लेनिनको अभियान तुहाउन भित्रभित्रै सक्रियता

लेनिनको अभियान तुहाउन भित्रभित्रै सक्रियता


युद्धमा बालबालिकालाई प्रयोग गरिएको मामलामा अभियानकै रूपमा आवाज उठाउँदै आएका तत्कालीन माओवादी बालसैनिक लेनिन विष्ट यतिबेला युरोप यात्रामा छन् । उनको युरोप गमनलाई खासगरी पूर्वमाओवादी कित्ताले विष्मयका साथै अर्थपूर्ण रूपमा नियालीरहेको बुझिएको छ ।

युरोप बसाईका क्रममा लेनिनले मानवअधिकारसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय सङ्घ–संस्थाका अधिकारीहरूसँग भेटघाट तथा परामर्श गरेका छन् भने सोही सिलसिलामा गत साता उनले युरोपियन संघमा एक ज्ञापनपत्र बुझाएका छन् । युरोपियन संघको हेडक्वाटर बेल्जियमको ब्रसेल्समा पूर्व बालसेनाको तर्फबाट लेनिनले बुझाएको ज्ञापनपत्रमा तत्कालीन माओवादी नेतृत्वले कथित ‘जनयुद्ध’को क्रममा गरेका अवैधानिक क्रियाकलाप एवम् ज्यादतीहरूका बारेमा विस्तृत उल्लेख गरेका छन् ।

माओवादी जनयुद्धमा बालसेनाको अत्यधिक प्रयोग भए पनि अनमिनले उनीहरुलाई सेनाको लागि अयोग्य भनेपछि पार्टीको सेनाबाट बहिर्गमन गरेको, केही सुविधा नपाएको जनाउँदै राज्यले दिएको रकमसमेत तत्कालीन माओवादी अस्थायी शिविरमा रहेका कमाण्डरहरुले हिनामिना गरेको आरोप उनको ज्ञापनपत्रमा उल्लेख गरिएको बुझिएको छ ।

यस्तै, जनयुद्धमा प्रयोग भएका बालसेनाको विषयलाई अन्तराष्ट्रियकरण गर्ने अभियानमा लागेका लेनिनले नेपाली राजनीति परिवर्तनको लामो कालखण्डमा समाज परिवर्तनका लागि गरिएका आन्दोलन र संघर्षहरुको बारेमा ब्याख्या गर्दै आफूले माओवादीले जनयुद्धकालमा बालसेनाको प्रयोगको बारेमा संयुक्त राष्ट्रसंघमा समेत उजुरी दिएको जनाएका छन् ।

युरोपमा लेनिनको सक्रियताका कारण तत्कालीन माओवादी शीर्ष नेताहरू भयभित तथा सशंकित रहेका र लेनिनको अभियान निष्कृय तुल्याउन भित्रभित्रै माओवादी नेताहरू सक्रिय रहेका समेत बुझिएको छ । हालै मात्र माओवादी नेता वर्षमान पुन अनन्तले बेल्जियम यात्राका क्रममा लेनिनलाई भेट्ने प्रयास गरे पनि लेनिनले अनन्तको सो प्रयत्न विफल तुल्याएको बुझिएको छ । बुझिएअनुसार बालसेनामाथि भएको ज्यादतिविरुद्धका दोषीहरूलाई न्यायको कठघरामा उभ्याएरै छाड्ने अभियानमा लेनिन दृढ देखिएका छन् ।