सुपर गोर्खेको वर्ल्ड प्रिमियर ब्रिजबेनबाट शुरू

सुपर गोर्खेको वर्ल्ड प्रिमियर ब्रिजबेनबाट शुरू


  • राजन घिमिरे, अष्ट्रेलिया

निर्माणको क्रममै फिल्मको प्रिमियर विदेशबाट गर्ने प्रतिबद्धता जनाएको चलचित्र ‘सुपर गोर्खे’ले उक्त बाचा पूरा गरेको छ । प्रतिबद्धताअनुरूप चलचित्रको वर्ल्ड प्रिमियर अष्ट्रेलियाको ब्रिजबेनबाट शुरू भएको छ ।

शनिबार आफ्नो चलचित्रले ब्रिजबेनबाट प्रथम शोको शुरूवात गर्न पाउँदा चलचित्रका निर्देशक राज थापाका साथ ब्रिजबेनमा चलचित्र हेर्न उपस्थित दर्शकहरूसमेत प्रशन्न देखिए ।

‘आजबाट हाम्रो यात्रा शुरू भएको छ । अब यो यात्राले निरन्तरता पाउंछ । पहिलो शोमा राम्रो प्रतिक्रिया पाएपछि हामी खुशी छौँ’, निर्देशक थापाको भनाई थियो ।

धेरै पछि ताजा र नयाँ चलचित्र हेर्न पाउँदा ब्रिजबेनमा रहेका नेपालीहरू पनि निकै दङ्ग देखिएका थिए । ‘प्रवासी जीवनमा यसरी फ्रेस चलचित्र हेर्न पाउनु हाम्रो लागि पनि खुशीको कुरा हो । चलचित्र यूनिटलाइ धन्यवाद’, दर्शकहरूको प्रतिक्रिया थियो ।

देशप्रति युवा पुस्ताले निभाउनु पर्ने भूमिका या कर्तब्यको बारेमा चलचित्रले खुलेर बोलेको छ । जातको नाम र आडमा मित्रतालाई टुक्र्याउन खोज्ने ब्यक्ति मुलुककै दुश्मन हो भन्ने कुरालाई चलचित्र सुपर गोर्खेले ज्वलन्त ढङ्गले प्रस्तुत गरेको छ ।

‘यो सिनेमाले उठाएको विषय र प्रस्तुति मन पऱ्यो । सिनेमामा उद्देश्य हुनुपर्छ र, त्यो उद्देश्य यो सिनेमामा छ । यो पक्षले मन छोयो’, लामो समयदेखी ब्रिजबेनमा रहेका सुनील श्रेष्ठ र राजु कानको भनाई थियो ।

चलचित्रमा अभिनेत्री ऋचासिंह ठुकरीको जोडदार उपस्थिति रहेको छ । नाई नभन्नु ल, म तिम्रो भैसकेँ र मनमनै मन पराएँ लगायतका चलचित्रहरूबाट दर्शकहरूको मन जित्न सफल यी अभिनेत्रीलाई लामो समयदेखि यो चलचित्रमा बलियो भूमिकामा देख्न पाइएको छ ।

‘साँच्चै सिनेमा मन पऱ्यो । राज थापाको पहिलो निर्देशन भए ता पनि काम हेर्दा त्यस्तो लाग्दैन । खारिएको निर्देशकको जस्तो काम छ’, धिरेन थापाको प्रतिक्रिया थियो ।

ब्रिजबेनबाट वर्ड प्रिमियर शुरू गरेको चलचित्र सुपर गोर्खेको थप शो पुनः ब्रिजबेनमा हुने छ भने जुन १५ का दिन सिड्नीको हर्सभिलमा रहेको सिभिक थिएटरमा गरिने बताइएको छ । चलचित्रमा प्रमुख पात्रको रूपमा देखापरेका राज थापा, ऋचासिंह ठकुरी, नीराजन लुईंटेल, सुरजसिंह ठकुरी, भुपेन्द्र क्षेत्री, कामना भुजेलको कामको तारिफ गरिएको छ । चलचित्रमा कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ भने सौरभ लामाले खिचेको यो चलचित्रमा ताराप्रकाश लिम्बुले संगीत दिएका छन् ।