मनमोहन करातेमा घन्टाघर डोजो च्याम्पियन

मनमोहन करातेमा घन्टाघर डोजो च्याम्पियन


आयोजक नेपाल सितोरियो कराते डो संघ, घन्टाघर शाखा डोजोले दोस्रो मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ ।

पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा भएको प्रतियोगितामा घन्टाघरले ६ स्वर्ण, ५ रजत र ६ कांस्य जित्यो । ४ स्वर्ण, ३ रजत र ७ कांस्यमा माउन्ट ग्लोरी स्कुल दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाएको बौद्ध डोजोले ३ स्वर्ण, १ रजत र ३ कांस्य हात पारेको थियो । पुरुषमा आयोजक घन्टाघरका अर्जुनकुमार बाघचन तथा महिलामा केन्द्रीय डोजोकी अप्सरा श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, आयोजक डोजोका प्रमुख प्रशिक्षक हरिबहादुर राउतलगायतले पुरस्कृत गरे । एकदिने प्रतियोगिताको सूचना, सञ्चार तथा प्रवधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २ सय ५० खेलाडीले २२ स्पर्धामा प्रतिस्पर्धा गरेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । उद्घाटनका अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता आठ वर्षीय आर्यन रन्जितलगायतलाई सम्मान गरिएको थियो ।