बोको हरामद्वारा १३ गाउँलेको हत्या

बोको हरामद्वारा १३ गाउँलेको हत्या


अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय रहेको मानिन्छ ।

सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकुले बिहानीपख आक्रमण गरेका थिए । लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख र उनको परिवार तथा अरू नौजना गाउँलेको मृत्यु भएको बताए ।

गाउँलेको हत्या रोक्न चाडको सेना समयमै आइनपुगेको बताइएको छ । चाडको उच्च सैनिक नेतृत्वले उक्त गाउँमा सैनिक परिचालन गरिएको र लडाकुको खोजी शुरु गरिसकेको जनाएको छ ।

नाइजेरियामा कट्टरपन्थी इस्लामिक शासन व्यवस्थाका लागि आन्दोलनरत बोको हरामका गतिविधि पछिल्लो समय नाइजेरियाका उत्तरपूर्वी मुलुक नाइजर, चाड र क्यामरुनमा पनि विस्तार भएको छ । बोको हरामविरुद्धको कारबाही तीव्र पारिए पनि नाइजेरियामा मात्र २७ हजारको ज्यान गइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।