भारतमा निर्वाचन सम्पन्न, एनडीएलाई बहुमत हासिल हुने एक्जिट पोलको संकेत

भारतमा निर्वाचन सम्पन्न, एनडीएलाई बहुमत हासिल हुने एक्जिट पोलको संकेत


भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेको आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । आइतबार चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएका थिए ।

एक महिनाभन्दा बढी समय अवधि लगाएर सम्पन्न निर्वाचनमा करिब ९० करोड भारतीय मतदाता मतदानका लागि योग्य रहेका थिए । निर्वाचनका लागि दश लाख मतदान केन्द्र तोकिएको थियो । मत परिणाम मे २३ पछि सार्वजनिक गर्ने तालिका निर्वाचन आयोगको रहेको छ ।

यस चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको नेशनल डेमोक्र्याटिक एलाइन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाइन्स (युपीए)बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

यसैबीच अन्तिम निर्वाचन सकिएसँगै आइतबारदेखि एक्जिट पोलको नतिजा सार्वजनिक हुन सुरु गरेको छ। जम्मा ५४३ सिटमध्ये ५४२ सिटमा भएकोे निर्वाचनमा बीजेपी नेतृत्वको गठबन्धन एनडीएलाई ३०० भन्दा बढी सिट हासिल हुने एक्जिट पोलले देखाएको छ । भारतमा सरकार बनाउनका लागि २७३ सिट आवश्यक पर्छ । एक्जिट पोलको नतिजा अनुसार पुनः बीजेपी बहुमतका साथ सत्तामा कायम रहने देखिन्छ । आगामी २३ तारिखमा चुनावको अन्तिम नतिजा घोषणा गरिने एएनआईले जनाएको छ ।