नेपाली बक्सिङ टिम गुवाहाटी प्रस्थान

नेपाली बक्सिङ टिम गुवाहाटी प्रस्थान


दोस्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी जनाउन नेपाली टिम गुवाहाटीतर्फ प्रस्थान गरेको छ । नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषद सदस्य अर्जुनबहादुर केसी, तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका भीष्मपितामह सुरेशसिंह आलेले बिदाइ गरेका थिए ।

मित्रराष्ट्र भारतको गुवाहाटीमा मे १९ देखि २५ सम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५१ केजी तौल समूहमा एपीएफकी माला राई, ५४ केजीमा आर्मीकी मिनु गुरुङ, ५७ केजीमा आर्मीकै चन्द्रकुमारी थापा, ६० केजीमा एपीएफकी संगीता सुनार र ६४ केजीमा आर्मीकी पुनम रावलले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रनेछन् ।

पहिलो संस्करमा महिलातर्फ नेपालले २ कांस्य ल्याएको थियो । नेपाल आर्मीका खेलाडीद्वय विमला श्रेष्ठ र पुनम रावलले २४ राष्ट्रका खेलाडी सहभागिता जनाएको खेलमा नेपाललाई महत्वपूर्ण २ कांस्य दिलाएका थिए । त्यस्तै पुरुषतर्फ ५२ केजीमा आर्मीका तेजबहादुर देउवा, ५६ केजीमा झापाका सुरेन्द्र राई, ६० केजीमा एपीएफका प्रकाश लिम्बू इजम, ६४ केजीमा पुलिसका भूपेन्द्र थापा, ६९ केजीमा एपीएफका विकास लामा र ९१ केजी माथीको तौल समूहमा आर्मीका आशिष दवाडीले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् ।

टिमको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, प्रशिक्षकमा हरिषबहादुर चन्द र रमेशदास श्रेष्ठ रहेका छन् । टिमको व्यवस्थापकमा टंकराज राई रहेका छन् । पहिलो संस्करणमा नेपाल आर्मीबाट प्रतिनिधित्व गरेका नेपालका विमला श्रेष्ठ र पुनम रावलले कांस्य जितेका थिए । प्रतियोगितामा विश्वका २४ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।