तामझामका साथ नेपाल छोडेका उपराष्ट्रपति एनजीओको कार्यक्रममा

तामझामका साथ नेपाल छोडेका उपराष्ट्रपति एनजीओको कार्यक्रममा


  • सागर सुवेदी, Austria

भियनामा नेपाली राजदूतावास स्थापनापछि नेपालबाट यहाँ आउने मन्त्रीको लर्को त लागिरहेकै थियो, त्यसैमा एउटा बहाना छ यहाँ संयुक्त राष्ट्रसङ्घको केही क्षेत्रमा काम गर्ने मुख्यालय ! तर, यो लर्कोमा अहिले उपराष्ट्रपति नन्दबहादुर पुन पनि थपिएका छन् । साथमा आएका छन् वनमन्त्री शक्ति बस्नेत ।

हुन त पङ्क्तिकारले उपराष्ट्रपतिको उच्चस्तरीय भ्रमण भनेपछि अगाडिबाट नै रिपोर्टिङ गर्न पनि खोजेको थियो, तर कस्तो कार्यक्रम ? कसले आयोजना गरेको ? भन्ने सबै अध्ययन गरेपछि नेपालबाट आउने उपराष्ट्रपतिलगायत मन्त्री अनि उनीहरूसँग आउने टोली बहाना बनाएर विदेश सयर गर्ने स्वार्थ मात्रै बुझिन आएपछि पङ्क्तिकार पनि पछि हट्यो । हुन त उपराष्ट्रपतिको कार्यक्रम तथा भ्रमण तालिकाको विषयमा नेपाली राजदूतावास भियनालाई नसोधेको पनि होइन, तर राजदूतावासबाट कुनै उत्तर अन्तिम समयसम्म पनि नआएपछि पङ्क्तिकारको मनमा उति नै बेला चिसो पसेको थियो ।

बुझिन आयो कि दूतावासले गोप्य रूपमै यहीँका केही व्यक्तिहरूसँग नन्दबहादुरको अस्ट्रिया भ्रमण छलफल पनि गरेको, तर यो कार्यक्रममा नेपालजस्तो देशबाट कसले उपस्थिति जनाउँदा राम्रो हुने थियो र यदि कोही उपस्थिति हुन्छ भने त्यो उपस्थितिको प्रभाव के हुन्थ्यो र कस्तो प्रस्तुति रहनुपर्थ्यो– तत्सम्बन्धी कुनै छलफल पनि नभएको र उक्त छलफलमा उपस्थित भएका व्यक्तिलाई पनि प्रस्ट जानकारी नभएको भन्ने कुरामा आज स्पष्ट हुन पाइयो । यो अर्थमा पङ्क्तिकारलाई उपराष्ट्रपतिको भ्रमण–तालिकाबारे दूतावासले केही लुकाउन खोजेको या यस्ता व्यक्तिले सोधेको किन उत्तर दिनु भनेर बेवास्ता गरेका महसुसचाहिँ भएकै थियो । नत्र एक सञ्चारकर्मीसँग राजदूतावास किन सम्पर्कमा आउन चाहेन ? जो आजको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाली भाषामा लेखिएको नोट पढेर सुनाएकोबाट प्रस्ट देखिन आयो । हुन सक्ला, राजदूतावासले उपराष्ट्रपतिको भाषण तय गर्ने त पक्कै होइन, तैपनि कति संवेदनशील विषय उठाउँदा ठीक हुन्थ्यो अनि हाम्रोजस्तो मुलुकबाट कसले भाग लिँदा उपयुक्त हुन्थ्यो भन्ने कुरा दूतावासले सही समयमा सुझावचाहिँ दिन पक्कै सक्थ्यो ।

अहिले अस्ट्रियामा भइरहेको अस्ट्रिया समिट नाम दिइएको कार्यक्रममा नेपालजस्तो मुलुकबाट उपराष्ट्रपति नै आउनुपर्ने कुनै त्यस्तो देखिएन । तर, गरिब मुलुक नेपालले चाहिँ आफ्नो ‘बेरोजगार’ उपराष्ट्रपतिलाई नै पठाएर सम्मेलनको ‘शोभा’ बढाउने काम गऱ्यो ।

हुन त जलवायु, यसको परिवर्तन अनि मानवलाई पर्ने असरका बारेमा यस्ता चेतनामूलक कार्यक्रमहरू अहिलेको अवस्थामा आवश्यक छन् । किनकि सबै कुराको दोस्रो चिज हुन्छ, तर पृथ्वी दोस्रो छैन भन्ने चेतनामूलक कार्यक्रमहरू अहिले विश्वभर भइरहेका रहेका छन् या यो आवाज जोडतोडले उठिरहेको पनि देखिन्छ । तर, अहिले अस्ट्रियामा भइरहेको अस्ट्रिया समिट नाम दिइएको कार्यक्रममा नेपालजस्तो मुलुकबाट उपराष्ट्रपति नै आउनुपर्ने कुनै त्यस्तो देखिएन ।

उपराष्ट्रपति पुनले आजको कार्यक्रममा राखेको लिखित मन्तव्य पनि केपी ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’बाहेक कुनै त्यस्तो जलवायुको क्षेत्रमा नेपालले के गर्दै छ र सरकार यसको लागि वास्तविक कुन ढाँचामा अगाडि बढ्दै छ, जलवायु परिवर्तनमा मुख्य को जिम्मेवार छ भन्ने कुरा कतैबाट उठाएनन् । एक अर्को अर्थबाट हेर्दा पुन आफैँले बन्दुक बोकेर गाउँ–ठाउँ हिँडेका व्यक्तिले त्यसबेला र अहिले भइरहेको परिवर्तनको यथार्थ अन्तर्राष्ट्रिय मञ्चमा बताउन सक्थे, तर उनले ध्यान दिएनन् । केवल कार्यक्रमसँग नमिल्दो नोट एकोहोरो पढिरहे । अर्को अचम्म त के भयो भने उपराष्ट्रपतिसँगै यहाँ आएका वनमन्त्री शक्ति बस्नेत र मन्त्रालयका सचिव अनि सहसचिवहरू के र किन आएका हुन् भन्ने विषय गर्भमै रह्यो ।

आयोजक संस्थाले संसारभरिका प्रायजसो राष्ट्र तथा सरकारलाई ‘अस्ट्रियान वर्ल्ड समिट’को लागि निम्तो दिए पनि पाँच देशका राष्ट्रप्रमुख र उपप्रमुख उपस्थित ठाउँमा तीबाहेकका अरू देशबाट सम्बन्धित मन्त्रालयमा काम गर्ने सचिव, उपसचिव, शाखा अधिकृत लेभलका अधिकृतहरू उपस्थित भएको देखियो । तर, अस्ट्रियाबाट राष्ट्रपति आफैँ साथै विभिन्न सङ्घीय प्रमुखहरूको उपस्थिति देखिन्थ्यो । यो संस्था पूर्वअस्ट्रियन नागरिक संयुक्त राज्य अमेरिकाको एक राज्य क्यालिफोर्नियाका पूर्वगभर्नर तथा हलिउड अभिनेता आर्नोल्ड स्वार्जनेगरले अघिल्लो वर्ष अस्ट्रियामा स्थापना गरेका थिए, जसलाई यहाँको सरकारले सहयोग गरिरहेको देखिन्छ ।

तर, गरिब मुलुक नेपालले चाहिँ आफ्नो उपराष्ट्रपतिलाई नै पठाएर सम्मेलनको ‘शोभा’ बढाउने काम गऱ्यो । उपराष्ट्रपति यहाँ यही समिटमा भाग लिने बहानामा सयर गर्न आउँदा काठमाडौंको सडकमा दोहोरो सडक बन्द गरी आएका समाचारहरूमा पढिएको थियो । त्यसमाथि नेपाली सेनाले सलामी दिएको देख्दा उपराष्ट्रपति पक्कै केही ठूलै कार्यक्रममा सहभागी हुने होलान् भन्ने आमजनतालाई भान परेको थियो होला । तर, यथार्थमा आखिर त्यस्तो उपलब्धिपूर्ण केही थिएन । उनको यो भ्रमणमा राज्यकोषको करोडौँ रुपैयाँ स्वाहा भएको कुरा जनतालाई कति जानकारी होला र ?

आखिर किन गर्छन् यस्ता भ्रमण उच्चपदस्थहरू ? यो विषय आमनागरिकले गम्भीरतापूर्वक विचार–विमर्श गर्नैपर्ने देखिन्छ ।