गोर्खा-मुद्दामा चलखेल गर्ने ‘दिदी’ यसरी भइन् परास्त

गोर्खा-मुद्दामा चलखेल गर्ने ‘दिदी’ यसरी भइन् परास्त


■ भरत कोइराला

अन्ततः दार्जिलिङका नेपालभाषी नागरिकलाई राजनीतिक रूपमा तहसनहस पारी आफ्नो प्रभुत्व जमाउने ‘ममता दिदी’को (मुख्यमन्त्री बंगाल, भारत) सपना चकनाचुर भएको छ । दार्जिलिङका सुप्रिमो सुभाष घिसिङको निधनपछि गोर्खाल्यान्ड आन्दोलनलाई उचाइमा पुऱ्याउन झन्डै त्यस्तैप्रकारले उदाएका विमल गुरुङको नेतृत्वलाई नामेट बनाई भूमिगत हुन बाध्य बनाएकी ‘दिदी’ले दार्जिलिङको लोकसभा र विधान सभाको दुवै सिट नराम्ररी गुमाउन पुगेकी छिन् । सत्तारुढ बीजेपीले उम्मेदवार बनाएका लोकसभाका लागि राजु विष्ट (मणिपुरका नेपाली) र विधान सभाका लागि स्थानीय नीरज जिम्बा भारी मतले विजयी भएका छन् ।

उनीहरूका विरुद्ध ‘दिदी’ले लोकसभाका लागि अमरसिंह राई र विधान सभाका लागि विनय तामाङलाई उम्मेदवार बनाएकी थिइन् । स्मरणीय छ, दार्जिलिङ चुनाव क्षेत्रबाट विधान सभा सदस्य रहेका स्थानीय अमरसिंह राईलाई लोकसभामा लडाएपछि खाली भएको सिटमा विनय तामाङलाई ममताले उम्मेदवार बनाएकी थिइन् ।

बंगालमा पक्ष–विपक्ष प्रायः सबैले मुख्यमन्त्री ममता बनर्जी ‘ममतादिदी’ भन्ने गरेका छन् । स्वयम् प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो भाषणमा ‘ममता दिदी’ नै भनेर सम्बोधन गरेको सुनिन्छ । गोर्खाल्यान्ड आन्दोलनका लागि प्रायः एक ढिक्काझैँ हुन पुगेका नेपालीलाई फुटाउने राई, लिम्बू, लेप्चा, शेर्पाजस्ता जातजातिका समूहलाई विभाजन गरी जातीय उत्थानका नाममा समूह गठन गराई ‘दिदी’ले गोर्खाहरूको मुद्दालाई धराशायी पार्न करोडौँ रकम खर्च गरेकी थिइन् । आयमूलक वा राम्रो आयस्रोत नभएका नेपालीहरू मख्ख पर्दै समूह गठनतर्फ अग्रसर भएका थिए । पटक–पटक भएको गोर्खाल्यान्ड आन्दोलन उचाइमा पुग्न नपाउँदै सुभाष घिसिङले दार्जिलिङ ‘गोर्खा पार्वत्य परिषद्’ लिएर त्यसको सुप्रिमो भएर काम गरेझैँ अहिलेका नेता विमल गुरुङले पनि आन्दोलन उचाइमा नपुग्दै ‘गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्टेसन’ (जीटीए) गठन भई त्यसको सुप्रिमो भएर काम गर्दै थिए । गुरुङ ‘दिदी’का भक्त हुन सकेका थिएनन् ।

ममताले शक्ति र पैसाको आडमा जीटीएभित्र चलखेल गरेकी थिइन् । गुरुङलाई भए–नभएका मुद्दा लगाई निकाल्ने षड्यन्त्रस्वरूप गुरुङका सहयोगी विनय तामाङलाई नेतृत्वमा पुऱ्याई आफ्नो राजनीतिक दुनो सोझ्याउन उनी सफल भएकी थिइन् । तिनै तामाङ विधान सभा उम्मेदवार हुन पुगेका थिए, तर गुरुङमाथि तामाङ र ममता मिलेर गरेको षड्यन्त्रको परिणाम दार्जिलिङवासीले यसपटकको निर्वाचनमा देखाइदिए । चुनाव परिमाणपछि भूमिगत रहेका विमल गुरुङले भनेका छन्, ‘दार्जिलिङ पहाडमा तानाशाहीको राजनीति चलिरहेको थियो, त्यसलाई पराजित गर्दै यो जित डेढ करोड गोर्खाहरूको हो । सत्यको जित हो । वीर शहीदहरूको आवाजको जित हो । गोर्खा जातिको सुनौलो इतिहास कोरिने जित हो ।’ यो जितपछि निर्वाचित सांसद राजु विष्टले भूमिगत रहेका विमल गुरुङलाई चाँडै बाहिर ल्याउने प्रतिक्रिया व्यक्त गरेका छन् ।

दार्जिलिङ चुनावको यो विजय अभियानमा अलग–अलग पार्टीमा रहेका सुभाष घिसिङका छोरा मन घिसिङको नेतृत्वमा रहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा र गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चासमेत कैयौँ पार्टी एक हुन पुगेका थिए । विजयी सांसद राजु विष्ट र विधायक नीरज जिम्बाले गोर्खाहरूको स्वाभिमानको मात्र नभई आमगोर्खाको चाहना र मुद्दाको जित भएको बताएका छन् । ‘दिदी’का लागि दार्जिलिङको यसपटकको निर्वाचन प्रतिष्ठाको लडाइँ हुन पुगेको थियो, तर बंगाल संसद्को निर्वाचन परिणामले ‘दिदी’को राजनीतिक अभीष्ट अधोगतितर्फ लागेको छ । विगत ३३ वर्षको अवधिमा ममताभन्दा अघि लामो समयसम्म राजनीति गर्ने कम्युनिस्ट पार्टीले यसपटक एक सिटसम्म पनि जित्न सकेन । ४२ सिटमध्ये बंगाल लोकसभाका लागि लड्ने एकजना कम्युनिस्ट नेताले मात्र जमानत जोगाएको परिणामले देखाएको छ ।

दार्जिलिङ लोकसभा सिटमा सन् २००९ को चुनावमा बीजेपी उम्मेदवार जसवन्त सिंह र २०१४ को निर्वाचनका एसएस अख्तर बालियालाई जनताले जिताएर पठाएका थिए । तर, दुवैले गोर्खाल्यान्ड आन्दोलनलाई अगाडि बढाउन सकेनन् भने यसपटक सांसद राजु विष्ट पनि दिल्लीमा बसेर व्यापार–व्यवसाय गर्दै तथा वार्षिक पचास अर्बको व्यापार गर्ने कम्पनी ‘सूर्यभूमि’का निर्देशक मणिपुरवासी बीजेपी अध्यक्ष अमित साहका पुराना निकट व्यक्तिका रूपमा प्रचारित छन् । अब यिनले गोर्खाल्यान्ड आन्दोलनलाई के–कसरी लिन्छन्– त्यो त भविष्यले नै देखाउनेछ । यो निर्वाचनमा राजु विष्टले करिब अढाई लाख र जिम्बाले ४० हजार मतले प्रतिद्वन्द्वीलाई पराजित गरेका थिए ।

सिक्किमको राजनीति पनि दार्जिलिङको झैँ हुन पुगेको छ । विगत २५ वर्षदेखि लगातार शासन गरिरहेका पवन चाम्लिङको शासन पनि ढुलमुल गर्दै अन्त्यमा ढल्न पुगेको छ । सिक्किमले अलग राष्ट्रबाट राज्यको रूप लिएपछि एकाध वर्षको शासन अवधिलाई छोडेर हेर्ने हो भने चाम्लिङअघिका मुख्यमन्त्री नरबहादुर भण्डारीले लगातार १५ वर्ष (तीन कार्यकाल) शासन गरेका थिए । उनै भण्डारीका सहयोगी एवम् विश्वासी पात्र मानिएका पवन चाम्लिङ भण्डारीबाट अलग भएपछि भण्डारीलाई नै हराउँदै लगातार २५ वर्ष शासन गर्न सफल भए । तर, यसपटकको निर्वाचनमा भने केही सिट सुरक्षित गर्न नसके पनि सरकारचाहिँ आफैँ बनाउने सोचमा रहेका चाम्लिङलाई नराम्रो झट्का लाग्न गएको छ ।

सिक्किम विधान सभाको ३२ सीटमध्ये १७ सिट ल्याई सिक्किम क्रान्तिकारी मोर्चाले सरकार गठन गर्न आवश्यक मत ल्याउन सफल भएको छ । मोर्चाका अध्यक्ष पीएस गोले कुनै बेला चाम्लिङकै सहयोगी र चाम्लिङ सरकारकै पालामा विधायक बन्दै दुईपटक मन्त्री बनिसकेका थिए । पछि चाम्लिङसँग विद्रोह गरी २०१३ मा आफ्नै पार्टी खोलेर राजनीति शुरु गरेका गोलेले २०१४ को निर्वाचनमा १० सिट जितेका थिए । तर, त्यो १० मध्येका पाँचजना आर्थिक प्रलोभनमा परेर रातारात चाम्लिङको पार्टीका मिसिन पुगे । अहिले अचम्म के भयो भने त्यसरी रातारात चाम्लिङको पार्टीमा जाने पाँचैजनालाई चाम्लिङले उम्मेदवार बनाएका थिए, तर जनताले पाँचैजनालाई नराम्ररी हराइदिए ।

यसपटकको चुनावमा अर्को रोचक कुरो के पनि हुन पुग्यो भने त्यहाँको एक मात्र लोकसभाको सिटमा चाम्लिङले सधैँ आफ्नो पार्टीलाई प्रतिनिधित्व गराउँदै आएकोमा यसपटक भने बीजेपीको सहयोगमा गोलेकै पार्टीका उम्मेदवार इन्द्रहाङ लिम्बू विजयी हुन पुगेका छन् । उनले चाम्लिङका उम्मेदवार टेकबहादुर कटवाललाई १२ हजारभन्दा बढी मतले पराजित गरेका छन् । १५ सिट जितेर प्रतिपक्षमा पुगेका चाम्लिङ र चाम्लिङकै पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टका हेभिवेट नेता डीटी लेप्चा पनि २–२ ठाउँबाट विजयी भएका छन् भने गोलेका तर्फबाट एकजना कुंगा निमा लेप्चा मात्र दुई सिटमा विजयी भएका छन् । अब हुने उपनिर्वाचिनको परिणामले नवगठित सरकारको भविष्यलाई बलियो वा कमजोर बनाउने त्यतिखेरको परिणामले देखाउनेछ । किनकि सिक्किमको राजनीतिमा भ्रष्टाचार र अर्थ–शक्तिको उन्मादले दह्रो जरा गाडेको समाचार बेलाबखत सार्वजनिक भएको आधारमा २०१४ को चुनाव परिणामपछिको पार्टी परिवर्तनको खेल फेरि नहोला भन्न नसकिने कतिपयको विश्लेषण छ । तर, बीजेपीको समर्थक रहेका गोलेलाई केन्द्र सरकारको दह्रो समर्थनले पीएस गोलेको सरकार तलमाथि नहुने कुरामा पनि सिक्मिमेले विश्वास गरेको पाइएको छ ।

यसपटकको सिक्किम विधान सभाको चुनावी राजनीतिमा अर्को एक आश्चर्य पनि थपिन पुगेको छ । त्यो के भने, सिक्किमको छोरा भनी उपनाम पाएका प्रसिद्ध फुटबल खेलाडी भाइचुङ भुटिया विधान सभामा निर्वाचनमा अत्यन्त लज्जास्पद ढंगले पराजित हुन पुगे । अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटबल खेल ८२ पटक खेल्दा २७ गोल गर्न सफल भुटियाले यसपटकको चुनावमा जम्मा ७० मत मात्र प्राप्त गरे । राजधानी गान्तोक चुनाव क्षेत्रबाट लडेका भुटिया भन्ने गर्थे, ‘कुनै व्यक्तिको विरोधमा पार्टी खोलेको नभई सेतो र कालो धन छुट्याउन राजनीति गरेको हुँ ।’ यसरी सिक्किममा बढ्दो भ्रष्टाचार र कालो धनको दबदबा देखेर राजनीति गरेको बताउने भुटियाको अर्को अचम्मलाग्दो कुरा के पनि छ भने २०१४ को लोकसभा निर्वाचनमा ‘ममता ‘दिदी’ले भुटियाको लोकप्रियता देखेर दार्जिलिङका नेपालीको मत तान्न लोकसभा सदस्यको उम्मेदवार बनाएकी थिइन् । तर, त्यो निर्वाचनमा पनि ‘दिदी’को इज्जत जोगाउन सक्ने गरी मत ल्याउन भुटिया असफल बनेका थिए । फुटबल खेलबाट देश–विदेशमा समेत कुशल खेलाडीका रूपमा नाम कमाउन पुगेका भुटिया राजनीतिमा भने अब कहिल्यै अघि बढ्न नसक्ने गरी पछि पर्न गएको सिक्किमेहरूले लख काट्न थालेका छन् ।