महिला फुटबल -श्रीविक्रम भण्डारी

महिला फुटबल -श्रीविक्रम भण्डारी


[बल्ल एन्फाको घैंटोमा घाम लाग्यो]
उखानै छ, सबैले बलेको आगो मात्रै ताप्छन् । यही कुरालाई आत्मसात् गर्दै अखिल नेपाल फुटबल सङ्घ एन्फाले हालै महिला फुटबलसँग नाता जोडेको छ । फुटबल भनेको पुरुषको मात्रै हुन्छ भन्ने मान्यता बोकेको एन्फाले अहिलेसम्म महिला फुटबलको विकासमा सिन्कोसमेत भाँचेको छैन । एघारौँ सागको तयारीका क्रममा समेत कुनै सहयोग नगरेको एन्फाले ढाकामा महिला फुटबलले उत्कृष्ट प्रदर्शन गरेपछि महिला फुटबलको महत्वलाई बुझेको थियो । साग खेलकुदको पहिलो सहभागितामा नै महिला फुटबल फाइनलमा पुगेपछि पराजयको पीडामा रन्थनिएको एन्फाले महिला फुटबललाई र्समर्थन गरेको थियो । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबलको शर्मनाक प्रदर्शन दोहोरिरहेको अवस्थामा एन्फाले आफ्नो काटिएको नाकलाई जोगाउन महिला फुटबललाई आत्मसात् गरेको थियो ।
ढाकामा सम्पन्न भएको एघारौं सागमा पुरुष फुटबल टोलीलाई स्वर्णपदकको दाबेदारीको रूपमा प्रस्तुत गर्दा एन्फाले महिला फुटबलको नामसमेत उच्चारण गरेको थिएन । उक्त प्रतियोगितामा नेपाली फुटबल टोली लिग चरणबाटै बाहिरिएपछि एन्फाको मनसायमा ठूलो कुठाराघात भएको थियो । ठूलो माछा मार्ने एन्फाको दाबेदारी भ्यागुतोमा परिणत भएपछि एन्फा अध्यक्ष गणेश थापाको छटपटी हेर्नलायक बनेको थियो । थापाले साम, दाम, दण्ड, भेद चारैै रणनीति अख्तियार गरे पनि खेलाडीको फितलो प्रदर्शनका अगाडि उनी नतमस्तक हुनुपरेको थियो । लामो समयदेखि अर्थात् आफ्नो डेढ दशकको कार्यकालमा एउटै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न नसेको राष्ट्रिय फुटबल टोली पुन: चुकेपछि थापा निकै आहत बन्न पुगेका थिए । जहिले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खुट्टा कमाउँदै आएका खेलाडीले एघारौं सागमा पनि सोही कुरा दोहोर्‍याएपछि थापा बेकाबुसमेत बनेका थिए । त्यसपछि ‘मर्ता क्या नही कर्ता’को परिस्थिति सिर्जना भएपछि थापा पुरुष फुटबलको साख बचाउन महिला फुटबलतर्फ झुकेका थिए ।
यसपछि आफ्नो मातहतमा रहेको महिला फुटबलले लिग चरणमा उत्कृष्ट खेलको प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेपछि थापाले राहतको महसुस गरेका थिए । उनी खुसीले गद्गद् भएका थिए । एन्फाको मिहिनेत र लगानी साकार भएझैं गरी लामो सास फेरेका थिए । त्यतिबेला कतिपयले थापाको हर्कतप्रति कटाक्ष गरे पनि सकारात्मक सोच राख्नेहरूले थापाको महिला फुटबलप्रतिको रुचि र उपस्थितिलाई सुखद समाचारको रूपमा पनि व्याख्या गरेका थिए । त्यतिबेलाको थापाको उपस्थिति स्वार्थपूर्ण देखिए तापनि महिला फुटबल खेलाडीहरूका लागि भने सञ्जीवनी बुटीको काम गरेको थियो । आफ्नो संस्थाको अध्यक्ष जसले हिजोसम्म महिला फुटबललाई कर्केनजरले पनि हेर्न चाहँदैनथ्यो आज त्यही व्यक्ति महिला खेलाडीको हौसला बढाउन समयमै रंगशाला पुगेर विजयका लागि धाप मार्छ भने त्यसमा कुनै छलकपट थियो भन्न मिल्दैन । थापाले जुन परिस्थितिमा महिला फुटबलको वास्तविकतालाई अङ्गीकार गरे त्यो समय ठीक नभए पनि त्यो थापाको भित्री मनले गरेका थिए । यसमा शङ्का गर्नु, नकारात्मक सोच राख्नु सोह्रैआना गलत हुनेछ । वास्तविक रूपमा भन्नुपर्दा त्यो थापाको मनको आवाज थियो । उनी नेपाली खेलाडीले फुटबलको उपाधि जितेको देख्न चाहन्थे । चाहे त्यो महिला फुटबल खेलाडीले नै किन नहोस् ।
थापाको महिला फुटबलप्रति एक्कासि बढेको मोहप्रति आर्श्चर्य प्रकट गर्नेहरू अब स्वदेश फर्केपछि उनको वास्तविक चाल के हो – त्यो बुझ्न ज्यादै उत्सुक थिए । यति लामो समयसम्म एन्फाको वागडोर सम्हाल्दा महिला फुटबलप्रति कुनै चासो नराख्ने थापाले ढाका देखाएको चरित्रले सबैलाई अन्योलमा पारेको थियो । थापाले एन्फाकै मातहतमा थुप्रैैपटक महिला फुटबल समितिको गठन गरे पनि त्यो समितिलाई खुद निर्जीव बनाउने काम स्वयम्ले गरेका थिए । एएफसीले बजेट दिए पनि एन्फाले त्यसलाई गोप्यरूपमा खर्च गरेर महिला फुटबललाई पाखा लगाएको घटना अहिले पनि खेलकुदप्रेमीले बिर्सिएका छैनन् । यस्तो अवस्थामा थापाको इमानदारिताप्रति प्रश्न तेर्स्याउनु स्वाभाविकै थियो । तर, यसपटक भने थापा खरो उत्रिएका छन् । उनले आफ्नो इमानदारिता देखाएरै छाडेका छन् । महिला फुटबलको विकासका लागि खुलेर लाग्ने प्रतिबद्धता जाहेर गरेका थापाले हालै महिला फुटबल खेलाडीलाई सम्मान गरेर कार्यको शुभारम्भ गरेका छन् ।
गत साता अखिल नेपाल फुटबल सङ्घ एन्फाले एघारौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजतपदक जित्ने महिला फुटबल टिमलाई सम्मान गरेको छ । खेलाडी, प्रशिक्षक, व्यवस्थापक र टोली नेता गरी २५ जनालाई सम्मान गरेको एन्फाले जनही पचास हजार रुपैयाँ र २१ इन्चको सामसुङ टेलिभिजन प्रदान गरेको थियो । सो अवसरमा बोल्दै एन्फा अध्यक्ष थापाले पहिलो प्रयासमै ऐतिहासिक सफलता हात पारेको महिला फुटबलको प्रशंसा गर्दै सोचेअनुरूपको सम्मान गर्न नसकेको बताएका थिए । खेलाडीले खेलेर बाँच्न सक्नुपर्छ भन्ने मान्यतामा दृढ रहेको खुलासा गर्दै महिला फुटबल विकासका लागि अब एन्फा दूरदर्शी र योजनाबद्ध तरिकाले लाग्ने बताए । सो उद्देश्य प्राप्तिका लागि भविष्यमा महिला फुटबल लिगको पनि सञ्चालन गर्ने बताए । त्यस्तै थापालेे सम्मानमा एन्फा अग्रपङ्क्तिमा रहेको बताउँदै उत्कृष्ट सम्मान पाउन खेलाडीहरूले अझ उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताए । सोही अवसरमा महिला फुटबल सङ्घकी अध्यक्ष कल्पना पिया श्रेष्ठले एघारौं सागको उत्कृष्ट प्रदर्शनपश्चात् महिला फुटबलको लोकप्रियता बढेको बताइन् । दक्षिण एसियाली मुलुकमा अब नेपाल महिला फुटबलको पावरहाउस बन्नुपर्छ भन्दैै यसका लागि सम्बन्धित निकाय एन्फा, राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले विशेष रूपमा सहयोग गर्नुपर्ने बताएकी थिइन् ।

नारायणदेवको झोलीमा अर्को कार्यकाल
राष्ट्रिय खेलकुद परिषद् केन्द्रीय कर्मचारी सङ्घको महाधिवेशन हालै सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद्को परिसरमा सम्पन्न भएको उक्त महाधिवेशनले नारायणदेव राणालाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा छनोट गरेको छ । सङ्घको महाधिवेशनका लागि जिल्ला, क्षेत्र र केन्द्रबाट एक सय ८ प्रतिनिधि चुनिएर आएका थिए । लोकतान्त्रिक तरिकाबाट भएको उक्त निर्वाचनमा सचिव प्रकाश बराल भने निरि्वरोध रूपमा चुनिएका थिए । त्यस्तै, महाधिवेशनले उपाध्यक्षमा गंगाराम महर्जन, महासचिवमा फणीन्द्र पौडेल, सचिवमा प्रकाश बराल, कोषाध्यक्षमा सरस्वती केसी -भण्डारी) चुनेको थियो भने सदस्यहरूमा भोजानन्द राई, राजु महर्जन, रामकृष्ण घिमिरे, विजयन्त शर्मा (पिन्टु) र कर्मबहादुर सिंहलाई चयन गरेको थियो । त्यस्तै आरक्षित महिलामा सरस्वती कोइराला, मञ्जुदेवी दाहाल र आरक्षित कर्मचारीमा सानुकृष्ण महर्जन निर्वाचित भएका थिए ।
दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष राणाले आफूमा अझ ठूलो जिम्मेवारी थपिएको बताए । राखेपका कर्मचारीहरूको हकहितका लागि सधैं लड्दै आएको सङ्घले आगामी दिनमा पनि अझ सशक्त भएर कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । विभिन्न कारणलेे परिषद्का कर्मचारीहरूले दु:खकष्ट भोग्नुपरेको अवगत गराउँदै त्यसको समाधान र निराकरणका लागि सङ्घले दूरदर्शी भएर काम गर्ने बताए । अध्यक्ष राणाले यो सङ्घ सम्पूर्ण राखेपका कर्मचारीहरूको साझा सङ्घ भएको चर्चा गर्दै उनीहरूको वृत्ति-विकासका लागि सधैं तत्परताका साथ लाग्ने बताएका थिए । त्यस्तै राखेप कर्मचारी सङ्घलाई साङ्गठनिक रूपमा बलियो बनाउन सधैं पर्दापछाडिबाट अहम् भूमिका निभाउँदै आएका वरिष्ठ प्रशिक्षक नवीन उप्रेतीले राष्ट्रिय कर्मचारी सङ्घ कुनै पार्टीको भ्रातृ सङ्गठन नभएको बताए । यो विशुद्ध कर्मचारीको हकहित र वृत्ति-विकासका लागि स्थापना भएको साझा सङ्गठन हो भनेको थिए । जसले बिनापूर्वाग्रह राखेपमा आबद्ध कर्मचारीको बारेमा कार्य गर्ने र कर्मचारीलाई बिनासङ्कोच कार्य गर्नमा अग्रसर र प्रोत्साहन गर्ने बताए । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले प्रमाणपत्र प्रदान गरेका थिए भने शपथग्रहण प्रमुख निर्वाचन आयुक्त तथा खेलकुद विकास विभागका प्रमुख कमल खनालले गराएका थिए ।

ट्वान्टी-२० विश्वकप क्रिकेट, महासङ्ग्राम बन्दै छ वेस्टइन्डिज
ट्वान्टी-२० विश्वकप क्रिकेटको तेस्रो संस्करण हाल वेस्टइन्डिजमा सञ्चालन भइरहेको छ । विश्वका चर्चित बाह्र राष्ट्र सम्मिलित यो प्रतियोगितालाई चार समूहमा विभाजन गरेर खेलाइएको छ । भारत, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, इंग्ल्यान्ड, श्रीलङ्का, बंगलादेश, आयरल्यान्ड, जिम्बाबे, अफगानिस्तान र आयोजक राष्ट्र वेस्टइन्डिजले प्रतियोगितामा सहभागिता जनाएका छन् । लिग चरणमा पहिलो र दोस्रो स्थान हासिल गर्ने टोली सुपर एटमा पुग्नेछन् । सुपर एटमा सबैभन्दा बढी अङ्क जुटाउने चार टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । गत सातादेखि शुभारम्भ भएको ट्वान्टी-२० विश्वकप क्रिकेटको अहिले लिग चरणका खेलहरू सञ्चालन भइरहेका छन् । भारत नवप्रवेशी अफगानिस्तान र दक्षिण अफ्रिकालाई पराजित गरेर सुपर एटमा पुगिसकेको छ । त्यस्तै, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, इंग्ल्यान्ड र वेस्टइन्डिजले पनि विजयी सुरुवात गरेका छन् ।
ट्वान्टी-२० क्रिकेटको पहिलो संस्करण दक्षिण अफ्रिकामा आयोजना भएको थियो भने दोस्रो इंग्ल्यान्डमा । पहिलो र दोस्रो संस्करणमा निकै रोमाञ्चक र सनसनीपूर्ण भिडन्त भए पनि उपाधिचाहिँ दक्षिण एसियाली मुलुकले जितेका थिए । पहिलो संस्करणमा भारत विजयी बनेको थियो भने दोस्रोमा पाकिस्तान । विश्वका धुरन्धर टिमहरूले आफूले यसपटक उपाधि जित्ने घोषणा गरे पनि विश्वकप क्रिकेटको उपाधि कसले जित्ला त्यो अहिले प्रतीक्षाकै विषय बनेको छ । तेस्रो संस्करणमा अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र आयोजक राष्ट्र वेस्टइन्डिजलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ ।