८० वर्षे जेष्ठ नागरिकद्वारा म्याराथन दौड !

८० वर्षे जेष्ठ नागरिकद्वारा म्याराथन दौड !


  • डिल्लीराम अम्माई, बेल्जियम

के नेपाल पर्यटकहरूको लागि सुरक्षित गन्तब्य हो ? नेपालको पर्यटन विकासको लागि के गरेका छौँ ? पर्यटन विकासलाई नेपालको विकासको आधार कसरी बनाउन सकिन्छ ? के नेपाल पुगेका सबै पर्यटकहरू सन्तुष्ट बनेर फर्केका छन् ? कमजोरी कहाँ–कहाँ छन् ? पर्यटन विकासमा अझै राज्य र जनस्तरबाट गर्नुपर्ने अपुग कुराहरू के–के हुन् ? यस्ता प्रश्नमाथि छलफल, बहस र निष्कर्षमा हामीले खासै ध्यान दिन नसके पनि पर्यटन विकासको लागि प्रवासमा रहेर पनि हामीले केही गरिरहेका छौँ ।

यस सन्दर्भमा प्रचारप्रसार अत्याधिक महत्वपुर्ण कुरा हो, किनकि वर्तमान विश्व मानवले गुणस्तरमा भन्दा विज्ञापनमा बढी विश्वास गर्न थालेको छ । त्यो भन्दैमा हामीले हाम्रा पर्यटन सम्पदाहरूको संरक्षण, सम्बर्धन र पाहुनाहरूको सुरक्षा, सेवा सुविधाको स्तरोन्नति गर्ने कुरालाई ध्यान नदिने कुरा हुँदैन । पर्यटन विकासमा प्रचार, स्तरोन्नति र सेवामध्ये कुनै एउटा पक्षलाई गौण बनाइयो भने यसको सन्तुलित विकासमा प्रतिकुल असर पर्न जान्छ । पर्यटन बोर्ड वा सम्बन्धित मन्त्रालयले यो विषयमा गम्भीर प्रकारले सोच्नुपर्ने देखिन्छ ।

हामीले हिजो अर्थात् मे १९, २०१९ को दिन विभिन्न व्यवसायिक कम्पनीहरूको प्रायोजनमा भएको २० किलोमिटर दौडमा भाग लियौँ । चालिसभन्दा बढी नेपालीहरूले नेपाली दुतावासले तयार पारेको भिजिट नेपाल २०–२० को लोगोअङ्कित भेष्ट लगाएर म्याराथुनमा भाग लियौँ । ४० हजार भन्दा बढी विभिन्न देशका धावक वा दर्शकहरू बीच हामीले नेपालको प्रचार मात्र गरेनौँ, ’एक पटक नेपाल जानुस्’ भनेर सांकेतिक अनुरोध ग¥यौँ । त्यसले धेरै सहभागीहरूलाई पक्कै नेपालप्रतिको जिज्ञासा जगायो होला । कतिले नेपालमा हेर्नैपर्ने के रहेछ भनेर गुगलमा खोजेर हेरे–बुझे होलान् । पर्यटन विकासको लागि पर्यटकको जिज्ञासा, सकारात्मक मनोविज्ञान र मानसिक योजना प्रारम्भिक शर्त हुन्, जसको लागि प्रचार आवश्यक हुन्छ ।

हामीले अब नेपालमा देख्न, अनुभव गर्न र आनन्द लिन पाइने के–के कुराहरू हुन् ? त्यो गन्तब्यबारे सेवा सुरक्षाको अबस्था के छ ? आदिबारे पनि प्रचारात्मक अभियान जरुरी छ । त्यसमा पनि राज्य वा राज्यका सम्बन्धित निकायहरू तथा नागरिक मञ्चमार्फत छलफलको जरुरत देखिन्छ । जसको लागि भाषिक दक्ष जनाशक्तिको आवश्यकता हुन्छ । सम्बन्धित निकायले पर्यटनसम्बन्धी कार्यक्रम गर्दा गौण जस्ता देखिने तर महत्वपुर्ण कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।

हामीले नेपालको पर्यटन विकासलाई मुख्य जोड दिनुपर्ने कुरा के–के हुन् ? के छ हामीसँग ? उच्च उचाइका हिमाल, ताल–तलैयाको अवलोकन, पहाडी साइकल यात्रा, धार्मिक गन्तब्य, पहाडी अन्नपुर्ण मार्ग, नेपाली सांस्कृतिक विविधता, जंगली जनावर अवलोकन, जल यात्रा, चराचुरुंगीको अवलोकन, बन्जी र गल्छीको साहसिक जम्प, साहसिक उडान, विश्व सम्पदामा सुचिकृत ऐतिहासिक तथा धार्मिक सम्पदाको अवलोकन, घरमा बनाएका अर्गानिक नेपाली खानाको स्वादलगायतका कुरा अहिलेसम्म पर्यटक विकासको लागि भनिँदै आएका कुरा हुन् । तर त्यो बाहेक नेपालको पर्यटन विकासमा धेरै कुराहरू छन् । भिन्न हावापानी, प्राकृतिक फुल तथा जडिबुटीबारे जानकारी तथा अवलोकन, प्राकृतिक योगाकेन्द्र, पौराणिक खानीहरूको अवलोकन, घरबास लगायतका हाम्रा अन्य सम्पदाबारे प्रचार भएको छैन । अहिले अन्य देशका धेरै आगन्तुकमध्ये केही अनुसन्धानमा आएका बौद्धिक पर्यटकहरू पनि हुन्छन् । राज्यले पर्यटकहरूको वर्गीकरण गरेर उनीहरूको रुचिमा ध्यान दिन सक्यो भने हाम्रो पर्यटन विकास अझै परिष्कृत हुने थियो ।

१३१ देशका धावकहरूको सहभागितामा भएको २० किलोमिटर दौड प्रतियोगिताले हाम्रा भेष्टमा अंकित नेपाल घुम्ने सांकेतिक निम्तोलाई स्वीकार गरे होलान् । यो दौडमा लगाएको हाम्रो प्रचारात्मक भेष्टले केही न केही रूपमा धावकहरूको मनोविज्ञानलाई छोए होला भन्ने लाग्छ । संसारभरिका नेपाली दुतावासले बेनेलक्सका राजदुत लोक बहादुर थापालेझैँ पर्यटन विकासमा चासो राखे पक्कै पनि हाम्रो देशको विकासमा केही टेवा पुग्ने छ । युरोपको मुटुमा भएको अन्तराष्ट्रिय धावनको २९औँ स्थानमा आएको नेपालले विश्वमञ्चमा आफ्नो उपस्थिति प्रयटन विकासको मौलिक भावना सहित गज्जबले स्थापित गराएको महसुस भयो । त्यसको लागि भिजिट नेपाल २०२० को लोगोअंकित भेष्ट उपलब्ध गराएर उत्प्रेरणा जगाउने नेपाली दुताबास परिवार, महामहिम राजदुत तथा उहाँको परिवार, बेल्जियमस्थित नेपाली समुदाय, प्राविधिक रूपमा कार्यक्रममा सघाउने सुरेश कुमार कोरङ्गी गुरुङ लगायत सहभागी धावकहरूलाई आभार !