चुनाव हारे तर मन जिते प्रमेजले

चुनाव हारे तर मन जिते प्रमेजले


  • राजन घिमिरे, अष्ट्रेलिया

चुनावी परिणाम आफ्नो पक्षमा नदेखिएता पनि अन्ततः अष्ट्रेलियाको मूल राजनीतिमा नेपाली युवा प्रमेज श्रेष्ठले आफ्नो उपस्थिति दर्बिलै बनाए । अष्ट्रेलियाको सत्तारूढ दल लिबरल पार्टीले यी २६ वर्षीय नेपाली केटोलाई विश्वास गरेर संसदको टिकट पत्याउनु नै उनको पहिलो जीत भएकोप्रति स्थानीय नेपालीले गर्व गरेका छन् ।

प्रमेजको पहिलो चुनावी भीड़न्त नै अष्ट्रेलियाकी चर्चित राजनितिज्ञसँग भएको थियो । यस्तो अवस्थामा पनि परिणामको आधारमा प्रेमेजको यो सम्मानजनक हार थियो ।

प्रमेजको चुनावी भीडन्त जोसँग भएको थियो उनी मेयर र मन्त्रीसम्म भैसकेकी व्यक्तित्व हुन् । लिन्डा बर्नी लामो समयदेखि राजनीतिमा लागिपर्दै आएकी कुशल राजनितिज्ञ हुन् भने प्रमेजको चाहिँ यो पहिलो र नौलो अनुभव थियो ।

यस्तो परिवेशमा पनि नडगमगाइकन प्रतिस्पर्धामा उत्रनु सक्नुलाई कम आँकलन गर्न नमिल्ने तर्क नेपालीहरूको रह्यो । ‘अब प्रमेजको यात्रा शुरू भएको छ, यो शुरूवात हो अन्त्य होइन’, सिड्नीनिवासी सामाजिक अभियन्ता दिनेश पोखरेलको भनाई छ ।

मतकै आधारमा हेर्ने हो भने पनि प्रमेजले आफ्नी प्रतिस्पर्धी भन्दा केही कम मात्र मत ल्याएका हुन् । सातवटा पार्टी प्रतिस्पर्धामा उत्रिएका थिए भने प्रमेजले दोस्रो धेरै भोट हासिल गरेका थिए । प्रमेजको यो राजनीतिक–उपस्थितिलाई लिबरल पार्टीले पनि गौरवको रूपमा लिएको छ । यो परिणामप्रति प्रमेज आफैं पनि उत्साहित देखिएका छन् ।

‘प्रमेजले हारेर पनि जितेका छन् । मतको संख्याले हारेका होलान्, तर नेपालीलगायत अन्य समुदायका मतदाताहरूको मन, भरोसा र विश्वास जितेका छन् । पछिको लागि यो सुखद पाटो हो’, गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरूङ र सचिव देव गुरूङको धारणा छ ।

चुनावी परिणाम आएपछि प्रमेजले जीत–हार भन्दा पनि नेपालीलगायत अन्य समुदायहरू आफ्नो पक्षमा उर्लिएको देखेर खुशी प्रकट गरेका छन् । ऊनले भने– ‘मेरालागि आगामी दिनहरू सहज भएका छन् । अर्कों चुनावका निम्ति बाटो फराकिलो भएको छ ।’

अष्ट्रेलियामा प्रमेजले लिवरल पार्टीबाट उम्मेदवारी दिएका थिए भने उनको अर्को प्रतिस्पर्धी लेवर पार्टी थियो । त्यसो त अष्ट्रेलियाको चुनावमा लिवरल र लेवर पार्टीका कारण केही नेपालीबीच पनि विभाजन देखिएको थियो । यता प्रमेजले लिवरल पार्टीबाट चुनाव प्रचारप्रसार गरिरहँदा उता लेवर पार्टीमा आवद्ध नेपालीहरू भने प्रमेजको प्रतिस्पर्धी पार्टीको प्रचारप्रसारमा हिँडेका देखिएको थियो । यस्तो दृश्य देखेर दुःखमनाउ गर्ने नेपालीहरूको जमात पनि ठूलै थियो । उनीहरू भन्दैथिए– ‘त्यतिबेला यो र उ पार्टीभन्दा पनि एउटा नेपाली केटोले विदेशमा इतिहास लेखकोमा सबैले गर्व गर्नुपर्ने थियो । तर, हामीबीच नै विभाजन देखियो । हामी पार्टीभन्दा पनि नेपाली समाज र नेपाली ठिटो भनेर लाग्नुपर्ने थियो, यो हाम्रो कमजोरी हो ।’ आगामी दिनमा जुन नेपाली जुन पार्टीबाट उठे पनि नेपालीको नाताले सबैले साथ दिनुपर्ने उनीहरूको धारणा छ ।

(तस्बिरमा प्रमेज आफ्ना पिता मेघराज श्रेष्ठ, माता र धर्मपत्नीका साथ ।)