महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि चढ्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ ।
मोटरसाइकल तथा स्कुटरको पछाडि बस्ने यात्रीले हेल्मेट नलगाएका कारण दुर्घटना बढेको तथ्यांकपछि ट्राफिक प्रहरी कार्यालयले पछाडि बस्नेका लागि पनि अनिवार्य हेल्मेटको व्यवस्था गर्न लागेको हो । यसका लागि सरकारसँग सिफारिस गरिसकेको जानकारी ट्राफिक प्रहरी कार्यालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको हो । प्रयोग गरिएको हेल्मेट आईएसओ स्ट्यान्डर्डको हुने सो अवसरमा बताइयो ।
तुलनात्मक रूपमा दुईपांग्रे सवारी दुर्घटना धेरै हुने र त्यसमा पनि पछाडि बसेको मान्छेको हेड इन्जुरीले ज्यान जाने गरेकोले पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले भने, ‘दुईपांग्रे सवारीमा चढ्ने दुवैजनाले हेल्मेट लगाउनुपर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौँ । यातायात व्यवस्था ऐन २–३ महिनामा स्वीकृत हुन्छ र करिब ६ महिनामा यो कार्यान्वयनमा आउँछ ।’
सवारीचालक कारबाही परेपछि तिर्नुपर्ने जरिवाना अब अनलाइनबाटै तिर्न सकिने व्यवस्था गर्न लागिएको पनि सो अवसरमा जानकारी दिइयो ।
प्रतिक्रिया