सरकारको काम गर्ने शैली ठिक भएन : नेता वैद्य

सरकारको काम गर्ने शैली ठिक भएन : नेता वैद्य


नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सरकारको कामगर्ने शैली ठिक नभएको बताएका छन् ।

सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधका लागि ऐक्यबद्धता जनाऊन आयोजना गरिएको अन्तरक्रियामा उनले जनतालाई झुक्याउन सरकार समाजवादतर्फ उन्मुख भएको आरोप लगाए । नेता वैद्यले लेखेकै भरमा पत्रकारलाई थुनछेक गर्ने, जेल हाल्ने र अभिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश लगाउन दर्ता गरिएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक व्यवस्थामा प्रेसलाई स्वतन्त्र हुनबाट अङ्कुश लगाउने कार्य निरङ्कुश भएको बताए । उनले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए पत्रकारको आन्दोलनमा आफ्नो पार्टी सहभागी हुने धारणा राखे । ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा सुरेश आचार्य, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, जनपत्रकार मञ्चका अध्यक्ष प्रकाश डुम्रे, समाजवादी पार्टीका केन्द्रीय सदस्य भगवती सुवेदी, कानून व्यवसायी सुनिल रञ्जन सिंह, एकराज भण्डारीलगायतले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने बताए । हालै जेलमुक्त भएका पक्रकार जितेन्द्र महर्जनलाई सम्मान गरिएको थियो । क्रान्तिकारी पत्रकार महासङ्घ, प्रगतिशील पत्रकार सङ्घ, नेपाल जनपत्रकार सङ्गठन, नेपाल प्रेस सोसाइटी र मधेशी पत्रकार मञ्च, नेफालको संयुक्त आयोजनामा सो अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।