विश्वकप क्रिकेटको पुरस्कार राशि एक करोड डलर

विश्वकप क्रिकेटको पुरस्कार राशि एक करोड डलर


आगामी मे ३० देखि १४ जुलाईसम्म इंग्ल्यान्ड र वेल्समा विश्वकप क्रिकेट २०१९ प्रतियोगिताको आयोजना हुँदै छ । विश्वकपका लिग चरणका खेलहरू यही जेठ १६ गते बिहीबारदेखि सञ्चालन हुँदै छन् । ४६ दिनसम्म चल्ने विश्वकपमा विश्वका उत्कृष्ट दश राष्ट्रको सहभागिता रहेको छ । सहभागी राष्ट्रहरूमा आयोजक राष्ट्र इंग्ल्यान्डसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिका, वेष्टइन्डिज, अस्ट्रेलिया, न्युजिल्यान्ड र अफगानिस्तान रहेका छन् ।

हालै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्वकपविजेता टिमले पाउने पुरस्कार राशिको घोषणा गरेको छ । यसपटक विश्वकप क्रिकेटको उपाधि जित्ने राष्ट्रको टोलीले ४० लाख अमेरिकी डलरसँगै आईसीसी विश्वकपको ट्रफी प्राप्त गर्नेछ । विश्वकप क्रिकेटमा आईसीसीले विजेता टोलीलाई प्रदान लागेको यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो । त्यस्तै उपविजेता टिमले २० लाख र सेमिफाइनलमा पराजित हुने टिमलाई ८–८ लाख अमेरिकी डलर प्रदान गरिनेछ ।

त्यस्तै लिग चरणको खेलमा विजयी हुने टोलीलाई पनि आईसीसीले नगद पुरस्कारको व्यवस्था गरेको छ । जसअनुसार लिग चरणका प्रत्येक खेलमा विजयी हुने टोलीले ४० हजार डलर पाउनेछन् । यसैगरी दोस्रो चरणमा पुग्ने टोलीलाई एक लाख डलर प्रदान गरिनेछ । विश्वकप क्रिकेट प्रतियोगिताको कुल पुरस्कार राशि एक करोड डलर रहेको छ । जो विश्वकप क्रिकेट इतिहासको सबैभन्दा ठूलो पुरस्कार राशि हो ।

विश्वकप क्रिकेट २०१९ को पहिलो खेल मे ३० मा आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । विश्वकपको इतिहासमा यी दुई टोलीले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन् । इंग्ल्यान्ड र वेल्सका विभिन्न ११ वटा रंगशालामा आयोजना हुने प्रतियोगितामा ४५ वटा खेल लिग चरणमा हुनेछन् । विश्वकपमा प्रतिस्पर्धा गरिरहेका १० टोलीमध्ये लिगचरणमा उत्कृष्ट प्रदर्शन गर्ने चार टोली दोस्रो चरण अर्थात् सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनलका पहिलो प्रतिस्पर्धा म्यानचेस्टरको ओल्ड टेफर्ड क्रिकेट मैदानमा जुलाई ९ मा आयोजना हुनेछ । त्यस्तै दोस्रो खेल जुलाई ११ मा बर्मिङघमको एजबेस्टन मैदानमा हुनेछ । यसैगरी विश्वकपको फाइनल खेल १४ जुलाईमा क्रिकेटको मक्का रूपमा परिचित लडर्स क्रिकेट मैदानमा हुनेछ ।

यो विश्वकपको प्रमुख दाबेदारको रूपमा आयोजक राष्ट्र इंग्ल्यान्डलाई हेरिएको छ । विगत एक वर्षदेखि इंग्ल्यान्डले स्वदेश र विदेशमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा इंग्ल्यान्डलाई प्रमुख दाबेदारको सूचीमा अग्रपङ्क्तिमा राखिएको छ । त्यस्तै इंग्ल्यान्डपछि भारत र अस्ट्रेलियालाई विश्वकपको प्रमुख दाबेदारको रूपमा हेरिएको छ ।