अमेरिकी राजनीतिमा महिलाले क्रमभङ्गताका क्षण महसुस गर्न थालेका छन् : मेयर ब्रुम

अमेरिकी राजनीतिमा महिलाले क्रमभङ्गताका क्षण महसुस गर्न थालेका छन् : मेयर ब्रुम


  • मनोज रिजाल, न्युयोर्क

संयुक्त राज्य अमेरिकाको लुइजियाना राज्यको राजधानी शहर ब्याटन रुगकी प्रथम महिला मेयरलाई यस तथ्यमा विश्वास छ कि महिलाले अहिले आएर अमेरिकी राजनीतिको मूलधारमा धेरै अवसर प्राप्त गर्न थालेका छन् ।

‘हामी महिलाले वर्तमान समयमा अमेरिकाको राजनीतिक मञ्चमा क्रमभङ्गताका क्षणहरू महसुस गर्न थालेका छौँ,’ ब्याटन रुगकी प्रथम महिला मेयर–अध्यक्ष सेरोन वेस्टन ब्रुम भन्छिन्, ‘मेरो निम्ति मेरो सहरको प्रथम निर्वाचित महिला मेयर हुन पाउनु अत्यन्त सन्तोषको अवस्था हो ।’

ब्रुमको जन्म इलिनोइस राज्यको सिकागो सहरमा सन् १९५६ मा भएको थियो । विद्यालयको प्रारम्भिक अध्ययन यस उत्तरी राज्यमा सम्पन्न गरेपछि उनका बुबाआमाले दक्षिणी राज्य लुइजियानामा बसाइँ सर्ने निधो गरे र उनी पनि आफ्ना बुबाआमासँगै लुइजियाना राज्यमा आइपुगिन् ।

ब्रुम आफ्नो सहरकी प्रथम महिला मेयर मात्र होइनन्, उक्त सहरको मेयर बन्ने दोस्रो अफ्रिकी अमेरिकीसमेत हुन् ।

‘एउटा शहर र काउन्टीको प्रमुख कार्यकारी अधिकृत बन्न पाउँदा यसले मलाई निश्चय नै धेरै अवसरहरू प्रदान गरेको छ जसबाट नेतृत्व तहमा पुग्ने महिलाप्रति रहेका सोच र बुझाइहरू परिवर्तन गर्न सहयोग पु¥याएको छ । साथै, यसले मलाई तरुण महिला जो सार्वजनिक सेवामा प्रवेश गर्न चाहन्छन् वा अन्य कुनै नेतृत्वदायी भूमिकाहरू निर्वाह गर्न चाहन्छन्, उनीहरूको निम्ति पनि एक आदर्श नारी बन्न पाउने अवसर प्रदान गरेको छ,’ उनी भन्छिन् ।

ब्रुम जब सानी थिइन्, उनमा पनि आफ्नो समयका सफल आदर्श नारीहरू (रोलमोडल वुमेन) जस्तै बन्न पाए हुन्थ्यो भन्ने लालसा जागेर आउँथ्यो ।

‘म सानो हुँदा यही न्युयोर्कबाट अमेरिकी तल्लो सदन कङ्ग्रेसमा चुनाव जित्ने पहिलो अफ्रिकी अमेरिकी महिला शर्ली चिसोम मेरो आदर्श थिइन् । एक महिला नेतृको रूपमा उनी अत्यन्त प्रखर बोल्न सक्ने खुवी भएकी थिइन् । यसैगरी, मेरो रुचिको क्षेत्र सञ्चारजगत् पनि थियो । म सिकागोमै जन्मिएकी हुनाले मलाई सिकागो सहरकी टेलिभिजन संवाददाता र कार्यक्रम सञ्चालक क्यारोल सिम्पसन अत्यन्त मन पर्थिइन् । यस हिसाबले मेरा बाल्यकालका आदर्श नारीहरू निश्चय नै शर्ली चिसोम र क्यारोल सिम्पसन थिए ।’

सन् २०१७ मा ब्याटन रुग सहरकी मेयर भएदेखि नै ब्रुमले सहरका मूल मुद्दाहरूमा आफ्नो ध्यान केन्द्रित गर्न थालेकी हुन् । तीमध्ये उनको सहर र काउन्टीमा बस्ने समुदायहरूको समतामूलक वृद्घि (इक्विटेबल ग्रोथ) पनि उनले ध्यान केन्द्रित गरेको एक प्रमुख मुद्दा हो ।

‘सशक्त सहरहरू समता र समावेशिताबाट अझ धेरै सशक्त बन्न सक्छन् । यस तथ्यकै कारण हाम्रो प्रगति भइरहेको छ र यसबारेमा हामी निरन्तर संवादमा पनि छौँ,’ ब्रुम भन्छिन् ।

‘जब हामी समतामूलक प्रगतिको कुरा गर्छौं, तब हामीले यसतर्फ विभिन्न पहलहरू गरिरहेकै छौँ भन्ने तथ्य पनि बुझ्न जरुरी छ । हाम्रो मुख्य जोड भनेको कैयौँ योजना र परियोजनाका माध्यमबाट लगानी नगरिएका समुदायहरूमा पुनर्लगानी गर्नु र उनीहरूको उत्थान गर्नु हो,’ ब्रुम भन्छिन् ।

यसबाहेक, उनको सहर र पूरै लुइजियाना राज्यको निम्ति प्रमुख चुनौती भनेको बाढी नियन्त्रण र जल व्यवस्थापन नै हो ।

ब्याटन रुग शहरसहित लुइजियाना राज्यको पूरै समुद्री किनारा अमेरिकाको सबैभन्दा ठूलो नदी प्रणाली ‘मिसिसिपी’ समुद्रमा विलय हुने क्षेत्र (डेल्टा रिजन) अन्तर्गत पर्दछ । जब मिसिसिपी नदी एटलान्टिक महासागरको गल्फ अफ मेक्सिको समुद्रमा मिसिन्छ, तब नयाँ टापु बन्ने, पुरानो टापु समुद्रमा विलीन हुने, जमिन डुबानमा पर्ने, बस्तीभित्र बाढी आउने आदि–इत्यादि क्रमहरू चलिरहन्छन् ।

यो निश्चित भौगोलिक अवस्थितिका कारण लुइजियाना राज्य र यसका मानवबस्तीहरूले बाढी, माटो क्षयीकरण, समुद्री आँधीलगायतका समस्याहरूसँग जुझ्नको निम्ति हरहमेसा तम्तयार अवस्थामा रहनुपर्ने हुन्छ ।

यस दीर्घकालीन समस्याप्रति ब्याटन रुगकी मेयर ब्रुम मात्रै होइन, उनका सहकर्मीहरू पनि उत्तिकै दत्तचित्त र सजग छन् ।

‘जब हामी लुइजियाना राज्यको भूभागको कुरा गर्छौँ, निश्चय पनि यो राज्यको अस्तित्व नै सङ्कटमा रहेको तथ्य हामीलाई महसुस हुन्छ । तर, यो मानवनिर्मित सङ्कट नभईकन प्रकृतिनिर्मित सङ्कट हो र यसको समाधान पनि छ,’ लुइजियाना राज्यमा अवस्थित वाटर इन्स्टिच्युट अफ गल्फका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत जस्टिन आर. एरेनवेर्थ भन्छन् ।

‘लुइजियाना राज्यको सामुद्रिक तटलाई पुनर्निर्माण गर्न र सुरक्षित राख्न हामीले ५० अर्ब डलर मूल्यबराबरको ५० वर्षीय योजना बनाएका छौँ । हाम्रो संस्थाको मुख्य प्राथमिकता नै यस योजनामा काम गर्दै जानु हो,’ एरेनवेर्थ भन्छन् ।

विभिन्न चुनौतीका बाबजुद लुइजियाना राज्य र यसको राजधानी शहर ब्याटन रुगले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई व्यापार–व्यवसायका बृहत् एवम् आकर्षक अवसरहरू प्रदान गर्दै आइरहेको छ ।

अमेरिकाको एक सम्मानित नीति अध्ययन प्रतिष्ठान (थिङ्क–ट्याङ्क) ब्रुकिङ्स इन्स्टिच्युटका अनुसार सन् २००० वा त्यसपछि जन्मिएका नयाँ पुस्ताका सन्ततिहरू, जसलाई ‘मिलेनियल’ भनिन्छ, उनीहरूको निम्ति बस्नयोग्य १० मुख्य अमेरिकी शहरहरूमध्ये ब्याटन रुग पनि एक हो ।

यसैगरी, अर्को सम्मानित थिङ्क–ट्याङ्क ‘सेन्टर फर डिजिटल गर्भमेन्ट’का अनुसार अमेरिकाका १० प्रमुख डिजिटल शहर (राम्रो कम्प्युटर प्रणाली र व्यवस्थापन भएको शहर) हरूमध्ये ब्याटन रुग पनि एक हो र विगत चार वर्षदेखि ब्याटन रुग शहर निरन्तर यो सूचीमा पर्दै आएको छ ।

‘व्याटन रुग शहरमा व्यापार–व्यवसाय विकासको सन्दर्भमा हाम्रो ध्यान ६ वटा मुख्य क्षेत्रहरूमा केन्द्रित रहँदै आएको छ : पेट्रो–केमिकल, सफ्टवेयर, हेल्थकेयर, लजिस्टिक्स, कृषिमा आधारित प्रविधि र व्यवसाय एवम् जल क्षेत्र,’ व्याटन रुग एरिया च्याम्बर अफ कमर्सका व्यापार–व्यवसाय विकाससम्बन्धी वरिष्ठ उपाध्यक्ष रसेल रिचार्डसन् भन्छन् ।

‘लुइजियाना राज्यमा लगानी गर्ने कम्पनीहरूलाई हामी विभिन्न सेवा सुविधाहरू प्रदान गर्छौं । यसअन्तर्गत पारिश्रमिक सेवा सुविधा (पेरोल इन्सेन्टिभ), कर पछि तिर्न मिल्ने सुविधा (ट्याक्स क्रेडिट) र विभिन्न छुटहरू (रिबेट वा एक्जेम्प्सन) आदि पर्दछन् । धेरैजसो सेवा–सुविधाहरू राज्यस्तरमा र केही स्थानीय सहभागिता र स्वीकृतिमा समेत दिइने गरिएको छ,’ रिचार्डसन् भन्छन् ।

ब्याटन रुग सहरकी मेयर ब्रुम, वाटर इन्स्टिच्युटका अध्यक्ष एरेनवेर्थ एवम् व्यापार–व्यवसाय विकाससम्बन्धी वरिष्ठ उपाध्यक्ष रिचार्डसन् फरेन प्रेस सेन्टरद्वारा न्युयोर्कमा आयोजित एक विशेष साक्षात्कार कार्यक्रममा सहभागी थिए र उनीहरूले अन्तर्राष्ट्रिय पत्रकारहरूसँग अन्तक्र्रिया गर्ने क्रममा आफ्ना विचारहरू अभिव्यक्त गरेका थिए ।