यसकारण आवश्यक छ नयाँ पार्टी निर्माण

यसकारण आवश्यक छ नयाँ पार्टी निर्माण


  • जीबी आचार्य

विभिन्न कारणले चर्चाको शिखरमा रहने वा रहन मन पराउने डा. बाबुराम भट्टराई यतिबेला फेरि पनि चर्चामा छन् ।

एसएलसी परीक्षाको नजितामा सर्वोत्कृष्ट अङ्क ल्याएर बोर्ड टप गरेपछि चर्चाको शिखरमा आएका बाबुराम ५० को दशकमा नेपाली राजनीतिको चर्चाको केन्द्रमा रहे । उत्कृष्ट शैक्षिक क्षमता भएका पेसाले इन्जिनियर र वैयक्तिक क्षमताका आधारमा उच्चकोटीको पेसागत हैसियत कायम गरेर सोहीबमोजिमको विलासी जीवन बिताउन सक्ने कोटिका बाबुरामले इन्जिनियरिङलाई पेसा बनाएनन् अनि संसदीय राजनीतिमा रमाएका नेपाली काङ्ग्रेस वा एमाले वा अन्य कुनै पार्टीको राजनीति गरेर रमाएनन् बरु धेरै मानिसलाई अचम्ममा पार्दै तत्कालीन नेकपा माओवादीको भूमिगत राजनीतिमा समाहित भएर जनयुद्धमा सहभागी भए । निजी जीवन, सुख, सयल र स्वार्थलाई त्यागेर जनयुद्धको कठिनतम मार्गमा अघि बढ्ने उनको यो राजनीतिक कदम धेरै मानिसका लागि अनपेक्षित र उदेक लाग्दो थियो ।

जनयुद्धको अवधिमा पनि बाबुराम चर्चाको शिखरमा नै रहे । कहिले विवादास्पद लेख लेखेर त कहिले पार्टीको कारबाहीमा परेर । खासगरी शहरीय मध्यमवर्गका बुद्धिजीवीले माओवादी जनयुद्धलाई नैतिक समर्थन गर्ने आधार थिए उनी । कतिपयका लागि त माओवादी भनेकै बाबुराम र बाबुराम नै माओवादी भनेजस्तो बनेको थियो । अझ कतिपय मानिसले त प्रचण्ड भनेको बाबुराम नै हुन् भनेर भन्ने गर्थे ।

सशस्त्र माओवादी आन्दोलनभित्र शान्तिवादी लाइनका पक्षधर बाबुरामले चुनवाङ बैठकसम्म आइपुग्दा पार्टीको सशस्त्र क्रान्तिको लाइनलाई पूरै पराजित गराउन सफल भएका थिए । देशमा चलेको दशवर्षे सशस्त्र जनयुद्धलाई शान्तिप्रक्रियामार्फत अन्त्य गराउने मुख्य सूत्रधार बाबुराम नै भनी तारिफ वा आलोचना गर्ने मानिस नेपालमा धेरै छन् ।

विश्व राजनीति आर्थिक स्वार्थले निर्देशित भइरहेको आजको दुनियाँमा बहुराष्ट्रिय ठूला व्यापारिक घरानाहरूले विश्व राजनीति डोऱ्याइरहेका छन् । अनि नेपालजस्ता गरिबी, पछौटेपन र अविकासका समस्यामा निकै घनीभूत रूपले जेलिएका राष्ट्र त विश्व व्यापार सङ्गठन र विश्व बैंकजस्ता आर्थिक साम्राज्यवादी संस्थाको स्वार्थमा पूरै फसेका छन् ।

दोस्रो जनआन्दोलनको सफलतापछि नेपालमा गणतन्त्र आयो र दशवर्षे जनयुद्ध समाप्त भयो । गणतन्त्रको स्थापनापछि नेपालमा राजनीतिक लडाइँ सकियो अब आर्थिक वृद्धिको समय शुरु भयो भनी बाबुरामले तत्कालीन एमाओवादीको राजनीतिक लाइन नै नयाँ दिशामा बदल्न सफल पनि भए तर फेरि पनि धेरै मानिसलाई आश्चर्यमा पार्दै उनले सो पार्टी त्यागेर नयाँ शक्ति नामको राजनीतिक गतिविधिमा संलग्न हुन पुगे । संविधान निर्माणको प्रक्रियामा निर्णायकमध्ये एक भूमिकामा रहे, तर संविधान जारी हुनासाथ त्यसको कटु आलोचक भए र चर्चाको शिखरमा रहे । काङ्ग्रेसको मतमा गोरखाबाट चुनाव जितेका बाबुराम अहिले सङ्घीय समाजवादी पार्टीसँग एकता गरी समाजवादी पार्टीको नेतामा बदलिएका छन् ।

उनको यो छलाङले दुईवटा अहम् प्रश्नलाई जन्माएको छ । पहिलो, के नेपालमा राजनीतिक आन्दोलनको युग समाप्त भएकै हो, दोस्रो के मार्क्सवाद, लेनिनवाद र माओवादलाई मान्ने पार्टीबाट नेपालका समग्र समस्याको समाधान र विकास सम्भव छैन ? यसका साथसाथै नेपालको विकासको मोडल के हुने, अब नेपाल कुन अवस्थामा प्रवेश गर्ने र सबभन्दा अहम् सवाल विकास र राजनीतिक प्रणालीको सम्बन्ध कस्तो हुने भन्ने सवालले पनि बाबुरामलाई पिछा गरिरहेका छन् । विश्व राजनीति आर्थिक स्वार्थले निर्देशित भइरहेको आजको दुनियाँमा बहुराष्ट्रिय ठूला व्यापारिक घरानाहरूले विश्व राजनीति डोऱ्याइरहेका छन् । अनि नेपालजस्ता गरिबी, पछौटेपन र अविकासका समस्यामा निकै घनीभूत रूपले जेलिएका राष्ट्र त विश्व व्यापार सङ्गठन र विश्व बैंकजस्ता आर्थिक साम्राज्यवादी संस्थाको स्वार्थमा पूरै फसेका छन् ।

बहुराष्ट्रिय कम्पनीको स्वार्थलाई पूरा गर्न सक्ने राजनीतिक प्रणाली मात्र कायम हुन सक्ने आजको एकल धु्रवीय विश्वका विपन्न तर पिछडिएका देशका राजनीतिक पार्टीहरूका दाता पनि उनीहरू नै हुन्छन् अनि उनीहरूकै स्वार्थमा काम गर्नुपर्छ भन्ने यथार्थ प्रमाणित भइसकेको छ । कानुन र नीति निर्माण अनि तिनको कार्यान्वयनमा उनीहरूको स्वार्थअनुसार नै भइरहेको छ । विश्व साम्राज्यवादको यो जालो नचिरी समाजवाद आउँदैन । तर, न त बाबुराम न त उनका राजनीतिक पार्टीहरू यसतर्फ सचेत, अग्रसर वा प्रयत्नशील नै छन् ।

नेपाली समाज आज जुन–जुन समस्याले ग्रसित छ त्यसमा हाल विश्वमा चलेको शासन प्रणाली जिम्मेवार छ । नेपालमा हाल क्रियाशील रहेका मूलधारका राजनीतिक शक्तिहरू यही विश्व प्रणालीका वफादार सेवक मात्र हुन् । यदि विचार लक्ष्य र कार्यदिशामा इमानदार, स्पष्ट र वैज्ञानिक भइएन भने नयाँ बन्ने पार्टी पनि केवल विश्व साम्राज्यवादको नयाँ चाकर मात्र बन्ने स्पष्ट छ । मूलधारका राजनीतिक पार्टीहरू विचारको सवालमा इमानदार छैनन्, लक्ष्यको सवालमा स्पष्ट छैनन् । उनीहरूका नीतिहरूसमेत हचुवाका भरमा बनाइने गरेका छन् । मूलतः जनचाहना, जनअपेक्षा र जनताका दैनन्दिन समस्याबाट कटाएर आफूलाई माफियाहरूको चङ्गुलमा फसाएपछि पार्टीहरूमा वैचारिक, कार्यक्रमिक र राजनीतिक शून्यता देखापरेको हो ।

सामर्थ्यबिनाको राजनीतिक पार्टीको न त आजको नेपालमा कुनै औचित्य छ न त कुनै आवश्यकता नै । केवल व्यक्तिगत महत्वाकाङ्क्षा, आवेग, उत्तेजना वा आत्मरतिमा पार्टी खोलिनु भनेको नेपालको फोहोर राजनीतिमा अर्को एउटा फोहोर थप्नु मात्र हो ।

समाज आफैँमा जीवन्त इकाइ हो । हाम्रोजस्तो निर्माणाधीन समाजमा त विचार, कार्यक्रम, प्राथमिकता, स्वार्थ, आबद्धता सबैको बीच निर्मम लडाइँ चल्नु स्वाभाविक हो । आज विकसित देशको राजनीतिको केन्द्रमा विदेश नीति र राष्ट्रिय सुरक्षाको विषय परेको छ भने । नेपालजस्तो पिछड्याइएको देशमा त हातमुख जोर्ने जनजीविकाका सवाल नै समाधान नभइसकेको अवस्था छ । देशको उत्पादकत्व डरलाग्दो गरी बढेको छ । स्थानीय प्रजाति, प्रविधि र सीप विलुप्त बनाइँदै छ । देश नवसाम्राज्यवादी उत्पीडनको चङ्गुलमा फसेको छ । रोजगारीका अवसर र साधनुहरू सङ्कुचन गरिएको छ भने युवाहरूलाई पराइभूमिमा दास बन्न बाध्य पारिएको छ ।

यो सब एकरातमा भएको त पक्कै होइन । यसका लागि राज्यले लामो समयदेखि सोहीबमोजिमका नीति र कानुन बनाएर कार्यान्वयन गरिरहेको छ । त्यसलाई काट्न नसक्ने सामर्थ्यबिनाको राजनीतिक पार्टीको न त आजको नेपालमा कुनै औचित्य नै छ, न त कुनै आवश्यकता नै । केवल व्यक्तिगत महत्वाकाङ्क्षा, आवेग, उत्तेजना वा आत्मरतिमा पार्टी खोलिनु भनेको नेपालको फोहोर राजनीतिमा अर्को एउटा फोहोर थप्नु मात्र हो ।

हामीकहाँ राजनीतिक पार्टी निर्माण हुन सकिरहेका छैनन् । पार्टीहरू स्वार्थपूर्ण गुट मात्र साबित भएका छन् । पार्टीहरूका विधानहरूले काम गरेका छैनन्, व्यक्तिगत स्वार्थले मात्र काम गरेका छन् । हाल अस्तित्वमा रहेको मुलुकको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेस त्यसको जीवन्त उदाहरण हो । पार्टीको महाधिवेशन सकिएको एक वर्ष बित्दा पनि पार्टीका समितिले पूर्णता पाउन नसक्नु, पार्टीको केन्द्रीय कार्यसमिति र पार्टीका भगिनी र जनवर्गीय सङ्गठनको नियुक्तिमा देखिएको गुटगत स्वार्थको टकराव, निर्वाचनमा अन्तर्विरोध, पार्टी समितिहरू लामो समयसम्म कामविहीन बस्नुपर्ने बाध्यता, अराजनीतिक, व्यापारिक तथा आपराधिक तत्वहरूको राजनीतिमा सङ्क्रमण, नेताहरूमा देखिएको व्यक्तिवादिता, मनोमानी, विधिविहीनता, स्वेच्छाचारिता र मुलुकमा देखिएको दण्डहीनताजस्ता समस्यालाई चिर्दै त्यसलाई पराजित गर्ने नसक्ने पार्टीको अब कुनै काम छैन । तसर्थ नयाँ पार्टीको आवश्यकता नै नहुने त होइन, तर त्यो पार्टीले औचित्य स्थापित भने गर्न सक्नुपर्छ ।

(लेखक अधिवक्ता हुन् ।)