उखुको भुक्तानी पाउन किसानलाई महाभारत !

उखुको भुक्तानी पाउन किसानलाई महाभारत !


–छविलाल बगाले
उखुको क्रसिङ सकेका चिनी उद्योगीले किसानालाई ७ अर्ब बक्यौता तिर्न बाँकी छ । किसानले सरकारले तोकेको मूल्यभन्दा पनि कममा उद्योगीलाई उखु बिक्रि गरे पनि अहिलेसम्म पनि भुक्तानी पाउन सकेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली बताउँछन् । तर उद्योगी भने चिनी बिक्रि नभएको भन्दै उम्किरहेका छन् । ‘यसबर्ष किसानले १० अर्ब रुपैंयाँ बराबरको उखु चिनी उद्योगीलाई बिक्रि गरे । उद्योगीले पनि खरिद गरेको उखु क्रसिङ गरिसके ।’ उनले भने, ‘तर किसानले बिक्रि गरेको उखुको भुक्तानी भने अहिलेसम्म पाउन सकेका छैनन् ।’

उखु किसानले उद्योगीबाट सात अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन् । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष मैनालीका अनुसार उद्योगीबाट पौने ६ अर्ब र सरकारबाट पाउने अनुदानबापतको एक अर्ब ३२ करोड रुपैयाँ उखु किसानले पाउन बाँकी छ ।

किसानले उखु बिक्रिवापतको रकम नपाइरहेका बेला उद्योगी भने चिनी बिक्रि नभएको बताउँछन् । अघिल्लो बषकै भुक्तानी दिन बाँकी रहँदा यसबर्ष उद्योगीले किसानसँग दुई करोड क्विन्टल उखु उधारोमा खरिद गरी क्रसिङ गरेका थिए । जुन सरकारले तोकेको न्यूनतम मूल्य प्रतिक्लिन्टल पाँच सय ३६ रुपैयाँले उक्त उखुको मूल्य १० अर्ब ७२ करोड रुपैयाँ हुने अध्यक्ष मैनाली बताउँछन् ।

किसान उखु खेतीबाट पलायन
बर्षेनी भुक्तानी ढिला भएपछि किसान उखु खेतीबाट पलायन हुन थालेका छन् । यसको सोझो असर उत्पादनमा पर्न थालेको छ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य क्विन्टलको पाँच सय ३६ रुपैयाँ तोके पनि उद्योगीले त्यो मूल्यभन्दा कम दिने गरेका छन् । नेपालमा दुई लाख ७० हजार टन चिनी खपत हुने भए पनि यो वर्ष एक लाख ६२ हजार टन चिनी उत्पादन भएको छ । तर गतबर्ष गत वर्ष पाकिस्तानबाट सस्तो चिनी आयात भएकाले बिक्रीमा कठिनाई भएको चिनी उद्योगीले गुनासो गर्दै आएका छन् । सरकारले गत भदौमा चिनी आयातमा प्रतिबन्ध लगाएर सहुलियत दिए पनि चर्को मूल्य लिएर चिनी उद्योगीले उपभोक्ता ठग्दै आएको आरोप छ ।

भुक्तानीको माग गर्दै उखु किसान अनशनमा
उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आइतबारदेखि मलंगवामा रिले अनशन शुरु गरेको छ ।

धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर एण्ड जेनरल इण्डष्ट्रिज प्रालिले विगत तीन आर्थिक वर्षको र गोडैता नगरपालिकास्थित बगदहमा रहको श्री महालक्ष्मी सुगर प्रालिले पाँच महीनाको बाँकी राखेको रकम भुक्तानीको माग गर्दै मलंगवाको सहिद पार्कमा उखु किसानले आजदेखि रिले अनशन शुरु गरेका हुन् ।

पटक–पटक भुक्तानीका लागि चिनी मिल र स्थानीय प्रशासनसँग आग्रह गर्दा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर रिले अनशन गर्नुपरेको संघर्ष समितिले जनाएको छ । तीन बुँदे माग राख्दै उखु किसानले रिले अनशन शुरु गरेको छ । उखु किसानको भुक्तानी तुरुन्त गर्नुपर्ने, बलजफ्ती चिनी मिलद्वारा आफू खुशी कायम गरेको मूल्य ५०० खारेज गरी नेपाल सरकारद्वारा निर्धारित प्रति क्वीन्टल रु ५३६ नै भुक्तानी दिनुपर्ने र उखुको तौलमा प्रति क्वीन्टल २० प्रतिशतसम्म ढालटा (सुख्खा कटी) को नाममा काटिएको रकमसमेत भुक्तानी दिनुपर्ने किसानहरुले माग गरेको छ ।

किसानको नेतृत्व गर्दै रिले अनशनमा बसेका राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री राकेश मिश्रले उद्योगीको रबैयाका कारण किसान मारमा परेका बताए । पटक–पटक ताकेता गर्दा पनि भुक्तानी दिने छाँट नदेखिएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रेको उखु किसान संघर्ष समिति क्षेत्र नंं ४ का संयोजक राम सोगारथ राय यादवले जानकारी दिए ।

भुक्तानी नपाएपछि घरव्यवहार, शिक्षा, स्वास्थ्य तथा विहेवारीको खर्च ऋण काढेर गर्नु परेको यादवले गुनासो गरे । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उखुको भुक्तानीका लागि उद्योगीलाई आफूले ताकेता गरेको बताए । किसानलाई छिटोभन्दा छिटो भुक्तानी गर्नुपर्छ भनेर आफूले उद्योगलाई भनेको उनले जानकारी दिए ।