वारुणयन्त्र नभएपछि नगरपालिकाका प्रत्येक घरमा आगो निभाउने उपकरण अनिवार्य

वारुणयन्त्र नभएपछि नगरपालिकाका प्रत्येक घरमा आगो निभाउने उपकरण अनिवार्य


झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्य रूपमा राख्नुपर्ने नियम लागू गरेको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरमा अग्निप्रतिरोधात्मक सामग्री राख्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले बताए ।

उनका अनुसार नगरपालिकाको इजाजत लिएर बनाइएका घरमा अग्निप्रतिरोधात्मक सामग्री राखेको यकिन भएपश्चात् मात्र नगरपालिकाले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिनेछ । आगलागीबाट ठूलो नोक्सानी हुन नदिन पूर्वसावधानीका लागि नगरपालिकाले गरेको निर्णय नगरवासीको हितका लागि भएको हुँदा यसको कडाइका साथ लागू हुनुपर्ने अर्जुनधारा–११ का पुण्यप्रसाद खरेल बताउँछन् ।

नगरपालिकाको इजाजत लिएर बनाइएका घरमा अग्निप्रतिरोधात्मक सामग्री राखेको यकिन भएपश्चात् घर निर्माण सम्पन्न प्रमाणपत्र

नगरपालिकामा १४ हजारभन्दा बढी परिवारको बसोवास रहेको छ । नगरपालिकाले आइतबार घरधनीलाई सार्वजनिक सूचना गरी अग्निप्रतिरोधात्मक सामग्री अनिवार्य राख्न अनुरोधसमेत गरेको छ । झापाका १५ स्थानीय तहमध्ये अग्निप्रतिरोधी सामग्री अनिवार्य गर्ने अर्जुनधारा पहिलो नगरपालिका हो । यस नगरपालिकामा वारुणयन्त्र छैन ।