अन्तर्राष्ट्रिय रंगशाला ‘दशरथ रंगशाला’को निर्माण तीन महिनामा पुरा हुने : विष्ट

अन्तर्राष्ट्रिय रंगशाला ‘दशरथ रंगशाला’को निर्माण तीन महिनामा पुरा हुने : विष्ट


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय रंगशाला ‘दशरथ रंगशाला’को जेठ ६ गते निरीक्षण गरेका छन् ।

०७२ मा नेपालमा आएको महाभूकम्पको चपेटामा परेको दशरथ रंगशालाको पुनर्निर्माण अहिले अन्तिम चरणमा पुगेछ । आउँदो साउनको अन्तिमसम्म दशरथ रंगशाला पूर्ण रूपमा निर्माण हुने सदस्यसचिव विष्टले जानकारी गराएका छन् ।

यतिबेलासम्म दशरथ रंगशालाको प्यारापिट निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । त्यस्तै, प्यारापिटमा छाना हाल्ने कार्य पनि अन्तिम चरणमा पुगेको छ । हालै निर्माण भएको उत्तर–पूर्वतर्फको नयाँ प्यारापिटमा मात्र छाना राख्न बाँकी रहेको छ । उक्त कार्य आउँदो साता पूरा हुने सदस्यसचिव विष्टले जनाएका छन् ।

त्यस्तै दशरथ रंगशलामा सिन्थेटिक्स ट्रयाक बिछ्याउने कार्य सम्पन्न भएको छ । अब उक्त सिन्थेटिक्स ट्रयाकमा ट्रयाक कोर्न कार्य मात्र बाँकी रहेको छ । सिन्थेटिक्स ट्रयाक निर्माण गर्ने कार्य छिमेकी राष्ट्र चीनले गरेको हो । केही समय पहिले चीनले नै फल्ड लाइट र स्कोर बोर्डको निर्माण सम्पन्न गरेको थियो ।

दशरथ रंगशाला रंगशालाको अन्य सम्पूर्ण कार्य सम्पन्न भए पनि भीआईपी प्यारापिटको निर्माण भने युद्धस्तरमा भइरहेको छ । आउँदो तीन महिनाभित्र भीआईपी प्यारापिटको निर्माण पनि पूर्ण रूपमा सम्पन्न हुने विष्टले जनाएका छन् ।

नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)कोे उद्घाटन र समापन दशरथ रंगशालामा हुने कार्यक्रम रहेको छ । १३औँ साग आगामी मङ्सिर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुँदै छ ।