‘सहृदयी व्यवसाय’ अल्पकालीन सोच

‘सहृदयी व्यवसाय’ अल्पकालीन सोच


  • स्वयम्भूनाथ कार्की

क्रोनी क्यापिटलिज्म अर्थात् सहृदयी पुँजीवादको उत्थानले धेरै सहृदयी अर्थात् क्रोनी अवधारणा खडा गर्छ । त्यसैमध्येको एक हो यो क्रोनी विजनेस अर्थात सहृदयी व्यवसाय । क्रोनी क्यापिटलिज्मको बारेमा सहृदयी पुँजीवाद भनेर लेखेको लेख ‘घटना र विचार’ सप्ताहिकमा प्रकाशित भएको अवधि वर्षदिनआसपास हुनुपर्छ । त्यसबेला कुनै यो क्रोनीको अनुवाद सहृदयी ठिक भएन भन्ने चर्चा पनि भएको थियो । यदि सहृदयी नभए कुन शब्द ठिक होला भन्ने निक्र्योलमा पुग्न सकिएन । भरसक नेपालीमा लेख्दा नेपाली शब्द नै प्रयोग गर्ने इच्छाले अर्को सशक्त दाबेदार शब्दले चुनौती नदिँदासम्म क्रोनीलाई सहृदयी भन्ने शब्द नै प्रयोग गर्न वाध्य भइयो । यो शब्द हठपूर्वक नभई कायम–मुकायम हो, अधिकारिक नआउन्जेल यसैलाई आधिकारिक मानिदिन अनुरोध पनि छ ।

सहृदयी भनेर सत्ता, कर्मचारीतन्त्र आदि अर्थात् शक्तिशालीको सौहाद्र्धतामा भनी बुझ्नुपर्ने हुन्छ । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको परिभाषामा पुँजी जुन पनि माध्यमले जम्मा भए पनि त्यो सर्वहाराको श्रम शोषण नै हो । आधुनिक वामपन्थीहरूले यो कुरा स्विकार गर्दैनन् । तर यदि वामपन्थमा मार्क्स, एंगेल्सको निरन्तरता खोज्छन् र त्यसलाई विज्ञान भन्दछन् भने आवश्यक परे पुँजी किताप र मार्क्स एंगेल्सले लेखेको घोषणापत्रको आधारमा प्रमाण दिन सक्छन् । पुँजी जम्मा हुने माध्यम बचत पनि हुनसक्छ, कौशल पनि हुनसक्छ, सही व्यवशायिक नीति पनि हुनसक्छ । यो आधुनिक वामपन्थीहरूले गरेको संसोधित परिभाषा हो । यसै परिभाषाको आधारले सहृदयी पुँजीवाद जन्माउँछ, सहृदयी व्यवसाय जन्माउँछ ।

जो आफूलाई अनुकुल भएन त्यो दलाल पुँजीपति, जो आफूअनुकुल भयो त्यो राष्ट्रिय पुँजीपति । मुसोलिनीको फासिज्ममा भनिएको थियो– सय मुर्खहरूले भन्दा एक बुद्धिमानले सही निर्णय गर्छ । अब यो मुर्ख र बुद्धिमान छुट्याउने अधिकारी को ? मापदण्ड के ? सारा गोरखधन्दा त्यसैमा अडेको थियो । त्यसै गरेर यो दलाल पुँजीपति र राष्ट्रिय पुँजीपति छुट्याउने कसले र के आधारले ? यही कुराले राष्ट्रिय पुँजीपति बन्न भक्त पुँजीपति हुन कर लाग्छ । जब विधिको आधारले होइन, कानुनको आधारले होइन अपारदर्शी मापदण्डले शक्तिशालीले गरेको वर्गीकरणले यस्ता कुराको निर्क्योल गर्छ तब ‘राष्ट्रिय’ बन्न जसलाई पनि भक्त हुन कर नै लाग्छ । अनि भक्त भएपछि उसले सहृदयता नपाउने कुरै भएन । त्यसपछि उसको व्यवसाय व्यवसायिक कौशलले हैन सत्ताको सहृदयताले चल्न थाल्छ । अनि रातारात अर्बपति हुनु अचम्म हुँदैन ।

भर्खरै समाचारमा आयो वैदेशिक श्रममा गएकाहरूले आफ्नो कमाईबाट, अझ भनौँ रगत–पसिनाको कमाईबाट टेलिभिजन ल्याउन नपाउन भन्ने माग भयो अरे ! विश्व व्यापार सङ्गठनको सदस्य भएको मुलक नेपालले आफ्ना सहृदयी व्यवसायीहरूको हितमा यस्ता धेरै निर्णय गरिसकेको छ जसअनुसार विदेशमा खट्ने नेपालीहरूको अर्बौंको सामान जफत भइसकेको छ । एकातर्फ यस्ता नेपालीको विदेशमा बगाएको रगत–पसिनाको कमाईको आधारमा नेपालको अर्थतन्त्र चलेको छ भने अर्कोतर्फ भएभरको अन्याय पनि सहृदयी व्यवसायीको हितनिमित्त यिनैमाथि भएको छ । रेमिट्यान्स अर्थात् पठाएको विदेशी मुद्राले नेपालको अर्थतन्त्र थामेका छ भनेर मैले भनेको हैन, सरकार, अर्थशास्त्री, विश्लेषक सबैले भनेको कुरा दोहोऱ्याएको मात्र हो ।

अनेकौँ खर्च बोकेर, नेपाको भन्दा महँगो उत्पादन खर्च व्यहोरेर आएको भारत तथा विदेशी समानहरूले नेपाली उत्पादन हतोत्साह गरेकोतर्क आउने गर्दछ । भनिन्छ त्यस्ता विदेशी समान सस्ता भए त्यसैले नेपाली उद्योगलाई मार पऱ्यो । ताजा–ताजा राष्ट्रवादी भएको भन्नेहरू विदेशी समान बन्द गरेर या भन्सार बढाएर भए पनि नेपाली समानभन्दा महँगो गरिदिनुपर्छ भनेर दबाब अभियान शुरु गर्दछन् । यसबीचमा एकपल्ट पनि नेपाली जनता जो नेपाल राष्ट्र हुन् उनीहरूले महँगीबाट त्राण पाउनुपर्छ भनेर सोच्दैनन् । अझ थप त हास्यास्पद त त्यतिखेर हुन्छ जब त्यत्रो अतिरिक्त खर्च गरेर नेपाल पसेको उत्पादनसँग मोलमा प्रतिस्पर्धा गर्न नसक्ने सहृदयी व्यवसायीहरू निकासी गर्ने फुइँ लगाउँदछन् ।

तुरन्त सत्ताको सहृदयी भएर जनताको शोषण गरेर रातारात खर्बपति त हुन सक्लान् तर यो दियो भने हुन्न । सधैं सहृदयताको छहारी पाइन्न, ढिलोछिटो विश्व बजारमा खुल्ला प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यो अवस्थामा सत्ताको सहृदयता काम लाग्दैन । नभए आयातक राष्ट्रले दया गरेर दिएको कोटा समाप्त हुने वित्तिकै कार्पेट कता गए ? गामेन्ट कता पुगे ? सहृदयीहरूको छहारी सकिनेवित्तिकै यो रातारात खर्बौं कमाउने अल्पकालीन सोचले दीर्घकालीन रूपमा व्यवसायीहरूलाई हातमुख जोर्न सक्ने बनाउला ? सोच्नुभन्दा विगत तीस बर्षदेखिका व्यापारिक घरानाका आरोह अवरोह हेरे पुग्छ । जसमा क्षमता छ त्यो हमेशा अटल छ बाँकी आफैं हेरे हुन्छ । जब विदेशको समान सस्तो र अपेक्षकृत राम्रो हुन्छ भने त्यो किन मेरो किन हुन सक्दैन भनेर सोच्नुको साटो सरकारलाई मेरो व्यापार चौपट भयो त्यसलाई प्रतिबन्ध गरिदेउ भन्छ भने त्यसको व्यवसायिक सोच बरालियो भन्न हिच्किचाहट छैन ।

नेपालले भविष्यमा विदेश गएका नेपालीले सामान बोकेर आउने हैन नेपाल आएका विदेशीले नेपाली सामान बोकेर जाने बनाउन सक्दैन । अवश्य सक्छ, तर सहृदयी पुँजीपति बनाउने सोचको राजनीति कर्मचारीतन्त्रमा हुन सक्दैन । अझ त्यो भन्दा बढे–चढेर राजनीतिक तन्त्र कर्मचारीतन्त्रको सहृदयता पाउन तँछाडमछाड गर्ने व्यवसाय जगतले त सक्दैन । उ त आफ्नो व्यवसाय सङ्गठनको कार्यक्रममा नेता तथा उच्च पदस्थहरूको स्वागत गर्न नै व्यस्त हुन्छ व्यवसाय गर्ने समय पो कहाँ छ र ?