण गर्नेतर्फ कुनै योगदान पुऱ्याउनेछैन ।
अहिलेको अवस्थामा उत्तर कोरियाली सत्ताको मुख्य चासो भनेको अमेरिकाले प्रशान्त महासागरबाट अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लङ्घन गरेबापत कब्जामा लिएको उत्तर कोरियाली कार्गो पानीजहाज ‘वाइज अनेस्ट’ (बुद्धिमान इमानदार) फिर्ता लिनु नै रहेको देखिन्छ ।

गत मे २१ मा संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली राजदूत किम सोङले एक विरलै आयोजना गर्ने पत्रकार सम्मेलन आयोजना गरी उक्त पानीजहाज कब्जामा लिने कार्य संयुक्त राष्ट्रसङ्घका र अन्य अन्तर्राष्ट्रिय सन्धि एवम् कानुनहरूको उल्लङ्घन भएको दाबी गरे । सोङले आफ्नो भनाइ राखे, पत्रकारहरूलाई प्रश्न सोध्न लगाए, तर कुनै पनि प्रश्नको उत्तर भने दिएनन् ।

यस सन्दर्भमा, उत्तर कोरियाले यो तथ्य बुझ्नुुपर्छ कि उक्त पानीजहाज कब्जामा लिने कार्य वास्तवमा आणविक निरस्त्रीकरणसम्बन्धी वार्ताबाट उत्तर कोरियाको ध्यान अन्यत्र मोडिनु एवम् मिसाइल परीक्षण नगर्ने भनिए तापनि फेरि उक्त कार्यमा संलग्न भएबापत गरिएको थियो । उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू कायम रहेको अवस्थामा उक्त पानीजहाज लुकीचोरी उत्तर कोरियाले आफ्नो देशसम्म लैजान खोज्ने जुन दुस्साहस गऱ्यो, पानीजहाज कब्जामा लिनुपर्ने त्यो प्रमुख कारण त त्यसै पनि छर्लङ्ग नै थियो ।

यस परिप्रेक्ष्यमा, यदि उत्तर कोरिया ‘आपसी विश्वास निर्माण’ गर्नुपर्ने तथ्यमा गम्भीर छ भने एक ‘बुद्धिमतापूर्ण र इमानदार’ शुरुवात गर्ने पहिलो दायित्व उत्तर कोरियाको नै हो । यसको लागि सर्वप्रथम उत्तर कोरियाले आफ्ना सम्पूर्ण मिसाइल परीक्षण कार्य र चलखेलहरू बन्द गर्नुपर्छ, ता कि शान्तिवार्ताका लागि एक सकारात्मक वातावरणको निर्माण हुन सकोस् ।

साथै, कोरियाली प्रायद्वीपमा यदि कोरियाली युद्घ (सन् १९५०–५३) पूर्वको अवस्थाकै शान्ति कायम गर्ने हो भने, संलग्न सबै पक्षहरू यसमा गम्भीर बन्नुपर्ने एवम् एक निश्चित र स्पष्ट लक्ष्यका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

अहिलेका लागि यदि उत्तर कोरियाले शान्तिप्रक्रियाप्रति गम्भीर प्रतिबद्घता जनाउँछ र शान्ति प्रक्रियासम्बन्धी एक निश्चित मार्गचित्र बनाउन उत्कट इच्छा व्यक्त गर्छ भने उत्तर कोरियाले अवश्य पनि आफ्नो कार्गो पानीजहाज फिर्ता पाउनेछ र उत्तर कोरियामाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरूसमेत खुकुला हुँदै आउनेछन् ।

शान्ति कायम हुने वातावरणको सिर्जना भयो भने उत्तर कोरियाले जुन पैसा मिसाइल प्रविधि खरिद गर्न, विकास गर्न र परीक्षण गर्न पानीजस्तै बगाउँछ, त्यही पैसा आफ्ना भोका–नाङ्गा जनताको जीविकोपार्जनका मार्गहरू प्रशस्त पार्नका निम्ति खर्च गर्न सक्नेछ ।

तर, उत्तर कोरियाले शान्तिप्रतिका यस्ता प्रतिवद्धता वा इच्छाहरू वास्तविक प्रयोजनको लागि नै व्यक्त गरेको हुनुपर्छ र सार्वजनिक खपतको लागि भने बोलेको हुनुहुँदैन । यति भएमा मालसामान बोकेको ‘बुद्धिमान इमानदार’ पानीजहाज उत्तर कोरिया पुग्न दुई दिन पनि लाग्ने छैन ।