मृगस्थलीमा सवा लाख रोट महोत्सव

मृगस्थलीमा सवा लाख रोट महोत्सव


पशुपति क्षेत्रस्थित मृगस्थलीमा पहिलोपटक शिव गोरक्ष प्रकट दिवससहित सवा लाख रोट अर्पण गरिने महोत्सव शुरु भएको छ । वैशाख शुक्ल पूर्णिमाका दिन शिव गोरक्ष प्रकट भएकाले रोट अर्पणसहितको महोत्सव आरम्भ गरिएको बृहत् आध्यात्मिक परिषद्ले जनाएको छ ।

एघार दिनसम्म सवा लाख रोट अर्पणसहित महोत्सव गरिने परिषद्का वरिष्ठ उपाध्यक्ष योगी व्याघ्र वेदनाथले राससलाई जानकारी दिए । राजा नरेन्द्र मल्लका पालामा गोरखनाथले १२ वर्षसम्म मृगस्थलीमै शष्णवती मेघमाला रुपी नवनागराजको आसन बनाएर समाधि कसेको विश्वास गरिन्छ । धर्म विरोधीको सङ्ख्या बढ्न थालेपछि गोरखनाथ रिसाएर नागमाथि बसेको परिषद्का अध्यक्ष स्वामी श्रीषनाथले बताए ।

सबै सर्पमाथि गोरखनाथले आसन बनाएर बसेपछि १२ वर्षसम्म वर्षा नभई अनिकाल बढ्न थाल्यो । नरेन्द्र मल्लले ज्योतिष एवं तान्त्रिकलाई बोलाई सल्लाह गर्दा गोरखनाथलाई उठाउन गुरु मच्छेन्द्रनाथलाई कामरुप कामाक्षबाट ल्याउनुपर्ने सुझाव दिए । त्यसैअनुसार मच्छेन्द्रनाथलाई ल्याएपछि गोरखनाथ उठेर दर्शन गर्दा नागहरु मुक्त भई वर्षा भएकाले अनिकाल हटी सहकाल आएको मान्यता छ ।

वर्षा भई सहकाल प्राप्त भएपछि मच्छेन्द्रनाथलाई ललितपुरको बुङ्मतीमा राखियो । हाल उनलाई रातो मच्छेन्द्रनाथको नामले चिनिन्छ । रातो मच्छेन्द्रनाथको रथयात्रा अहिले ललितपुरमा चलिरहेको छ । अन्यत्र गोरखनाथका लागि रोट महोत्सव गरिए पनि मृगस्थलीमा अहिलेसम्म शुरु हुन सकेको थिएन । यस वर्ष भक्तजनको सहयोगमा शुरु गरिएको श्रीषनाथले बताए । महोत्सवका अवसरमा शिव गोरक्ष मूर्ति अनावरण गर्ने कार्यक्रम रहेको परिषद्ले जनाएको छ ।