भैरहवामा पत्रकारिता तालिम शुरु

भैरहवामा पत्रकारिता तालिम शुरु


लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर (रुपन्देही)को आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा बिहीबारदेखि भैरहवामा तीनदिने पत्रकारिता तालिम सुरु भएको छ । विगतका वर्षदेखि नै क्लबमा आबद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्दै आएको र यस वर्ष पनि तालिमलाई निरन्तरता दिएको कार्यक्रम संयोजक पुनहरि बेल्बासेले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले मिडियाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरे मात्र यसको विश्वसनीयता बढ्दै जाने बताए । उनले नगरपालिकामा भएका कमीकमजोरीलाई औल्याउनुका साथै नगरपालिकाले गरेका सकारात्मक कार्यहरुलाई पनि मिडियाले प्राथमिकता दिनुपर्नेमा जोड दिए । नगरप्रमुख अधिकारीले मिडिया क्षेत्रको विकासको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले तालिमलाई सिक्ने भन्दा पनि अनुभव बटुल्ने अवसरको रुपमा लिनुपर्ने बताए । उनले पत्रकारिता पेशालाई मर्यादित ढंगले अगाडी बढाउने कुरामा सजग हुनुपर्ने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ख्याम बहादुर थापाले नगरपालिकाबाट हुने सेवा प्रवाहका बारेमा सञ्चारमाध्यमले आम नागरिकलाई सुसुचित गर्नुपर्ने बताए । उनले यस क्षेत्रका पत्रकारहरु सक्षम रहेको कुरा मिडियामा प्रकाशन तथा प्रसारण हुने समाचारबाट पुष्टी भएको बताए ।
नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाले राज्यको चौथो अंगको रुपमा रहेको मिडियाले जनतामा चेतना ल्याउने काम गरिरहेको बताए । उनले मिडिया क्षेत्रको विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्लबका तालिम समिति संयोजक पुनहरि बेल्बासेले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने महासचिव सम्झना शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बिहीबार पहिलो दिनको तालिममा रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधिश नरिश्वर भण्डारीले सहजीकरण गरेका थिए । २ दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको तालिम जेठ ११ गते सम्म चल्ने क्लबका कार्यसमिति सदस्य रवीन्द्र गुप्ताले जानकारी दिए ।