पाउरोटी भट्टाको मुछेको पिठो र दलको कार्यक्रम

पाउरोटी भट्टाको मुछेको पिठो र दलको कार्यक्रम


  • स्वयम्भूनाथ कार्की

कुनै कालखण्डमा पाउरोटी भट्टा पनि चलाइयो । अहिले दलहरूको कार्यक्रम देख्दा मेरो त्यो पाउरोटी भट्टाको खामिर लगाएर ठिक्क पारेको मुछेको पिठोको याद आउँछ । मैदा, चिनी, घिउ, नुन अनि त्यसमा ‘पोचा मसला’ भनिने खामिर हालेर माडेर फुलाइएको पिठोको थुप्रोसँग राजनीतिक दलको तुलना अनौठो लाग्न सक्छ । अनुचित पनि लाग्न सक्छ । राजनीतिक दलमा भाषण, नेता, कार्यकर्ता अनि त्यसलाई अलि आदर्श र सिद्धान्तको खामिर हालेर मुछेको पिठोसरह नै हो । जसरी खामिरले त्यो मिश्रणमा भएको मैदा फुलाउँछ त्यसरी नै आदर्श र सिद्धान्तको खामिरले यो मिश्रणमा भएको कार्यकर्ता फुलाउँछ ।

एक पाउरोटी भट्टाको प्रमुख उत्पादनहरू अर्थात् कार्यक्रमहरू यही साझा खामिरबाट नै हुन्छन् । त्यसैले आकारप्रकार फरक भए पनि उपभोक्ताले पाउने त्यही खामिरले फुलेको मैदा । त्यसमा परेको चीनीको हलुका गुलियो अनि सेकाइअनुसारको कुरुङ–कुरुङदेखि नरमसम्मको मजा । त्यसमा परेको घिउको मात्राले स्वाद होइन केही चमक दिन्छ, नुनले सड्ने प्रक्रिया ढिलो गर्छ । यी सब आकारप्रकार छुट्याएर राख्ने अनि सेक्ने भाँडाकुँडा विभिन्न प्रकारका हुन्छन् । यिनलाई पत्ता, डाइस, कोटा आदि नामले चिनिन्छ । अब स्लाइसको डाइसमा राखेकोबाट स्लाइस बन्छ । यसका पनि दुई प्रकार छन् । चौकोर बनाउनु परेमा बिर्को लगाइन्छ । माथि फुलेको बनाउन बिर्को लगाइन्न ।

कोटामा स–साना चौकोर नरम रोटी बनाइन्छ । पत्तामा गोलो–गोलो पारेर राखेमा वन रोटी, लामो बनाएर दुई छेउ विपरीततिर घुमाए कोकिस । लडुवा कटुवा पनि त्यही पिठोबाट बनाइन्छ । यी सबैलाई भट्टाभित्र हालेर सेकिन्छ । यदि त्यही पिठोबाट सेलजस्तो आकार बनाएर तेलमा सेलजस्तै तारेमा डोनट । एउटै भट्टा भए पनि अलगअलग तातोमा अलगअलग समय सेक्ने । यो भट्टाको तातोलाई पाउरोटी कालिगढ स्टिम भन्छन् । तातो नाप्ने चाहिँ भट्टाको मुखभित्र एकछिन हात घुसाएर । यदि अझ ज्यादा ठीक स्टिम चाहिएमा अलिकति मैदा पत्तामा फिँजाएर निश्चित समय सेकेर त्यसको रङ्गबाट ।

अब राजनीतिक दलका उत्पादन वा कार्यक्रम हेरौँ । आमसभा, फुलेका कार्यकर्तालाई जनता जम्मा गर्न लगाउने अति त्यसमा नेता सामग्रीले भाषण पस्कने । स्वाद नेतागुनाको भाषणको आउँछ । गोष्ठी, अलि सानो आकारमा त्यही आमसभाकै प्रक्रिया, तर अलि सानो भएकोले स्वाद अलि फरक । विभिन्न नामक यात्रा जस्तै रथयात्रा, स्वाभिमान यात्रा आदि अलि लामो तयारी धिमा स्टिममा ठाउँ सारी–सारी नेताको भाषण । अलिअलि नुन–खोर्सानीसरह भजन तथा मनोरञ्जनात्मक कार्यक्रम । जागरण कार्यक्रम, कार्यकर्ता जम्मा पारेर नेताको भाषण । अन्तरक्रिया, दुई–चार थरी यस्तै खामिर लागेका नेताहरूको वा एक्लै नेताको भाषण । यदि अर्को थरी पनि छ भने भरसक अर्कोथरीलाई बोल्नै नदिने ।

अन्तर्वार्ता अलि कडा स्टिममा भाषण सेकाइ, कहिलेकाहीँ ढङ्ग नपुग्दा डढ्ने, काँचो रहने पनि हुन्छ । किनभने अन्तर्वार्ताकार पनि नेताकै त्यही गुण लिएका हुन सक्छन् । यसमा नेताको कुशलता भनेको अन्तर्वार्ताकारले सोधेको प्रश्नको विषयवस्तुलाई भड्काउन सक्नु । अन्तर्वार्ताकारको कुशलता भनेको आफूले भनाउन चाहेकै उत्तर नेताको मुखबाट निकाल्न सक्नु । यसमा कहिले नेता डढ्छ, कहिले अन्तर्वार्ताकार । विषय भड्काउन नेता सफल भएमा स्वाद तिखो–टर्राे । आफूले चाहेको कुरा भनाउन अन्तर्वार्ताकार सफल भए चट्ट मिठो । तर, यो दुई अवस्था कहिलेकाहीँको मात्र हो । धेरै हुने न नेताले विषय भडकाउ सकेको न अन्तर्वार्ताकारले आफूले चाहेको कुरा भनाउन सकेको अवस्था हुन्छ । यो बेस्वाद नै हुन्छ जसलाई जनताले आफ्नो स्वादअनुसारको मसला लगाएर स्वादिलो बनाउने असफल प्रयत्न गर्दछन् । यदि यो क्रममा अन्तर्वार्ता अधुरो भयो भने त्यो टर्रो, तीतो, पिरो र ग्रहण गर्न नसकिने नै हुन्छ ।

थपमा यस्तो बेस्वाद समाजमा पनि फैलन्छ । पाउरोटी निर्माणमा यसलाई विसर्जन गर्ने अनेकौँ उपाय छन् । तर, राजनीतिले फैलाएको यो बेस्वाद विसर्जन गर्ने उपाय छैन । मेरो पाउरोटी भट्टाको टेबलमा मुछेको पिठो र राजनीतिक दलको कार्यक्रम यसरी उस्तै लाग्छन् । तर पाउरोटी भट्टाले समाजलाई दुष्प्रभाव दिँदैन । यस अवस्थामा राजनीतिक दलले भने समाजमा सुप्रभाव मात्र दिँदैन । राजनीतिक झडपहरू र त्यसमा हुने हिंसा जन्मने फोहोर व्यवस्थापन हाललाई राजनीतिक दलहरूसँग छैन ।